News Portal

  • अस्पताल अर्थात बधशाला जहाँ जीवनको सौदाबाजी हुन्छ

    भौतिक मल्ल
    ५५६ पटक

    झल्यास् भए ।
    ध्यान खिचियो फोनतिर

    गोवा हिडने तयारीमा थिएँ म । गोवा भारतको एक चर्चित पर्यटकीय गन्तव्य ।

    यात्रामा अल्पबिराम लागेकै हो त ?

    मनुले मेरो शारीरिक तडकभडक र अनुहारको भाषा बुझिसकिछन् ।

    आमापछि मेरो शारीरिक तडकभडक बुझने पछिल्लोसमय पहिलो मान्छे हुन मनु । मेरा अंगहरुका एक एक भाषाप्रति गहिरो ज्ञान राख्छिन् ।

    छिटो आतिन्छु । आतिने र तात्तिने बानी नानीदेखिको हो रे । आमाले भन्नु भको ।

    मनुले मनको भाषा बुुझिन क्यारे । भनिन्, “जानुस दाईलाई अप्ठयारो भए जस्तो छ ।”

    समस्याको जडहरुमा धेरै घोत्लिनु हुन्न । त्यसले त धेरै निराशा मात्र जन्माउछ । बरु, समस्याको यथार्थतालाई स्वीकार गरी त्यससँग जुध्नुपर्छ । विवेकपूर्ण तरिकाले समाधान गर्नु पर्छ । सोचेँ ।

    “थाहा छ ! मनु ।”

    मलाई जमिरहेको पानी भन्दा पनि बगिरहेको पानी मनपर्छ । त्यसैले सदैब भन्ने गर्छु, ‘म बगिरहेको नदी हुँ । त्यो पनि कर्णाली नदी । जो सँधै बाङगोटिङगो बाटो भएर बग्छ । अनेकन आरोह अवरोह छिचोल्दै बगिरहन्छु । यो बगाई पनि भोगाईको निरन्तर अर्को बगाई हो ।’ हो जीवनको बगाइलाई आखिर कसले पो रोक्न सक्छ र । यो अविराम यात्रामा आउँछन उतार, चढाव, आरोह, अवरोह । छाल बनेर । तुफान बनेर । चट्याङ अनि महाभुकम्प पनि । जीवनको यथार्थताहरुबाट कोही पनि मानिस भाग्न सक्दैन । भाग्नु, लुक्नु या तर्कन खोज्नु केवल अरुलाई अन्ततः आफूलाई केवल ठग्नु मात्र हो ।

    ‘अरे भौतिक…. छोड ! यतिबेला यो धेरै घोत्लिने समय होइन ।’ मनले भन्यो ।

    तत्काल टिकट हेर्न लगाए । महङ्गो रहेछ । आर्थिक हिसाबले जर्जर जिन्दगी । आँटन सकिन । त्यो बाटो नहिडने करिब पक्कै भयो । त्यसपछि अफिस गएँ । चाँजोपाँजो मिलाउन । भाइ किस्मतलाई सबै कुरा बताए ।

    पछिल्लो समय मेरो दुखसुखको साची बनेको छ प्रिय भाई किस्मत । मुस्लिम समुदाय भित्रको भरभराउदो युवा ऊ मेरो मनमा नराम्ररी बसेको छ केही वर्षदेखि । एउटा गहन र अर्थपूर्ण व्यक्तित्व भाइ किस्मत मेरो सुख दुखको साथी बनेको छ । भाइ किस्मत र भाइ डम्बर शाहीलाई अफिसको सबै जिम्मा लगाएर म राजधानीतिरको यात्राको तयारीमा लागे । प्रेम भाइलाई साँझको टिकट काटन पठाए ।

    भाई प्रेम पनि मसँगै राजधानी जाने भयो । एउटा संयोग नै थियो त्यो कि करिब १२ बर्षपछि मेरो प्रिय भाई प्रेम र म एउटै सिटमा यात्रा गर्दै थियौ । ऊ ५÷७ बर्षको हुँदा कयौँपटक काखमा राखेर काठमाडौँ पुर्याएको थिए उसलाई । आज ऊ लक्का जवान भैसकेको छ । सबै आफै ब्यवस्थापन गर्ने भैसकेको छ ।

