News Portal

  • लकडाउनले ठप्प पारेको टोखामा हुने गरेको बिस्केट जात्राको वर्णन कथा

    अग्रज रञ्जितकार काठमाडौं, ३० चैत
    ८०१ पटक
    काठमाडौं, ३० चैत

    संसारभरी महामारीको उग्र रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले विश्वको हरेक राष्ट्रको जनजीवनमा असर पारे जस्तै नेपाली जनजीवनमा पनि असर पारिरहेको छ । भाइरसको संक्रमण थप फैलिन नदिन विश्वको अधिकांश राष्ट्रले लकडाउन (घरभित्रै रहने) को घोषणा गरेको छ । नेपाल सरकारले पनि २०७६ साल चैत ११ गते (२४ मार्च २०२०) बाट लकडाउन घोषणा ग¥यो । सुरुमा चैत २५ गते (७ अप्रिल) सम्म गरिने भनिएतापनि सङ्क्रमणलाई बढ्न नदिनका लागि सरकारले थप आठ दिन अर्थात् २०७७ बैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याइएको छ ।

    लकडाउनका कारण समाजका हरेक क्षेत्रमा असर परेजस्तै नेपाली धार्मिक साथै सांस्कृतिक गतिविधि पनि ठप्प पारेको छ । लकडाउनकै कारण बिक्रम सम्बत्को चैत्र र बैशाख महिनामा पर्ने सम्पूर्ण जात्रा–पर्व स्थगित गरिएका छन् । यसै क्रममा चैत्र र बैशाख महिनामा राजधानी उपत्यका र यस वरपर मनाइने सबैभन्दा ठूलो पर्व बिस्केट जात्रा पनि ठप्प भएका छन् ।

    बिस्केट जात्रा सम्बन्धी दुईवटा किंवदन्ती पाइन्छन् । लीलाभक्त मुनंकर्मीद्वारा लिखित ‘नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन’ मा उल्लिखित पहिलो किंवदन्ती अनुसार परापूर्वकालमा एक प्रतापी राजाका छोरी राजकुमारीको विवाह गरिदिने क्रममा राजाले राजकुमारीसँग एकरात बिताउन सक्नेलाई आफ्नो राज्य र मनग्य धनराशी दिने घोषणा गरेका थिए । कसैले पनि ती राजकुमारीसँग एकरात बिताउन सकेनन् । राजकुमारी सुतिसकेपछि राजकुमारीको नाकको प्वालबाट एक जोडी सर्प निस्केर अजिङ्गर भएर दुलहालाई डसेर मारिदिन्थ्यो र त्यही नाकको प्वालबाट भित्र गई अदृश्य हुन्थ्यो । त्यसकारण धेरै राजकुमारहरुको मृत्यु भइसकेको थियो । त्यसरी भोलिपल्ट दुलहाको लाशमात्र भेटिन्थ्यो ।

    ्त्यही समयमा देश बसाउन भनेर एक प्रतापी एवम् बलबान् राजकुमार घना जंगलमा घुमिरहेका बेला एउटी बुढीलाई देखे । ती बुढीले त्यस राजकुमारलाई राजकुमारीको दुर्दशाको बारेमा बताइन् । ती बुढीले त्यस अजिङ्गरलाई खड्गबाट मार्न सकिने कुरा भनेर अन्तध्र्यान भइन् । सोही बुढीको सल्लाह अनुसार राजकुमारले त्रिवेणी खोलामा खड्ग प्राप्त गरेर राजदरबारमा गएर राजासँग छोरी माग्न गए । राजाले उनीहरुको विवाह गरिदिए । राजकुमारी सुतिसकेपछि नाकको प्वालबाट एकजोडी सर्प निस्केर अजिङ्गर भई राजकुमारलाई मार्न निस्किए । तर राजकुमार सतर्क भएर आफूसँग भएको खड्गले त्यस अजिङ्गरलाई दुई टुक्रा गरेर मारिदिए । मर्नुभन्दा अगाडि ती अजिङ्गर जोडीले राजकुमारको पुरुषार्थको प्रशंसा गरेर उनीहरुको प्रतीक चिन्हलाई सबैले देख्ने गरी जात्रा चलाइदिनु भनी दुवैले प्राण त्याग गरे ।
    भोलिपल्ट बिहान राजकुमारलाई जीवित देखेपछि राजा अचम्मित भए र मरेका अजिङ्गरको जोडी पनि देखे । राजा खुशी भएर दरबारमा उत्सवको आयोजना गरे र राजकुमारलाई आफ्नो राज्यको भार सुम्पी धन सम्पति दिई राजतिलक लगाइदिए । राज्याभिषेक भइसकेपछि नव राजाले अजिङ्गरले मर्नुभन्दा अघि भनेको कुरा ज्योतिषीहरुलाई भेला गराएर सुनाए । यसरी ती अजिङ्गर जोडीलाई हरेक वर्ष चैत्र मसान्तका दिनमा सबैले देख्ने गरी लिंगोमा झुन्डाएर जात्रा चलाई २४ घण्टापछि बिसर्जन गराउने परम्परा चलाए र यसैलाई नै बिस्केट जात्रा भन्ने गरिएको छ ।

