News Portal

  • कस्ता हुने जनवादी शिक्षक ?

    वाई.पी. आचार्यभक्तपुर, १४ असोज २०८०
    २२५७ पटक
    भक्तपुर, १४ असोज २०८०

    शिक्षाका सबै चिज शिक्षकसँग ठोक्किन्छन् । शिक्षा बनाउने की भत्काउने, उकास्ने की थेचार्ने, दौडाउने की घिसार्ने, पिलाउने की पिउने चिज बनाउन सक्ने बनाउने यी सबै शिक्षकको हातमा छ । समाज चाहे सामन्तवादी होस चाहे पुँजीवादी वा समाजवादी नै किन नहोस शिक्षामा समाजको प्रतिविम्वन गर्ने काम शिक्षकले गर्छन् ।

    समाजवादी शिक्षाका प्रमुख संवाहक शिक्षक हुन् । अक्टोबर क्रान्ति पछि पूर्व सोभियत संघमा लेनिनले शिक्षकलाई समाजवादी मूल्य मान्यताको विस्तार गर्ने, विकास गर्ने र रक्षा गर्ने प्रमुख शक्तिका रुपमा लिए र सोहीअनुसार जिम्मा पनि दिए । क्रान्ति पछि क्रुप्सकायाले विकास गरेको शैक्षिक मोडेल लागू गरे र त्यसमा शिक्षकलाई केन्द्रमा राखियो । क्यूवामा आशा भएका, सपना देख्ने शिक्षकले मात्रै परिवर्तन गर्न सक्छन्, परिवर्तनलाई संस्थागत गर्न सक्छन् भन्ने मान्यता अनुरुप शिक्षकप्रति विशेष ध्यान दिइयो ।

    सोहीअनुसारका शिक्षक नियुक्ति गरियो । चीनमा सन् १९४९ मा भएको जनवादी क्रान्ति पछि शिक्षामा अपेक्षित परिवर्तन आएन । शिक्षाको क्षेत्रमा गढेर बसेको सामन्ती संस्कृतिमा बदलाव आउन सकेन । यसको कारण शिक्षकको चिन्तन र व्यवहारमा परिवर्तन नआउनु नै हो भन्ने निष्कर्ष निकालियो । सांस्कृतिक क्रान्ति (सन् १९६६ देखि १९७६) का बेला शिक्षकलाई लक्षित गरी कार्यक्रम ल्याइयो । गाउँका शिक्षकलाई शहरमा पठाइयो । शहरकालाई गाँउमा पठाइयो । रुपान्तरण हुन नसक्ने र नचाहाने शिक्षकलाई विदा गरियो ।

    नेपालमा पनि समाजवादी शिक्षाको मर्मलाई लागू गर्ने हो भने सबै भन्दा पहिले शिक्षकलाई सुसज्जित गर्न जरुरी छ । उनीहरुमा रहेको सामान्तवादी चिन्तन र पूँजीवादी शैलीमा रुपान्तरण गर्न जरुरी हुन्छ । यसकालागि महाअभियान चलाउनु पर्दैन । लपेटा लाउनु पनि पर्दैन । केहि सामान्य काम गरे पुग्छ जहाँ शिक्षक आफै अभिप्रेरित होउन् ।

    कस्तो हुने जनवादी शिक्षक ?

    १. आशा (hope) भएकाः पाउलो फ्रेरेले पेडागोजी अफ होप भन्ने किताब लेखे । उनले निराशालाई उन्नतिको प्रमुख बाधक माने । जुन शिक्षकमा भविष्यप्रति आशा हुँदैन, आत्मबल र विश्वास हुँदैन त्यसले गरीखादैन भने । नेपालमा अहिले जताततै निराशा छाएको छ । नेतादेखि सामान्य जनतासम्म सपना कम छन् । अरुप्रति विश्वास छैन, आफुप्रति भरोसा छैन । यो नै विकासको प्रमुख बाधक हो । अब शिक्षकले विद्यार्थीलाई सपना देख्न सक्ने बनाउनु पर्छ । देशप्रति, नेताप्रति, व्यवस्था प्रति छिमेकीप्रति, भविश्यप्रति, पेशाप्रति, आफुप्रति विश्वास जगाउने वातावरण बनाउनु पर्छ । विद्यार्थीको क्षमताका आधारमा यो गर्न सक्छु भन्ने आशा जागाउनु पर्छ । त्यसो गर्न सक्ने मात्रै समाजवादी शिक्षक हुन सक्छ ।

    २. शिक्षण विधिः शिक्षण विधिका प्रयोगकर्ता शिक्षक हुन् । उनीहरुले जस्तो विधि अपनाउछन् विद्यार्थीको सिकाइ त्यसैमा भर पर्छ । समाजवादी शिक्षकले बैँकिङ् धारणा जस्तै ज्ञान कोचाउँर्दैनन् । कितावका भारी बोकाउदैनन् । पूँजीवादका मान्यता लाद्दैनन् र एकोहोरो भाषणमात्रै गर्दैनन् । जोन डिवेका अनुसार अनुभवमा आधारित ज्ञान सबैभन्दा शक्तिशाली हुन्छ । समाजवादी शिक्षकले विद्यार्थीलाई अनुभवबाट सिक्ने बतावरण निर्माण गर्छन । गरेर सिक्ने, भोगेर सिक्ने, आफै परीक्षण गरेर सिक्ने अवसर दिन्छन् । गार्नरले भने जस्तो बहुसिकाइ क्षमतामा आधारित विधि अपनाउछन् । कसैलाई गरेर सिक्ने अवसर दिन्छन्, कसैलाई खेलेर सिक्ने अवसर दिन्छन्, कसैलाई पढेर, कसैलाई सुनेर जे चाहान्छन् त्यही गर्ने अवसर दिन्छन् । विद्यार्थीलाई प्रश्न गर्न हौसाउछन् । विद्यार्थीबाटै उत्तरको अपेक्षा गर्छन् । विद्यार्थीको सृजनाको सम्मान गर्छन् । व्यक्तिगत भिन्नताको कदर गर्छन । भिगोत्स्कीले भने जस्तो विद्यार्थीलाई ज्ञानको निर्माणकर्ता मान्छन् । आफुलाई सहजकर्ता ठान्छन् । शिक्षक आफुलाई सर्बेसर्वा होइन, बुज्रुक होइन विद्यार्थीका साथी ठान्छन् । समस्या सामुहिक रुपमा समाधान गर्छन् ।

    ३. दबिएको आवाज उठाउनेः पुँजीवादमा गरिब वर्गको आवाज दबाइन्छ । गरिब उकुस मुकुस भएर बाच्छ । श्रम गर्छ न्युनतम ज्याला पाउछ तर मुनाफामा हिस्सेदारी पाउदैन । मालिकले मुनाफा कुम्ल्याको टुलुटुलु हेरेर बस्छ । अपमानको हलाहल पिएर बस्छ । विद्यालयमा धनीका गाथा सुनाइन्छ । पुँजीवादका कथा पढाइन्छ । समाजवादी शिक्षकले यीनै दबिएका आवाजलाई शिक्षाको माध्यमबाट बुलन्द गराउनु पर्छ । शोषण र दमनको दुष्चक्रका बारेमा विद्यार्थीलाई सचेत बनाउनु पर्छ । विद्यार्थीलाई उनीहरुकै गाथा गाउन लगाउनु पर्छ । उनीहरुकै पुर्खाको योगदानलाई सम्झाइदिनु पर्छ । आफ्नै इतिहार आफै रच्न प्रोत्साहन गर्नु पर्छ । विद्यार्थीलाई अधिकार र कर्म प्रति सचेतीकरण गर्नु पर्छ । श्रम नगरी खाने भतुवा प्रवृत्तिप्रति घृणा जगाउनु पर्छ । श्रमप्रति सम्मानभाव जगाइदिनु पर्छ । गरिबीको दुश्चक्रमा फसेका बच्चामा रहेको हीन मनोग्रन्थिलाई फुटाइदिनु पर्छ । विश्वास र आत्मबलको मुल फुटाइदिनु पर्छ ।

    ४. सामुदायिक सशक्तिकरणका सम्वाहक: शिक्षकले विद्यार्थीलाई मात्रै सिकाउँदैनन् । विद्यालयमात्रै बनाउदैनन्, समुदायको पनि विकास गर्छन् । उनीहरु समाजका रोल मोडल पनि हुन् । उनीहरुमाथि समाजको भरोसा छ । समाजवादी शिक्षकले समुदायमा रहेको सामन्तवादका अवशेषहरुको अन्त्य गर्न सघाउनु पर्छ । बोक्सिको आरोपमा जिउदै जलाउने, दिसापिसाब खुवाउने, तातो भाँडोले डाम्ने, गाँउ निकाला गर्ने जस्ता अन्ध विश्वास र कुचलनको अन्त्य गर्नु पर्छ । जातीय छुवाछुतका नाममा हुने सामाजिक कलंकहरुलाई अन्त्य गर्न लाग्नु पर्छ । महिलामाथी हुने लैंगिक हिँसा र शोषणका विरुद्धमा ज्वालामुखी फुटाउनु पर्छ । दिनदाहाडै बेचिने चेलीहरु बचाउने कर्म गर्नु पर्छ । सडकमा प्याकेटको हावा तान्दै गरेका अनाथ बच्चाहरुलाई विद्यालयमा ल्याउने, इटा भट्टा, होटेल, यातायात आदि क्षोत्रमा प्रयोग गरिएका, शोषणमा परेका बालबच्चालाई उद्धार गरी विद्यालयमा ल्याउने धर्म गर्नु पर्छ ।

    ५. स्वव्यवस्थापनः शिक्षकले आफुलाई जती व्यवस्थित गर्छ त्यती अरुलाई व्यवस्थ्ति गर्न सक्छ । बलेको दियोले मात्रै उज्यालो छर्न सक्छ । फक्रेको फुलले मात्रै बासना छर्न सक्छ । धार भएको खुकुरीले मात्रै काट्नम सक्छ । अध्ययनसिल शिक्षकलेमात्रै विद्यार्थीलाई अध्ययनशील बनाउन सक्छ । अुनुशासित शिक्षकले मात्रै विद्यार्थीलाई अनुशासित बनाउन सक्छ । श्रमसिल शिक्षकले मात्रै श्रमको मूल्यवोध गराउन सक्छ । इमान्दार शिक्षकले मात्रै इमान्दारिताको पाठ सिकाउन सक्छ । त्यसैले समाजवादी शिक्षक समयबद्ध हुनपर्छ । अनुशासित, उत्तरदायि, जवाफदेहि हुनु पर्छ । निरन्तर अध्ययन उसको प्रयायवाची हुनु पर्छ । समुदायको बुझाई स्पष्ट हुनु पर्छ । न्याय उसको आदर्श हुनु पर्छ । लचकता उसको स्वभाव हुनुपर्छ । समालोचनात्मक उसको दृष्टिकोण हुनुपर्छ । बैज्ञानिक विश्वदृष्टिकोण उसको दर्शन हुनु पर्छ ।

    ६. पेशागत संगठनः संगठनमा दम हुन्छ । शक्ति हुन्छ । पेशागत संगठन पेशागत विकासको खम्बा हो । पेशागत विकास तब हुन्छ जब विषयगत विज्ञता हुन्छ । कर्मप्रति लगनशिलता र दृढता हुन्छ । अनुशासन हुन्छ । पेशागत मर्यादा हुन्छ । निरन्तर विकासमा तल्लिन हुन्छ । तर नेपालमा अहिले पेशागत मर्यादा स्खलन भएको छ । पेशागत संगठन अनुशासनहीन, गुणस्तरहीन, अराजक र अमर्यादित शिक्षकको ढाल बनेको छ । सौदावाजीको साधन बनेको छ । यो अराजकताको पराकाष्ठा हो । समाजवादी शिक्षकले पेशागत संगठनलाई शैक्षिक गुणस्तर विकासको प्रमुख साधन बनाउछन् । संगठनलाई पार्टीका मर्कट सेना बाट मुक्त गर्छन । यसलाई उत्पादक मण्डलका रुपमा प्रयोग गर्छन् । सिकाइ संगठनका रुपमा उपयोग गर्छन् । शिक्षालय र समुदाय विकासका साधक बन्छन् । समाजवादी समाज निर्माणका नेतृत्वकर्ता हुन्छन् । न्यायका प्रयायवाची बन्छन् ।

    ७. स्वावलम्वी सीपः स्वाबलम्बी सीपले शिक्षकलाई आत्मजिवी बनाउछ । यस्ता सीप विद्यार्थीलाई मात्रै होइन शिक्षकलाई पनि चाहिन्छ । कपडा च्यातिदा, सिलाउन सक्ने, चप्पल छिन्दा जोड्न सक्ने, मोबाईल सामान्य बिग्रदा बनाउन सक्ने, घरको टेलिभिजन बिग्रदा सपार्न सक्ने, धारा बिग्रदा बनाउन सक्ने, ग्यास चुलो बिग्रिय मिलाउन सक्ने हुनु पर्छ । यति काम गर्न अर्कोलाई गुहार्न नपर्ने हुनु पर्छ । यसले शिक्षकलाई श्रमसँग जोड्छ । यी सीप विद्यार्थीलाई सिकाउन सक्छन् । विद्यार्थीको रोलमोडल बन्न सक्छन् । त्यसैले समाजवादी शिक्षकमा जीवनोपयोगी सीप अनिवार्य हुनै पर्छ ।

    समाजवादी शिक्षाको बोक्रे शब्दलेमात्रै शिक्षामा न्याय हुन सक्दैन । समाजवादी शिक्षाको सारलाई व्यवहारमा प्रतिक्षेप गराउने प्रमुख कर्ता शिक्षक हुन । पुरानै चिन्तन, पुरानै ज्ञान, पुरानै सीप, पुरानै अभिप्रेरणाले नयाँ उत्पादन गर्न सक्दैन । पुरानैलाई पुनराबृत्तिमात्रै गर्छ । नयाँ लुगा लगाउँदैमा मानिस बदलिदैन । समाजवादी शिक्षाको आत्मा र मर्मलाई खासरुपमा प्रयोग गर्दै विद्यार्थी, समाज र राष्टको मुहार फेर्ने शिक्षकलेनै हो । त्यसैले समाजवादी शिक्षक समालोचक, क्रान्तिकारी, आशावादी, श्रमसिल, समायोजित, समाजवादी चिन्तनले लैस र सीपयुक्त हुन जरुरी छ । यसैले सबैको कल्याण गर्ला ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...