    साँझ ६ बजेको रात्रि बसमा टिकट लिइयो । मनमा छुट्टै हुटहुटी छ । नियमित कामकाजको तालिका भत्केको मात्र होइन, किन किन जीवनको रिभर्सतिर फर्केको छ मन । जीवनको गोरेटोलाई नचाहिँ नचाहिँ खोतल्न थालेको छ मन । आजसम्मका भोगाइहरु सिनेमा घरका पर्दाहरुमा जस्तै स्मृतिमा झुल्किन थालेका छन् ।

    भाई प्रेम भन्छ, ‘दादासँग धेरै बर्षपछि एउटै सिटमा जान पाइने भइयो ।’ शारीरिक रुपमा उ हलक्कै बढिसकेको छ । तर पनि आफैले काखमा राखेर धेरै खेलाएकोले होला ऊ अझै चुलबुले लागिरहेछ ।

    ‘नि दादा यो संयोग नै हो ?’ ऊ मलाई बेलाबेला झस्काउँछ ।

    उसका प्रश्नले मन उद्देलित बनेको थियो । म निक्कै भावुक बनेको थेँ त्यो पल । उसका निरन्तरका जिज्ञाशा अनि प्रश्नमा म केवल टाउको मात्र हल्लाइरहेको थिए । मेरो मन्द मुस्कान अनि टाउको हल्लाएर मात्र दिएको जवाफले सायद उसले पनि आँकलन गरेको हुनुपर्छ मभित्रको मनोभाव के छ भन्ने ।

    आफुलाई भर्खरकै लक्का जवान सम्झने म उमेरले यहाँसम्म पुगिसकेछु । पत्तै छैन । झन मैले निक्कै माया गर्ने भाई साथमा त्यो पनि धेरैबर्ष पछि ..। यात्रा अबिस्मरणिय हुने पक्का थियो ।

    उसो त दाइ केवी मल्लको शारीरिक अस्वस्थताप्रति बेजानकार पनि थिइन । उहाँको स्वास्थ्य चेकअपको सुरुवातदेखि नै साथमै थिए । तर पनि पछिल्लो खबरले अलि मनमा चिसो पस्यो । दाईको स्वास्थ्यप्रतिको लापरवाही र पार्टी कामको जिम्मेबारीले अस्तब्यस्त बनाएको थियो । एउटा असल राजनीतिक कार्यकर्ताका लागि सायद आफ्नो स्वास्थ्यभन्दा आफू आवद्ध राजनीतिक संस्था र राजनीतिक आन्दोलन ठूलो हुन्छ । व्यक्तिगत जीवनभन्दा देशको जीवनमा हुने असरप्रति उनीहरु बढी चिन्तित हुन्छन् । आफ्नो लक्ष्यप्रति प्रतिबद्ध र प्रतिवद्धतामा समर्पित भएकोले दाजुले आफ्नो स्वास्थ्यप्रति त्यति ध्यान दिनुभएन नै । उहाँको आफनै शैली र स्वभाव छ । शरीर र निजी जीवनको बिषयमा कहिल्यै सोच्नु भएन । यही कारणले जीवनको यो हालत पुगेको हुनुपर्छ ।

    सायद जीवन ठूलो कि देश ठूलो भन्दा भन्दै यहाँसम्म पुगिएछ कि । दुबै मृगौलाले काम नगर्ने अबस्थासम्म पनि स्वास्थ्यको ख्याल नगर्ने अजीव छ राजनीतिको नशा ।

    हुन त रोग र भोकसँग कसैको निजी नाता हुँदैन । धेरै पटक सोचेको छु यही समाज र जनताको लागि जीवनको कुवार्नी भएको साँछी छु म पनि… ।