    साेही बिस्केट जात्रालाई मल्ल राजाहरुले पनि तान्त्रिक विधि अनुसार पूजा गरेर जात्रालाई निरन्तरता दिए । सम्पूर्ण प्रजालाई उमंगित बनाउन मल्ल राजाहरुले श्री भैरव–भद्रकालीको रथजात्रा लिंगो उभ्याउने ४ दिन अघि र लिंगो बिसर्जन भएको ४ दिन पछिसम्म ठूलो जात्राको रूपमा चलाइदिएका थिए ।

    दोस्रो किंवदन्ती अनुसार भक्तपुरमा लिच्छवीवंशका शिवदेवले राज्य गरिरहेका बेला किरातीहरुले भक्तपुरमा हमला गर्न आएकाले राजा शिवदेव श्री वज्रयोगिनीको शरणमा गएका थिए । वज्रयोगिनी देवीले राजा शिवदेवलाई गुरु शेखर आचाःजुकोे सल्लाह बमोजिम युद्ध गर्दा विजय हुने आज्ञा दिइन् । सोही आज्ञा अनुसार नै राजा शिवदेवले शेखर आचाजुलाई बोलाई वज्रयोगिनी देवीले भनेको आज्ञा सुनाए । गुरु शेखरले आक्रमणकारी किरातीहरुलाई हजार बाघ भएर तितरबितर पारेर भगाई पठाउने आश्वासन दिए । साथै आक्रमणकारी किरातीहरुलाई भगाई सकेपछि गुरु शेखर बाघको अवतार लिएर राजा शिवदेवकहाँ आइपुग्ने र नडराईकन अक्षता हान्न राजा शिवदेवलाई आग्रह गरे । गुरु शेखरले आफूले दिएको वचन पूरा गर,े र राजा शिवदेवले पनि गुरु शेखरले भनेझैँ बाघरूपी गुरु शेखरलाई अक्षता हाने । अक्षता हाने पश्चात् गुरु शेखर पहिलेको जस्तै मानव रूपमा फर्किए । राजा गुरुदेवले गुरु शेखरलाई स्वागत सत्कार गरेर सिन्दूर जात्रा गरी घरमा फर्किए ।

    आफ्ना श्रीमान्लाई बाघको अवतार लिएको देखेर अचम्मित भएकी गुरु शेखरकी श्रीमती नररूपाले अजिङ्गरको रूप लिन गुरु शेखरसँग जिद्दी गर्न थालिन् । गुरु शेखरले आफ्नो श्रीमतीलाई नडराईकन मैले भनेको जस्तो ग¥यौे भने मात्रै अजिङ्गर रूप धारण गर्ने आश्वासन दिए । नररूपाले गुरु शेखरको कुरा मानिन् र गुरु शेखरले एक मुठ्ठी अक्षता मन्त्र गरी नररूपाको हातमा राखिदिएर विशाल अजिङ्गरको रूप धारण गरे । विशाल अजिङ्गर देख्नासाथ नररूपा डराइन् र गुरु शेखरले भनेको कुरा बिर्सेर भाग्न थालिन् । अजिङ्गर रूपी गुरु शेखर नररूपाको हातमा भएको अक्षता हानिदिने आशाले नररूपाको पछिपछि लागे । नररूपाले आफ्नो हातमा भएको अक्षता अजिङ्गरलाई हान्नुको सट्टा आफ्नै मुखमा हालिन्, जसका कारण नररूपा पनि अजिङ्गर बनिन् । उनीहरु अजिङ्गर बनेको कुरा कसैलाई पनि थाहा थिएन । अजिङ्गर जोडी कसैले मन्त्रद्वारा अक्षता हानिदेला र पुनः मानव रूप लिन पाइएला भन्ने आशाले मन्दिरहरु नजिकै सबैले देख्ने गरी बस्न थाले । धेरै दिनसम्म पनि कसैले मन्त्रद्वारा अक्षता नहानिदिएको हुनाले राजा शिवदेवलाई बाघ बनेर सहयोग गरेको सम्झेर राजा शिवदेवको राजदरबारमा पुच्छरले टेकेर हेर्दथे । कसैले पनि सहयोग नगरेको हुनाले पछि ती दुवै अजिङ्गरले भद्रकाली पीठ नजिकै आत्महत्या गरे ।

    अजिङ्गर जोडीले आत्महत्या गरेको केही दिनपछि राज्यमा अनिकाल भयो र हाहाकार मच्चियो । देशमा अजिङ्गर मर्न आएकाले अनिकाल भएको हल्ला चल्यो । राज्यको हितका लागि पूजापाठ गर्न राजा शिवदेवले आफ्ना गुरु शेखरलाई खोज्न पठाए, तर कसैले उनलाई भेट्टाउन सकेनन् । राजा शिवदेव स्वयम् गुरु शेखरको घरमा जादाँ ढोकाहरु खुल्ला रहेको र अजिङ्गरले घसे्रर गएको चिन्ह देखे । गुरु शेखरले जस्तोसुकै रूप लिन सक्ने थाहा भएको हुुनाले राजा शिवदेवले ती अजिङ्गर गुरु शेखर नै हुनुपर्ने विश्वास गरे । राजा शिवदेवले गुरु शेखर आचाजुको पराक्रम र गुणको बयान सबैले धेरै पछिसम्म सम्झिरहोस् भन्ने उद्देश्यले चैत्र महिनाको अन्तिम दिनमा एक जोडी अजिङ्गरको प्रतीक लिंगोमा दुईवटा हलिंपट फहराउन लगाए । यस जात्रामा लिंगो ढालेपछि विक्रम सम्वत्को नयाँ वर्ष शुरु हुन्छ । सोही जात्रा बिस्केट जात्राको रूपमा प्रख्यात् हुनपुग्यो ।

    यी किंवदन्तीहरुलाई विश्वास गर्दै हरेक वर्ष काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रहरुमा हर्षोल्लासका साथ बिस्केट जात्रा मनाउँदै आइरहेका छन् । प्रायः जसो बिस्केट जात्रा भनेपछि भक्तपुर र मध्यपुर थिमिको जात्रा भनेर चिनिन्छ । तर यथार्थमा बिस्केट जात्रा साँगा, धुलिखेल, साँखु, टोखा लगायतका स्थानमा पनि हरेक वर्ष मनाउने गरिएको छ ।

    टोखामा मनाइने बिस्केट जात्रा भक्तपुरमा मनाइने बिस्केट जात्राभन्दा फरक शैलीमा मनाउने गरिएको छ । टोखामा सर्पले दुःख दिएकाले पछि सर्पलाई मारेर ‘आइन्दा डराउनु पर्दैन’ भनेर बाँसमा झुन्ड्याएर सबैलाई देखाउँदै बिस्का नखः सुरु गरेको भन्ने किंवदन्ती रहेको छ ।
    मनिराज डंगोलद्वारा लिखित ‘प्राचीन नेपाल तथा काठमाडौं उपत्यकाको उत्तरी प्रवेशद्वार’ मा उल्लेख भए अनुसार टोखामा बिस्केट जात्रा दुई चरणमा मनाइन्छ । टोखाका मूल नाइकेद्वारा शुभ साइत हेरेर पाहाँचः¥हेका बिहान लिंगो ठड्याइन्छ । सोही दिन बेलुकी संकटा माई र सपना गणेशको लुखाद्यः जात्रा गरिन्छ । घोडेजात्राका दिन बेलुकी तीनवटै देवगणहरुमा मरःजा खुवाउने व्यवस्था हुन्छ । पहिलो चरणको अन्तिम दिन बिहान सपना गणेशबाट संकटा माईलाई ढोग गराउने जात्रा भएपछि पहिलो चरणको बिस्केट जात्रा समाप्त हुन्छ ।
    ‘टोखाको चाडपर्व र संस्कृति’ पुस्तकमा अर्जुन श्रेष्ठद्वारा लिखित ‘टोखा बिस्केट जात्रा’ अनुसार बैशाख १ गतेदेखि जात्रा सुरु गरिने भनिए पनि सबै पुजारीहरुबाट जात्राको निमित्त सबै देवीदेवताहरुलाई अघिल्लो दिनमै देवस्थानबाट निकालेर देवघरमा राखिएको हुन्छ । कोथु गणेशलाई अघिल्लो दिन पूजा गरी राखेको ठाउँबाट एकाबिहानै ढक्कीमा राखेर घण्टा बजाएर परिक्रमा गर्न लैजान्छन् । तलेजुको पुजारीले पूजा गरिसकेपछि कोथु गणेशलाई देवघरमा ल्याएर राखिन्छ । कोथु गणेशलाई देवघरमा ल्याइसकेपछि द्यःखलःले भाले कुखुराको बलि दिएर समय्बजि खाने गर्दछन् । बैशाख सङ्क्रान्तिकै दिन सपनातीर्थ मेलामा नुहाउन जाने क्रम पनि सुरु हुन्छ । चैत मसान्तका दिन बागद्वारमा गएर बैशाख १ गते बिहान सपनातीर्थमा नुहाएर सम्पूर्ण देवीदेवताहरुको दर्शन गर्दा काममा सफलता मिल्छ भन्ने धारणा रहेको छ ।

    सपनातीर्थमा हरेक वर्ष बैशाख सङ्क्रान्तिका दिन मेला लाग्दछ । मेला भर्न भक्तजनहरु टाढाटाढाबाट आउने गर्दछन् । चार दिन अघिदेखि पानी थुनिएको पोखरीमा नुहाउनेहरुको घुइँचो लाग्दछ । बैशाख सङ्क्रान्तिमा सपनातीर्थमा नुहाएमा शिवपुरी जंगलबाट जडिबुटीयुक्त रसाएर झर्ने गरेको पानीले कुष्ठरोग निको हुने विश्वास गरिन्छ । जात्रामा सात देवता–देवीहरु अर्थात् मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनातीर्थका गणेश, कोथु गणेश र चण्डेश्वरीलाई खटमा राखेर नगर परिक्रमा गराइन्छ । मसानकाली र चण्डेश्वरीमा बैशाख सङ्क्रान्तिका दिन होम गरी पूजा गरिन्छ । मसानकालीमा थाल र पातको प्रयोग नगरेर पश्चिम दिशामा फर्केर भुइँमै पस्केर भोज खाइन्छ ।
    बैशाख २ गते स–साना केटाकेटीहरुलाई मरःजा खुवाइन्छ । मरःजा खुवाइसकेपछि विधि विधान पु¥याएर देवदेवीहरुलाई खट्मा राखेर बाजागाजासहित सिन्दूर जात्रा गरी बाटोमा कपडा ओछ्याएर प्राचीन टोखा नगर परिक्रमा गराइन्छ । खट् परिक्रमामा कोथु गणेश र मसानकालीको भैरव (जाँड राखिएको तामाको ठूलो घ्याम्पो) पनि सँगै लाने गरिन्छ । परिक्रमापछि रथलाई भख्यः (भूतखेल) सँगै रहेको पिगंद्यः मसानकाली देवी अगाडि विराजमान गराइन्छ । यसरी सातवटै खटलाई लहरै बिसाइसकेपछि तलेजुबाट जीवित देवी कुमारीलाई लिन कुमारी घर जाने गरिन्छ । गणेश र कुमारीलाई खट्मा राखेर खलागः टोलमा लगेपछि ७ वटै खट्हरु एकैसाथ उठाएर जात्रा गरिन्छ ।

    जात्रापछि सरस्वती र मुस्कानेश्वर महादेवलाई माथिल्लो लाछि (चोक) मा विराजमान गराइन्छ भने जीवित देवी कुमारी र गणेशलाई माथिल्लो लाछिमै ठड्याइएको लिंगो र नारायण मन्दिर परिक्रमा गराएर देवघरमा प्रवेश गराइन्छ । कोथु गणेश र मसानकालीलाई पनि लिंगो र नारायण मन्दिर परिक्रमा गराएर आ–आफ्नै देवघरमा प्र्रवेश गराइन्छ । भैरबलाई भित्र्याइसकेपछि त्यसभित्रको जाँड खाएमा पेट सम्बन्धी रोग निको हुने विश्वास पनि रहेको छ । त्यसैगरी अन्य देवदेवीहरुको खट्लाई पनि नगर परिक्रमापछि माथिल्लो लाछिमा लगेर बिसाइन्छ र सबै देवदेवीका खट्हरुलाई रातभर लहरै राखिने व्यवस्था गरिन्छ । त्यसै रात लाछिको डबलीमा टोखाको मौलिक याःप्याखं देखाइन्छ । यस नृत्यमा शब्द बोलको प्रयोग नगरिकनै बाजाको ताल र साङ्केतिक नृत्य मात्र हुने गरेको छ ।

    बैशाख ३ गते बिहानै कोथु गणेशका पुजारीले सातवटै खट्मा पूजा गरिसकेपछि सिन्दूर जात्रा गरेर एकैचोटी उठाइन्छ । सातवटै खट्हरुलाई जरंछेँमा ल्याएर लस्करै विराजमान गराइन्छ । तलेजुबाट गणेश र कुमारी देवीलाई पनि जरंछेँमा ल्याइन्छ र जात्रा प्रारम्भ गरिन्छ । जरंछेँमा विभिन्न गुठीहरुद्वारा सातवटै खट्हरुको पूजा गरिन्छ । विभिन्न गुठी खलकहरुले आ–आफ्ना जिम्मेवारी अनुसार टोपी खलकले टोपी, झल्लर खलकले झल्लर हालेर खट सिंगार्ने काम गर्दछन् । जीवित देवी कुमारी र गणेशको उपस्थिति भएपछि सातवटै खट्हरुलाई बाजागाजा सहित सिन्दूर जात्रा गरेर उठाइन्छ । त्यसपछि गणेश र कुमारीको खट्हरुलाई तल्लो लाछिमा ल्याइन्छन् । सरस्वती र मुस्कानेश्वर महादेवलाई पनि तल्लो लाछिमै ल्याएर विराजमान गराइन्छ । अन्य पाँचवटा खट्हरुलाई सरस्वती खेलमा अवस्थित पोखरीमा डुबाएर जात्रा गरिन्छ । त्यसपछि ती पाँचवटै खट्हरुलाई भूतखेलमा रहेको मसानकाली मन्दिर घुमाइन्छ । यसैदिन टोखाको मूल ढोकाको बाटो छेक्ने परम्परा चल्दैआएको छ । देवदेवीहरु अन्य क्षेत्रमा नजाऊन् र धेरै समयसम्म जात्रा यतै होस् भन्ने मान्यताले बाटो छेक्ने गरेको विश्वास गरिन्छ । त्यसपछि पाँचवटै देवदेवीहरुलाई तल्लो लाछिमा लगिन्छ । त्यसैदिन बेलुका गणेश पुजारी परिवारले आफ्ना समूहका सदस्यहरुलाई भोज खुवाउँछन् र अर्को वर्ष पालो पर्नेलाई पाःब्व (ठूलो भोज) हस्तान्तरण गर्छन् ।

    बैशाख ४ गते बिहानै सपना विनायकका पुजारीद्वारा सातवटै देवदेवीहरुको पूजा गरिन्छ । त्यसपश्चात् सबै खट्हरुको सिन्दूर जात्रा गरिन्छ र सरस्वती र मुस्कानेश्वर महादेवलाई गःछेँमा बिसाइन्छ । अन्य पाँचवटा खट्हरुलाई भने टोल परिक्रमा गराइन्छ । नगर परिक्रमापछि मसानकालीलाई आफ्नो मन्दिर वरिपरी जग्गा हुनेहरुको घरघर पु¥याएर धान माग्न जाने गरिन्छ, जसलाई स्थानीय भाषामा ‘बालि म्हयेगु’ भनिन्छ । अन्य देवदेवीहरुलाई इच्छाअनुसार परिक्रमा गराई गःछेँमा ल्याइन्छ । त्यसदिन गःछेँमा सबै देवीदेवतालाई मिलाएर अन्तिम जात्रा गरिन्छ । साँझतिर जीवित देवी कुमारी र गणेशलाई गःछेँमा ल्याइसकेपछि जात्रा प्रारम्भ हुन्छ । खट्हरुलाई कपडा ओछ्याएर गणेश र कुमारीको रथ पछाडि लहरै बनाएर नगर परिक्रमा गराइन्छ । अन्त्यमा तल्लो लाछिमा लगेर हर्षोल्लासका साथ सिन्दूर जात्रा गरिन्छ ।

    त्यसपछि देवीदेवतालाई आ–आफ्नो घरमा प्रवेश गराइन्छ । प्रवेश गर्ने क्रममा ईकापःका (सागको बिऊ छर्ने) गरिन्छ । ईकापःका छर्दा बाहिर लगिएको समयमा देवतालाई कुदृष्टि नलाग्ने विश्वास गरिन्छ । देवीदेवतालाई प्रवेश गराइसकेपछि सफा गरेर आशन ग्रहण गराएर पूजा गरिन्छ । मध्यरातमा मसानकाली खलःद्वारा भखिं बाजा बजाएर अर्को वर्ष पालो पर्नेकोमा खट् पु¥याइन्छ । त्यस समयमा बजाएको बाजा सुने पनि नसुने जस्तो गरिन्छ । यस कार्यलाई कसैले पनि हेर्न नहुने मान्यता रहेको छ । यसप्रकार नयाँ वर्षको पहिलो महिना बैशाखमा हुने गरिएको बिस्केट जात्रा टोखामा सम्पन्न हुने गरेको छ ।

    तपाई पनि भक्तपुर पोस्ट मार्फत कुनै पनि बिषयमा आफ्नो बिचार व्यक्त गर्न चाहनुहुन्छ भने हाम्रो ठेगानामा सम्पर्क राख्नुहोला । अथवा हामीलाई इमेल गर्नुहोला ।

    प्रतिकृया दिनुहोस्

    भूवन र दीपाश्रीको सम्बन्ध चिसिएको चर्चा हल्ला मात्रै !

    सर्वाधिक ग्रस कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’का ३ वटै सिरिजका कारण निर्देशक दीपाश्री निरौला...

    फेरी घट्यो सुनको मुल्य

    नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो...

    माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

      नेकपा माओवादी केन्द्रको आज दिउँसो तय गरिएको स्थायी समिति बैठक स्थगित भएको छ ।...

    कलाकार किरण केसीको भन्दै कब्जा गरिएको जग्गा उनको नभएको पुष्टि

    पछिल्लो समय चितवनको दुर्गम मानिने माडी क्षेत्रमा शहरीयाहरुको आकर्षण बढेको छ । चितवनका मात्र नभई...

    म्याद गुज्रेका सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्नेहरु पक्राउ

    म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको...