News Portal

  • नयाँ नक्सा र दृढ नेपाली मन

    संदेश घिमिरेभक्तपुर, १६ जेठ
    १७९७ पटक
    भक्तपुर, १६ जेठ

    कुनै पनि देशको भौगोलिक परिधिले सार्वभौमिकता, स्वायत्तता, राष्ट्रियता र सर्वोच्चताको प्रतिनिधित्व गर्दछ । देशको भूगोल वा जनसङख्या ठूलो वा सानो हुनसक्छ, तर राष्ट्रियता सधै सर्वोच्च हुन्छ । दुई छिमेकी बीच हुने सीमा विवाद सामान्य कुरो हो । यस्ता दृष्टान्त परापूर्वक कालदेखि व्याप्त छन् । भनिन्छ, सबैभन्दा नजिकका मित्रसँगै नोकझोक पनि धेरै हुन्छ । भारत र नेपाल बीच पनि यही अवस्था छ । करिब १८८० कि.मि. खुला सिमाना रहेको परिवेशमा त झन् सामान्य रुपमा चलिरहन्छ । इतिहासदेखि नै हाम्रो भौगोलिक, सामाजिक र सांस्कृतिक रुपले परस्पर सम्बन्ध रहेको छ । रोटी र बेटीको हाम्रो सम्बन्ध गर्बिलो गाथा पनि हो । भौगोलिक आकार, जनसङ्ख्या, प्रविधि विकास, अर्थ सामथ्र्य आदिमा हामी केही पछाडि छौँ । त्यसैले, युगौदेखि मानव सभ्यतामा जरो गाडेर रहेको सामन्तवाद यदाकदा हावी भएको पाइन्छ । अहिलेको नक्सा विवाद पनि त्यसैको उपज हो ।

    २०७७ साल जेठ गते सरकारले सुगौली सन्धि अनुसार काली नदी पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागु गरेपछि भारतले नक्सालाई अस्वीकार्य मान्दै नक्सा विवाद सिर्जना गरेको हो ।

    सन् १८१६, ४ मार्चमा तत्कालीन इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिमा काली नदी र त्योभन्दा पूर्वको भूभाग नेपालको हुने उल्लेख थियो, तर भारतले लिपुलेक नजिकबाट बग्ने लिपु खोलालाई काली नदीको मुहान दाबी गर्दै त्यसभन्दा पश्चिमको भूभाग कब्जा गरिआएको छ । लिम्पियाधुरा नेपालकै हो भन्ने दर्बिला सर्वमान्य प्रमाणका आधारमा नक्सा सार्वजनिक भएकाले यसमा विवाद गर्नु केवल आफ्नो बौद्धिकतामा प्रश्न गर्नु मात्र हो । सन् १८१६ मार्च ४ मा नेपाल सरकारका प्रतिनिधिका रुपमा राजगुरू गजराज मिश्र र चन्द्रशेखर उपाध्याय साथै इस्ट इन्डिया कम्पनी सरकारका लेफ्टिनेन्ट कर्णेल पेरिस ब्राड्साबीच भएको सुगौली सन्धि पहिलो प्रमाण हो ।

    त्यसैगरी डिसेम्बर ८, १८१६ मा भएको सुगौली सन्धिकै पुरक सन्धि, सन् १८५७ मा भारतले नै जारी गरिदिएको नक्सा, सन् १८६० नोभेम्बर १ मा तत्कालीन श्री ३ जङ्गबहादुर राणा र अङ्ग्रेज सरकारका तर्फबाट लेफ्टिनेन्ट जर्नेल जर्ज ¥याम्सेबीच बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गर्न भएको सम्झौता, सन् १८५७ जनवरी ७ मा नेपालका तर्फबाट कर्णेल सिद्धिमान साहेब बहादुर राजभण्डारी र अङ्ग्रेज सरकारका तर्फबाट कमिस्नर लेफ्टिनेन्ट जर्नेल एन्ट्रिउको संयुक्त आयोगले दाङको डुडुवा क्षेत्र सीमाङ्कन गर्दाको नक्साङ्कन, वि. सं. १९९५ सालमा लिम्पियाधुरा क्षेत्रका गुन्जी, नाबी र कुटि गाउँका बासिन्दाले बाली बुझाएको प्रमाण, वि. सं. २०१५ सालको आमनिर्वाचनको मतदाता नामावली र वि. सं. २०१८ सालको जनगणनाको तथ्याङ्कजस्ता सर्वस्वीकार्य वैधानिक प्रमाणहरु पनि छन् ।

    यति हुँदाहुँदै पनि विगत सात दशकदेखि अड्को बन्दै आएको लिपुलेक– कालापानी– लिम्पियाधुरा क्षेत्र भित्रबाट वि. सं. २०७७ साल वैशाखमा भारतका रक्षामन्त्री राजनाथ सिंहले एकतर्फी ढङ्गले निर्मित पिथौरागढ– लिपुलेक लिङ्क रोड उद्घाटन गरेपछि बुद्धको शालीन हृदयमा ज्वारभाटा आएको छ, नेपालीको स्वायत्तताको सगरमाथामाथि प्रहार भएको छ ; तत्काल नक्सा सार्वजनिक गर्नु नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता एवं राष्ट्रियताप्रतिको दृढता हो । यस प्रति कुनै विवाद वा पूर्वाग्रह अवाञ्छनीय छ ।

    विगत लामो समयदेखि दुबै देशले विज्ञटोलीको समन्वयमा सीमा विवाद टुङ्ग्याउन सीमा अध्ययन समिति, प्रबुद्ध समुहको प्रतिवेदन लगायत कुटनीतिक पहल गर्दै आएको हुन्, तर पछिल्ला समय एकलौटी ढङ्गले सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्ने, प्रबुद्ध समुहको प्रतिवेदन ग्रहण नगरी अल्झाइ रहने, वार्ताका लागि गरिएका कुटनीतिक पहलमा बेवास्ता गर्ने काम हुँदै आएको छ । नयाँ नक्सा सार्वजनिक भएपछि बल्ल छिमेकी तन्द्राबाट ब्युँझिएका छन् । आशा छ, अब दुबै पक्षबाट सुदृढ पहल हुनेछ । छिट्टै विवाद अन्त्य भै लिम्पियाधुराको शिखरबाट नेपाली झण्डाले कालीको जल सेचन गर्दै विश्व भ्रातृत्व र बन्धुत्वको शङ्खनाद् गर्ने छ ।

    त्रुटि हुनु कुनै ठूलो कुरो होइन, तर त्यसलाई स्वीकार गरेर सच्चिन नसक्नु ठूलो अपराध हो । हाम्रा राजनीतिज्ञ, कुटनीतिज्ञ र नेतृत्वले निहित स्वार्थपूर्तिका लागि वा दुरूत्साहित भएर जानी नजानी गरेको सानो भूलले हामी कयौं दशकदेखि मातृत्वको वक्षमा खेल्न नपाउँदा तड्पिएको बालकझैं तड्पिरहेका थियौँ । आज हामी सच्चिएका छौँ । हाम्रो नेतृत्व पनि सच्चिएको छ ।

    अब सच्चिने पालो छिमेकीको हो । बुद्धको क्षमाशील पथका अनुयायीहरु हामी सँगै बसेर प्रायश्चित गर्न तयार छौँ, तर एकल लिडेढिपी, अकर्मण्यता, हेपाह प्रवृत्ति प्रस्तुत गरेर गल्तीलाई अपराधमा बदल्ने महत्वकाङ्क्षा स्वीकार्य हुने छैन । यस ऐतिहासिक घडीमा भारतबाट हामीले असल छिमेकी साथसाथै अनादिकालदेखिको हाम्रो परस्पर हितैषी सम्बन्धलाई एउटा नयाँ उचाइमा पुर्याएर विश्वको मार्गदर्शक बन्ने आशा गरेका छौँ । नेपाल र नेपालीको राष्ट्रियताको अठोट सधैं सगरमाथाझैं दृढ रहिरहनेछ, नेतृत्व वर्गबाट कुनै विचलन पैदा हुने छैन र पूर्ण नेतृत्वदायी अभिभावकत्व ग्रहण गरिने छ भन्ने पूर्ण विश्वास छ ।

    हामी नेपालीहरु देशलाई आमा मान्छौँ । आमाको शरीरमा लाग्ने प्रत्येक चोटले हाम्रा अश्रुधारासँगै सिञ्चित भएर हाम्रो साहस अझ सशक्त हुन्छ । मातृअस्मितासँग खेलबाड हुँदा क्रोधको पाराले हद नाघेर जघन्य अपराध गर्नेलाई अग्निज्वालाले भष्म पार्न उद्दत हुनु कुनै नौलो कुरो होइन । उसैपनि गोर्खाली रगतको सिँचाइले स्थुल शरीरमा अलग उर्जा प्रवाह भइरहेको आभाष दिलाइरहेको हुन्छ । हामीसँग कोशीको उदारता, गण्डकीको गम्भीरता र कर्णालीको स्वच्छता छ । हामीमा सगरमाथाको सर्वोच्चतासँगै मिथिलाको हार्दिकता र बुद्धको विनम्रता छ । पूर्खाको गौरवगाथाको नासोलाई सधैं रक्तपानले नै तृप्त बनाउन खोज्नु आत्मविश्वासलाई दम्भको लेपले ढाकेर विवेकशून्य हुनु हो । ऐतिहासिक प्रमाणिक दस्तावेजले सुगठित हामी सैन्य वा अर्थ सामथ्र्यमा निकै पछाडि छौँ । त्यसैले अबको हाम्रो वीरता युद्ध मैदानमा होइन, वार्ताको टेबलमा देखाउन जरुरी छ । हाम्रा यथेष्ट अचुक प्रमाणहरुलाई तर्कसङ्गत उजागर गरेर तार्किक बौद्धिकताले मात्र युद्ध जित्न सम्भव छ । याद रहोस्, हाम्रा रक्तनलीमा मेची र काली प्रवाहित छन्, हामी रक्तदान गर्न सक्छौँ तर रक्तनली काट्न वा त्यसको मूल, मुटु नै कसैलाई दिन त सक्दैनौँ नि । “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी !”

    (सन्देश घिमिरे त्रिवि, माइक्रोबायोलोजी केन्द्रीय विभाग कीर्तिपुरमा स्नातकोत्तर अध्ययनरत छन् ।)

    : भक्तपुरपोस्ट मार्फत आफ्ना विचार प्रवाह गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस् ।

     

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...