    बाहिर चकमन्न अध्यारो छ । बस निकै तीब्र रफ्तारमा कुदिरहेछ । मनमा पनि त्यसरी कुदिरहेका छन अनगिन्ती प्रश्न, कौतुहलता र विगत अनि भविष्यका परिदृष्यहरु । बेलाबेला दाजुको उपचार कसरी गर्ने भन्ने चिन्ताले पनि झस्काइरहेछ । तर, त्यो मेरो बसको कुरा थिएन र अब त झनै रहेन । मन चिन्ताको डोरी अनिश्चयको डोरीमा उडिरहेछ पर–परसम्म ।

    जिन्दगीले यतिबेला छाता बोक्न छोडेको छ । यानकी झरी परिहेकै छ । चर्को घाम लागिरहेकै छ । समय पनि ठ्याक्कै ९० डिग्री कोणमा घुमिरहेछ । जिन्दगीका घाम र झरीहरु अझै कति सहनुपर्ने हो कल्पना गरेर साध्य नै छैन । मानवीय गतिविधिले तातिदो यो पृथ्वी जसरी मानिसका जीवन पनि तताइरहेको छ समयले निरन्तर निरन्तर । हर क्षण नयाँ आवश्यकताहरुको महशुस हुन्छ र नयाँ नयाँ कुराको विकास पनि । आवश्यकताहरु अन्त्यहीन छन् । आजसम्म कसैले पनि आफ्ना सबै आवश्यकताहरु पूरा गर्न सकेको पनि छैन । त्यो सम्भव पनि छैन । तर, यहाँ आवश्यकताहरुको पनि त ग्रेडिङ छ । साधारण नेपालीको जीवन आधारभूत आवश्यकताहरु पनि पूरा गर्न नसकि धिकिटी धिकिटी कुदिरहेछ समयको गतिसँगै । यो दुर्दशा बदल्न नै त यहाँ संघर्ष जारी छ । तर विडम्वना जीवनका दुर्दशा बदल्ने संघर्षहरु आफ्नै जीवन

    सजाउँदै विचलनमा पुगेका छन् । अनि संघर्षहरुमाथि नै प्रश्न उठेका छन् ।

    समाजका लागि लडनु भन्दा निजी जीवनका लागि लडनु अझ त स्वास्थ्यका लागि लडनु भयङ्कर गाह्रो बिषय रहेछ ।

    ‘हगि दाई.।’ भाइ बेला बेला मलाई झस्काइरहन्छ । उसले मलाई प्रश्न सोधिरहेको थियो । तर, मैले उसका धेरै प्रश्न र कुरामा ध्यान दिइरहेकै थिइन । तर, टाउको हल्लाइरहेकोले सायद मैले ध्यान दिइरहेको छ भन्ने लागेको हुँदो हो । ऊ मसँग कुरा गरिरहेको रहेछ ।

    कैयौँ प्रश्नका उत्तर छैनन । भएका उतरका पनि जब्बर सवाल छन । यसपाला जवाफका सरल उत्तरहरु छैनन । प्रश्नहरु जटील र गहन छन्् । जीवन जस्तै । आखिर जटिलताको पनि त आफ्नै सौन्दर्य हुन्छ । त्यो जटिलताको सौन्दर्यमा बाँच्नेहरुले त्यसैमा आफूलाई अभ्यस्त बनाउँछन । प्रश्नहरुभित्र पनि त आखिर जवाफ हुन्छ । प्रश्न सधै प्रश्न भइरहँदैन । प्रश्नहरुले आफै जवाफ पनि दिने गर्दछन । म अझै घोत्लिदै थिए जीवनका केस्राहरुमा ।

    बसमा गीत निरन्तर बजिरहेको थियो । प्राय सबै यात्रुहरु सुतेका थिए । अगाडि बसका चालक घुम्ती, मोड अनि खाल्डाहरु छलाउँदै बस कुदाइरहेका थिए । मेरो ध्यान भित्रको आवाजमा भन्दा बढी बाहिरको वर्षातमा थियो । निद्रा पटक्कै लागेको थिएन तर बाटो कसरी मलाई केही थाहा भएन । म आफ्नै कल्पनामा डुबेको थिए ।

    कसरी मुग्लिनको जाम काटियो । त्रिसुलीको बहाव कसरी पार गरियो । नौबिसेको उकालो कतिबेला छिचोलियो भन्ने मैले केही थाहा पाउनै सकिन । एकैचोटी नागढुंगामा प्रहरी चेकिङमा पो थाहा पाए ।

    करिब १२ बजे रुममा पुगे । केबी दाई बेडमा पल्टिरहनु भएको थियो । सामान्य कुराकानी भयो । केही भलाकुसारीपछि उहाँलाई सिधै अस्पताल लिएर हिडेँ ।

    हिड्नु अगाडि गोजी पनि छामिन । गोजी छाम्ने फुर्सद पनि थिएन । र, छामेर घोत्लिने छुट पनि थिएन ।

    धप्पकै ढाकेको तुँवालो । त्यसैगरी गाडी मोटरका धुँवा । निकै प्रदुषित थियो । त्यो प्रदुषणकाबीच काठमाडौंबाट ललितपुर तर्फ हान्नियौ । केहीबेरको बाटो छिचोल्दै धापाखेलको सुमेरु अस्पतालको गेटमा पुग्यौ ।

    सुन्निएको अनुहार । खत्रक्क परेको शरिर । दाइको यो चेहराले मन अर्कै भएको थियो । तर, उहाँको बोलाई भने सामान्य र आँटिलो भएकोले विरामीको कुनै फिल नै भइरहेको थिएन । सोचेँ यतिबेलासम्म दाईको स्वास्थ्यमा जटीलता पक्कै थपिएको छैन । धापाखेलको सुमेरु किड्नी अस्पतालको गेटभित्र छिरेपछि भने मन अर्कै भयो । केबी दाइ बोल्दा सामान्य लागे पनि उहाँको समस्याको प्रकृतिको बोध भने म गर्थे । अस्पतालभित्र छिर्दा यस्तो लाग्यो कि यो मृत्युको पहिलो निम्तो हो अस्पताल । कता कता अस्पतालतिरका कथाहरु याद आए । टेलिभिजन मिडियामा रिपोर्टिङ गरेकाले अस्पतालतिरका त्यस्ता केही थुप्रै हृदयविदारक कथाहरु सुनेको पनि थिए ।

    हरदुःखमा मान्छेले पहिला सम्झने शब्द हो आमा बाबा । मैले आमा वुवालाई फोन गरे । सामान्य कुरा गरे । सन्चो विसन्चोको जानकारी लिए । आफ्नो अवस्थाको पनि जानकारी गराए ।

    दिउँसोको करिव ३ बजेको हुदोँ हो । डाक्टरले अर्जेन्ट केस भनेर भर्ना गर्न लगाए । उहाँको सबै चेकअप गर्न लगाए । सबै चेकअपपछि दाईलाई सिधै डाइलाइसिसमा लगियो ।

    उच्च रक्तचाप । बाथरोगले थिल थिलो भएको । दाइको शरिर मृगौलाले खक्रक्क बनाइसकेको रहेछ । सामान्य हिडदा पनि थाहा हुन्थ्यो । तर, ती सबै पीडालाई सामान्यिकरण गरेर उहाँ बोलिराख्नुभएको थियो । उहाँसँग गफिदा बिल्कुल बिरामी जस्तै पनि लाग्थेन । धेरैले उहाँको मृगौला रोग परिक्षण गर्ने एक इन्डिकेटर क्रिइटी नाइनको प्यारामिटर सुन्दा जिब्रो टोक्थे । हामी सुमेरु किडनी अस्पताल धापाखेलमा पुग्दा उहाँको क्रिटीनाइट १५ पुगिसकेको रहेछ । त्यसैगरी नटोकोस पनि कसरी १५ पुगेको रहेछ । सुमेरु अस्पतालका डा. नविन बस्नेतसँग कुरा भयो । उहाँले दाईको करिब ९५ प्रतिशत मृगौला सुकिसकेको जानकारी गराउनुभयो । म छाँगाबाट खसेको जस्तै भए । मलाई त्यस्तो होला भन्ने लागेकै थिएन ।

    दाजुलाई डाइलाइसिसमा लगिएको थियो । म बाहिर बसेर फेरि धेरै कुरा सोच्न थाले । मैले सुनेको थे कि ‘मृत्युको लाइसेन्स हो मृगौला रोग । गरिब दुखीको पहुँच भन्दा निक्कै टाढा छ यो रोगको उपचार ।’ यस्ता थुप्रै समाचार पढेको पनि छु । कतिपय समाचार लेखेको पनि थिए मैले । तै पनि आज आफैमाथि पर्दा अझ गहिरो बोध भयो ।

    घन्टा घन्टामा म दाइको जानकारी लगिरहेको थिए । तर, निकै लाग्यो उहाँको डाइलाइसिस । त्यसले मन झनै आत्तिएको थियो । करिब ५ घण्टापछि उहाँको डाइलाइसिस सकिएको खबर आयो । डाइलाइसिस त सकियो तर उहाँको अवस्था भने निकै जटिल देखियो । सिधै आईसियुमा पो राखियो । तै पनि मैले यसलाई सहज रुपमा ग्रहण गरे । अनुहारमा त्यसको कुनै असर पर्न दिइन । दाइलाई गएर नआत्तिन भने ।

    दाइको उपचारमा म एक्लै थिए । यस्तो अवस्था होला भन्ने केही अनुमान नै थिएन । अस्पताल पुगेपछि पो खास रोगको अनुभूति भयो । साथै उहाँको स्वास्थ्यको जटिलता कस्तो रहेछ भन्ने बोध पनि भयो । सामान्य चेकअप गरेर सल्लाह लिन गएका हामी चेकअपपछि सिधै डाइलाइसिस अनि पाँच घन्टाको डाइलाइसिसपछि सिधै आइसियूमा राखिएपछि कुरा कहाँबाट कहाँ पुगिसकेको थियो ।

    एक्लै भएकोले दाईका लागि आइसियूको ढोकामा कुर्नु । घरी औषधी लिन दौडनु, घरी रिर्पोट लिन कुदनु । अनि उपचारका लागि खर्च जुटाउने चिन्ता पनि छँदैछ । समय घर्किरहेको थियो । समयले थपेको बज्रपात अपत्यारिलो थियो । झट्ट हेर्दा समान्य लागे पनि अवस्था निकै जर्जर थियो । त्यो पल … मैले धेरै कुराको अनुभूति गरे ।

    यतिबेला म सुमेरु अस्पतालमा कार्यरत प्रिय भान्जी बिजया र मेरा आदरणीय गुरु प्रभात चलाउनेलाई निकै सम्झिरहेको छु । जसको सहयोग यसक्रममा अमूल्य रहयो । म हरेक अनभिज्ञता अनि अप्ठेरोमा प्रभात चलाउनेलाई सोधिरहन्थे । समस्याहरुलाई सहज बनाउने हाम्रो प्रयास जारी रह्यो ।

    सुमेरुमा केही रात बसेपछि बल्ल थाहा पाए मैले नेपालका अस्पतालहरुको अवस्था । अनि अस्पतालमा हुने पीडा । सुनेको र भोगेको धेरै फरक हुँदो रहेछ । कथा सुनेर वा पढेर मात्र कहाँ अनुभूति हुँदो रहेछ र जीवनको यथार्थता । अस्पतालका झन्झटिला प्रक्रिया अनि त्यहाँ आउने बिरामीहरुको चित्कार । आफन्तहरुको आर्थिक अवस्था । त्यो अवस्थाले उपचारमा पु¥याउने अवरोध । अस्पतालमा भनिन्छ पैसा छ उपचार हुन्छ, पैसा छैन उपचार हुन्न । अर्थात पैसा छ मान्छे बाँच्छ, पैसा छैन मान्छे मर्छ । यो सबै देख्दा यस्तो लाग्यो अस्पतालहरु जिउदो मानवीय बधशाला हो । जहाँ जीवनको मोलमोलाई गरिन्छ । पैसामा जीवन तौलिने गरिन्छ ।

    सरकारले डाइलाइसिस प्रक्रियालाई निःशुल्क भने पनि त्यहाँ भित्रका प्रक्रियागत झन्झटहरु कस्ता रहेछन भन्ने यसपाली लाग्यो । लाग्यो सायद सामान्य मान्छेले यो प्रक्रिया पूरा गर्नै सक्दैनन । यी प्रक्रिया पूरा गर्दासम्म सायद विरामीको ज्यान गइसकेको हुन्छ । गोजीमा छ भने मात्र सबै प्रविधि लगाएर मान्छेको जीवन नै फर्काउन सकिन्छ ।

    दाइको उपचारमा लाग्नुभएका डा.नबिन बस्नेतसँग मैले कुराकानी गरे । मैले उहाँलाई आफ्नो सबै कुरा बताए । उहाँले दाइको अवस्थाबारे जानकारी गराउनुभयो । प्रेसर हाइ भएको कारण स्वास्थ्यमा आउने जटीलता हेरि आइसियुमा राख्नु पर्ने कुरा जानकारी गराउनुभयो । दुबै मृगौला फेल भएका कारण छिटोभन्दा छिटो प्रत्यारोपणतिर लाग्नु नै सही हुने उहाँको सुझाब थियो ।

    तीन दिन आइसियु ७ दिन बेडमा बसिक्दा पनि अवस्था उस्तै । त्यसबीचमा पनि थुप्रै तनाव आए । समस्या आए । अवरोधहरु आए । ती सबै समस्या, तनाब र अवरोधहरुको ब्यवस्थापन जवर्जस्त गरियो । आफ्ना तनाव त छँदै थिए हाम्रो बेडका वरपर भएका बिरामीको अवस्था हेर्दा र उनीहरुको अवस्था सुन्दा झनै भयावह लाग्थ्यो । त्यसले जिउदो मानवीय बधशालाको जीवन्त अनुभूति गराउथ्यो । अस्पतालमा मानिसहरु उपचार गरेर निको हुन होइन झन विरामी पर्न गएको झै लाग्थ्यो । त्यहाँ बसेका प्राय विरामी डिप्रेशनको अबस्थामा पुुगेका थिए । डाइलाइसिसको तनाब थेग्नै नसक्ने विरामीहरु पनि थिए ।

    करिब एक हप्ता सुमेरु अस्पतालको बेडमा राखेपछि दाइलाई घरतिरै लिएर आरम गराउने निधो गरियो । एकातिर अस्पतालको भन्झट अर्कोतिर सरकारी रबैया कल्पना गरिनसक्नुको थियो । राजनीतिक आन्दोलनको जटिलताको झल्को अस्पतालमा समेत झेलियो । प्रहरीले पटक पटक गिरफ्तारीको प्रयास गर्यो । राजनीतिक आस्थाकै कारण दुबै मृगौला फेल भइ मृगौला प्रत्यारोपनको प्रक्रियामा आइसियूमा राखिनु भएका केवी दाईलाई पक्राउ गर्न प्रहरी पुगेको देख्दा अनौठो लाग्यो । यो राज्य कति निर्दयी छ भन्ने बोध भयो । प्रहरीले अस्पताल प्रशासनलाई पनि निकै सोधपुछ गर्यो । मैले साथीहरुको सल्लाह लिँदै त्यसलाई निकै कुटिलतापूर्वक ह्यान्डलिङ गरे । बिस्तारै सबै कुराको चाँजोपाँजो मिलाइयो ।

    एकातिर अस्पतालको वातावरण, अर्कोतिर राज्यको रवैया अस्पताल बस्न सक्ने अवस्था नै रहने । त्यसले बिरामीलाई झनै तनाब दिने सम्भावना थियो । त्यो तनावपूर्ण अबस्थामा राख्नुभन्दा बेलाबेला आएर उपचार गर्ने र घरमै गएर रेस्ट गर्ने निर्णय गरियो ।

    त्यो दिन दौडधुपमै बित्यो । प्रक्रियागत रुपमा आउने झन्झटिला पक्ष अनि अस्पतालका अल्छिलाग्दो समय । साथमा गोरखाकी राधिका दिदी, भाइ प्रेम, राम, प्रकाशहरुको साथ पनि अमूल्य रह्यो । बिहान भयो बहिनी निर्मला टुप्लुक्क पुगेकी थिइन । आफन्त शुभचिन्तकहरुको माया र सदभावको ओइरो थियो । कयौँ आफन्त तथा शुुभचिन्तकहरु अस्पतालको बेडमै पुुग्नुभएको थियो ।

    त्यस क्रममा राजिब बिक्रम शाह, रत्न प्रशाद शर्मा, शेरबहादुर अधिकारी, नरबहादुुर कार्की, निरज आचार्य, रामदिप आचार्य, त्यस्तै पुष्पराज शाही, यज्ञबिक्रम शाही, उविलाल घर्ती मगर, खडक बिसी लगायतका तमाम तमाम शुुभचिन्तकहरुको उपस्थितिले बिरामीको मनमा बेग्लै साहस पैदा गरेको थियो ।

    सरी…..!

    सबैको नाम लिन सकिन । तितो अनुुभुति भैरहेछ यतिबेला । ठूलो र बिशाल मन लिएर जानुभएका सम्पूर्ण शुुभचिन्तकहरु प्रति नतमस्तक छु । यानकी सहयोगको कुनै आयतन हुदैन आकार हुँदैन यो प्रक्रियामा बहुमुल्य सहयोग गर्नेहरु सबै महान हुनुहुन्छ ।

    भाई टेकराज मल्ल जसले दिलो ज्यान दिएर लागे । त्यस्तै बहिनी निर्मला थापा, भान्ज उदय थापा, भक्त दाई निक्कै सम्झेँ ।

    त्यस्तै बिदेशमा सहयोग अभियान चलाउनु हुने संसार दाई, राजेश दाई, प्रकाश जी प्रेमजंग शाह, नरजित बुढा, सन्दर्भ लगायत सबैप्रति नमन छ । धेरैले केबी नामलाई अगाध माया गर्नु भएको छ । यहाँ सबै नाम राख्न सम्भव ठान्दिन तर सबैलाई मनमा राखेको छु ।

    यो बेला मनको डायरी भरिएको छ ।

    यतिबेला आफन्त तथा शुभचिन्तकहरुको अपार मायाले दाइको मृगौला प्रत्यारोपन भएको छ । दाईलाई नयाँ मृगौला दान गरेर पुन्य कमाएकी छिन बैनि तुलसीले । उनको त्याग र समपर्णको लागि मैले कुनै शब्द पाएको छैन । धन्य छ बहिनी तुलसी तिम्रो त्यागको यो कथा जीवनभर रहिरहनेछ । हामी सबैका माझ ।

    मलाई थाह छ तिमी एक बहिनी मात्र नभएर बिशाल मन भएकी नारी हौ भन्ने कुराको पुष्टी गरेकी छौ ।

    अरे भौतिक !

    ‘यात्रा हो । चाहे मनको अघोर बाटो होस् । चाहे अक्करे भिरको बाटो । एक्लै हिँड्नु सधैं खतरनाक हुन्छ । यात्रामा तमाम सहयात्रीको साथ छोड्नु सधैँ असुरक्षित हुन्छ ।’

    धेरै बिरामी डरै डरको कहालीलाग्दो कथा सुनाउँदै छुट्टीएका थिए । त्यही सुमेरु र सहिद धर्मभक्त माथेमा मृगौला प्रत्यारोपन केन्द्रबाट अस्पतालबाट कोही आएर फेरि भेटिएका थिए ।

    त्यही भेटिने सवालमा केबि मल्ल अर्थात जाजरकोटीहरुको प्यारो युवा कालीबहादुर मल्ल नयाँ जीवन बोकेर भेटिएका थिए अस्पताल अर्थात जीवनको बार्गेनिङ हुने जिउदा बद्यशालामा ।

    प्रतिकृया दिनुहोस्

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    काठमाडौं, सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...

    मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार...