News Portal

  • ११६ वर्षमा आइसीयु राख्न सक्याैं, प्रदेश सरकार र मन्त्री दुलालप्रति आभारी छौं : अध्यक्ष सुवाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ जेठ
    ४९५८ पटक
    भक्तपुर, २१ जेठ

    (वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल भएपनि भौतिक पूर्वाधार र मेडिकल सुविधाको हिसावले पछि पारिएको र सरकारी अस्पतालको रुपमा भक्तपुरमा समेत हेपिएको भक्तपुर अस्पताल यतिबेला कोभिड १९ बिरुद्ध सशक्त भूमिकामा रहेर भक्तपुरवासीको स्वास्थ्य सुरक्षाको लागि अहोरात्र लागिपरेको छ । भक्तपुर अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालसंग अस्पतालको विकाशप्रति केन्द्रित रहेर भक्तपुर पोस्टका लागि संजीप शुभचिन्तकले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।)

    विक्रम सम्बत १९६१मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल सेवा दिन नसकी रिफर सेन्टरको रुपमा आलोचित हुँदा तपाइँ अध्यक्ष बन्नुभएको थियो । अहिले अस्पतालको अवस्था कस्तो छ ?

    अस्पतालमा भौतिक र प्राविधिक सुविधाका साथै विशेषज्ञ सेवा दिन नसक्दा बिरामी रिफर गर्नुको बिकल्प हुँदैन । तपाईले भने जस्तै भक्तपुर अस्पतालमा बिरामी रिफर गर्नुपर्ने रहर नभई बाध्यता थियो । म आफै पनि भक्तपुरको स्थानीय मात्र नभई अस्पतालको सेवाग्राही समेत हुँ र यसको दुरावस्थाबारे जानकार छु । म अध्यक्ष भएपछि भक्तपुर अस्पतालमा आएका बिरामीहरुलाई भरिसक्य रिफर गर्नु नपरोस् भन्ने अभिप्रायले योजनाहरु बनाइरहेका छौं । एक शताब्दी भन्दा लामो इतिहास बोकेको यस अस्पतालमा हामीले बल्ल सघन उपचार कक्ष (आइसीयु) संचालनको पूर्ण तयारी गरेका छौं । आपतकालीन सेवालाई चुस्त बनाएका छौं । निःशुल्क उपचारलाई लक्षित वर्गसम्म पुर्याएका छौं । विशेषज्ञ सेवामा जोड दिएका छौं । अस्पतालको आफ्नै फार्मेसीमा सहुलियत रुपमा औषधी बिक्रीवितरणको व्यवस्था मिलाएका छौं । विमाकाे आैषधि फार्मेसीमा उपलब्ध गराएका छाैं । अस्पतालको भौतिक संरचनालाई किटाणुरहित र आधुनिक गराउने कुरामा जोड दिएका छौं । अस्पतालको भवन रेक्टोफ़िटिङ्ग र सुविधासम्पन्न नयाँ भवन निर्माणको काममा लागिपरेका छौं । जिल्लाले बिश्वास गरेर दिएको कोभिड १९ परीक्षणको जिम्मेवारी पूरा गरेका छौं भने छुट्टै अस्थायी कोभिड १९ उपचार भवन निर्माण गरेका छौं । हामीले यो महामारीका बीच पनि ओपिडी लगायत नियमित सेवा सुचारु राखेका छौं ।भक्तपुर अस्पतालले जनताकाे अस्पतालको रुपमा सबैको बिस्वास जितेको हाम्रो ठम्याई छ । हामीले नै भन्नुभन्दा तपाईहरुले नै हाम्रो कामको मूल्यांकन गर्नुभएकै छ ।

    ऐतिहासिक बिरासत बोकेको यस अस्पताललाई सघन उपचार कक्ष (आइसीयु) युक्त बनाउन किन यत्तिका वर्ष लागेको होला ? कुन दिन देखि भक्तपुर अस्पतालले आइसीयु सेवा दिन शुरु गर्छ ?

    भक्तपुर अस्तपाल वीर अस्पताल पछिको दोश्रो जेठो अस्पताल भएपनि समयानुकुल विकाश हुन नसकेको तितो सत्य हो । यत्तिका वर्ष सम्म एउटा आइसीयु सेवा पनि संचालन गर्न नसक्नु दुखद् इतिहास भन्नुपर्छ । यद्यपी, विगतमा भएका विकाशका प्रयासलाई पनि हामीले अवमूल्यन गर्नुहुँदैन । अस्पताल व्यवस्थापन र प्रशासनको तालमेल नमिल्दा त्यो हुँन नसकेको हो कि भन्ने मलाइ लाग्छ । कुनै पनि संस्था विकाशको मूख्य आधार जनशक्ति र इच्छाशक्ति नै हो । हामीले ३ महिना अघि आइसीयु संचालन गर्नुपर्छ भन्ने सोंच बनायौं । आइसीयु संचालन गर्ने विषयमा यतिबेला व्यवस्थापन, प्रशासन र कर्मचारीबीच एकमत छ, जुनकारण हामी आइसीयु संचालनको निर्णय गर्न सफल भयौं ।

    हामीलाई बागमती प्रदेश सरकारका सामाजिक विकाश मन्त्री युवराज दुलालले आइसीयु संचालनमा सहयोग गर्ने बचन दिनुभएको थियो । उहाँकै पहलमा सामाजिक विकाश मन्त्रालयमार्फत हामीलाई १ करोड रुपियाँ पनि प्राप्त भयो । प्राविधिक जनशक्ति समेत प्रदेश मन्त्रालयले उपलब्ध गराउने उहाँले जिम्मा लिनुभएकाे हो । उहाँले नयाँ वर्ष २०७७ को बैशाखमा आइसीयु संचालन हुनुपर्छ भन्नुभएको थियो । लकडाउनका कारण हामीले बैशाखमै सेवा सुचारु गर्न त सकेनौ । हामीले भेन्टिलेटरसहित पाँच बेड क्षमताको आइसीयु कक्ष तयार गरिसकेका छौं । हामी छिट्टै औपचारिक उद्घाटन गरी आइसीयु सेवा शुरु गर्छौं ।

    भक्तपुर अस्पतालले कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लामै प्रमुख भूमिका पाएको छ । अस्पतालको कामबाट जिल्लाबासी सन्तुष्ट हुने अवस्था छ कि छैन ?

    कोभिड १९ को रोकथाम र नियन्त्रणमा भक्तपुर अस्पतालले पाएको जिम्मेवारी हाम्रो लागि अवसर र चुनौती दुवै हो । कतिपय निजी अस्पतालले सम्पूर्ण सेवा नै रोकेको समाचारहरु बाहिर आइरहँदा हामीले सीमित साधनश्रोतका बाबजुद सम्पूर्ण सेवालाई निरन्तरता दिइरहेका छौं भने छुट्टै आइसोलेसन वार्ड बनाएर कोरोनाको परीक्षणलाई पनि अघि बढाइरहेका छौं । हामीले आरडिटि र पिसिआर दुवै माध्यमबाट सम्भावित कोरोनाको बिरामीको नमूना संकलन गर्छौं । आरडिटिको रिपोर्ट यहि हेरिने भए पनि पिसिआरको रिपोर्टका लागि हामीले स्वाव संकलन गरी टेकु पठाउने गर्छौं । हालसम्म हामीले ७८४ जनाको पिसिआर र अन्य आरडिटि गरि करिब पन्ध्र सय जनाको कोरोना परीक्षण गरेका छौं । सौभाग्यबस उहाँहरु सबै नै कोरोना मुक्त रहनुभएको रिपोर्ट प्राप्त भएको छ । यद्यपी केहि रिपोर्ट भने आउनेक्रममा छ । डे वान देखि नै भक्तपुर अस्पताल संवेदनशील र जिम्मेवार भएर कोरोना रोकथाम र नियन्त्रणका लागि लागिपरेको छ ।भक्तपुरबासीलाई कोरोनाबाट बचाउन हामीले कोरोना विशेष अस्पताल संचालन गर्न अस्थायी भवन बनाइसकेका छौं । उक्त भवनमा हामीले पिसिआर टेस्ट समेत यहीं गर्ने र संक्रमित पाइएमा उपचारसमेत यहीँ गर्ने व्यवस्था मिलाउदैछौं । डे वान देखि नै भक्तपुर अस्पताल संवेदनशील र जिम्मेवार भएर कोरोना रोकथाम र नियन्त्रणका लागि लागिपरेको छ । कोरोना बिशेष अस्पतालको संचालन संगै जिल्लावासीमा थप सुविधा र आत्मविश्वास प्राप्त हुने हाम्रो अपेक्षा छ ।

    कोभिड १९ संक्रमण जोखिमका बीच भक्तपुर अस्पतालले कोभिड परीक्षण सेवाका साथै नियमित सेवा पनि सुचारु राखेको छ । यस्तोमा स्वास्थ्यकर्मी एवं सेवाग्राहीलाई संक्रमण जोखिमबाट बचाउन केकस्तो व्यवस्था गरिएको छ ?

    हामीले स्वास्थ्यकर्मीलाई मास्क, सेनीटाइजरका साथै आवश्यकता अनुरुप व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) उपलब्ध गराएका छौं । सरकारी श्रोतका साथै सामाजिक संघ सस्था र स्थानीय समाजसेवीहरुले पनि हामीलाई आवस्यक सामाग्री सहयोग गर्नुभएको छ भने अस्पतालको आन्तरिक श्रोत परिचालन गरी हामी आफैले पनि पिपिई बनाएर प्रयोगमा ल्याएका छौं । त्यतिमात्र होइन, हामीले सम्भावित संक्रमितको नमूना संकलन गर्न पिपि बुथ स्थापना गरेका छौं । जुन नेपालमा नै महाराजगंजस्थित शिक्षण अस्पताल पछि पिपि बुथ स्थापना गर्ने हामी दोश्रो हो । यसबाट सम्भावित संक्रमितको सम्पर्कबाट टाढा रही नमूना संकलन गर्न सकिन्छ ।

    हामीले अस्पतालमा आउने सबै बिरामीको फिभर स्क्रिनीङ्ग गरेर तथा कोरोना संक्रमित होइन भन्ने निश्चिन्त भएपछी मात्र अन्य सेवा उपलब्ध गराउछौं । बिरामीहरुलाई सामाजिक दुरीका बस्न तथा साबुन पानीले हात धोइरहन आवश्यक व्यवस्था सहित प्रेरित गरेका छौं । कोभिडको सम्भावित जोखिम बाट अस्पताल र स्वास्थ्यकर्मीलाई बचाउन हामीले हाम्रो सबै सेवा सार्न बनाएको अस्थायी संरचनालाई कोभिड १९ अस्पताल भवनको रुपमा रुपान्तरण गरेका छौं । यस भवनमा आवस्यक सबै सुरक्षाका उपाय अवलम्वन गरी कोभिड १९ सम्भावित संक्रमितको परीक्षण तथा सक्रमित देखिए उपचार समेत गरिने छ ।

    भक्तपुर अस्पतालमा कतिजना कोभिडका बिरामी भर्ना गर्ने क्यापासिटी छ ? कहिलेबाट बिरामी भर्ना लिनुहुन्छ ?

    हामीसंग कोभिड बिशेष भवन तयार भैसकेको छ । अहिले हामीले त्यसमा बेडहरु व्यवस्थापन गरिरहेका छौं । कम्तिमा २० जना बिरामी भर्ना गर्ने हाम्रो क्यापासिटी हाे । हामीले जेठ भित्रै उपचार सेवा शुरु गर्ने लक्ष राखेका छौं ।

    विगतमा भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मी कर्मचारीहरुबीच मनमुटाव र आपसी कलहका कारण कार्यसम्पादनमा समस्या हुनेगरेका घटनाहरु पनि थिए । अहिले आन्तरिक कलहलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

    मानिसहरुमा हुने स्वभाविक स्वार्थ, उत्तेजना र चिन्तनको उपज नै कलहको कारण हो । कुसल व्यवस्थापनले त्यसलाई निस्तेज गर्न सकियो भने मात्र संस्थाको उन्नती हुन्छ । कसैलाई काखा र कसैलाई पाखा गर्ने व्यवहारले सस्थाको भलो हुँदैन । हामीले व्यक्तिगत स्वार्थबाट माथि उठ्न र सस्थागत स्वार्थलाई सर्वोच्च ठान्न आग्रह गर्दै आएको छौं । हामीले कर्मचारीलाई काउन्सेलिङ्ग पनि गर्छौं । आफ्नै स्वार्थको वरिपरि घुमिरहने कार्य स्वीकार्य हुँदैन । व्यवस्थापन त्यसमा कठोर बन्छ भन्ने चेतावनी पनि दिएका छौं । महत्वपूर्ण कुरा के भने हामीले सस्थाको भलाइ हुने विषयमा सबैको सहमतीबाट निर्णय गर्ने गरेका छौं । अहिले हाम्रो मूख्य चुनौती आन्तरिक कलह होइन । त्यसको व्यवस्थापन गर्न हामी सक्षम छौं ।

    तपाइँ सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टीको जिल्ला नेता पनि हुनुहुन्छ । संघ र प्रदेशमा तपाईकै पार्टीको सरकार छ । तर, तपाइँको एक्सपोजर कम भयो, तपाइँको सक्रियताले अझै धेरै बिकाश सम्भव हुनेथियो भन्ने गुनासो पनि सुनिन्छ नि ?

    हेर्नुस्, हरेक मानिसको मानवीय स्वभाव फरक हुन्छ । मेरो मनमा अस्पताल विकास बाहेक अरु कुनै स्वार्थ छैन । मैले सक्ने जति सबैतिर पहुँच बढाएको छु । भर्खरै पनि संघीय सरकारकै कारण हामीले हाम्रो अस्थायी संरचना लाई कोभिड विशेष अस्पतालमा कन्भर्ट गर्न सकेका हौँ । हामीलाई स्वाब जाच्ने मेसिन उपलब्ध गराउन बागमती प्रदेश सरकारसंग मैले नै कुरा गरेको हुँ । आइसीयुका लागि माननीय सामाजिक विकाश मन्त्री युवराज दुलाललाई यहीं बोलाएर प्रतिवद्धता प्राप्त भएको हो । भक्तपुर अस्पतालमा आइसीयु आउँन ११६ वर्ष लाग्यो, प्रदेश सरकार र मन्त्री दुलाल प्रति आभारी छौं । जसले काम गर्छ, मानिसले उसैसंग अपेक्षा पनि बढी गर्छ । यसर्थ, मप्रति गुनासो गर्नेप्रति पनि म अन्यथा ठान्दिन । मानिसहरु संग चोचोमोचो मिलाउने मान्छे म होइन । मलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनेर ठूलो मान्छे भएको आभाष फिटिक्कै छैन । म यहींको धुलोमाटोमा खेलेर हुर्किएको हुँ, म अध्यक्ष नरहेपनि अस्पतालको भलो हुने काम गरि नै रहने छु ।

    भक्तपुर अस्पताल भक्तपुर नगरपालिका भित्र रहेको छ । भक्तपुर अस्पतालमा फरक पार्टीको नेतृत्व रहने हुँदा नगरपालिकाले अस्पताललाई सहयोग गर्दैन भन्ने कुराहरु बाहिर सुनिन्छ । तपाइँ नगरको स्थानीय पनि हुनुहुन्छ । यसबारे स्पष्ट पारिदिनुस न ।

    नगरपालिकामा नेमकिपाका उम्मेदवारले जीत हासिल गरेपनि उहाँहरु हामी सबैको जनप्रतिनिधि हो र हुनुपर्छ । म पनि नेकपाको कार्यकर्ता भए पनि अस्पतालको अध्यक्षको रुपमा सबैको साझा हुँ । मैले कार्यकाल सम्हालेको करिब डेढ वर्षको अवधीमा नगरपालिकासंग तीतो सम्बन्ध भएको छैन । अस्पताल व्यवस्थापन समितिमा आमन्त्रित भएर मेयर साब आफैपनि बैठकमा सहभागी हुनुभएको छ भने प्राय: बैठकहरुमा वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व उपस्थित हुनुहुन्छ । उहाँहरु अस्पतालको विकाश गर्नुपर्ने कुरामा हामीसंगै हुनुहुन्छ । रोगले यो पार्टी, त्यो पार्टी भन्दैन । रोग लागेपछि उपचार गर्न काठमाडौं पुग्नुपर्ने बाध्यता हटाउन भक्तपुर अस्पतालको विकाश गर्नुको विकल्प हामीसंग छैन । यसर्थ, राजनीतिक शक्तिलाई प्रतिशोधका लागि नभइ विकाशका लागि प्रयोग गर्नु नै अहिलेको आवस्यकता हो ।

    धेरैजसो सरकारी सस्था भ्रष्टाचारको अखडा हुनेगरेको जनगुनासो रहन्छ । विगतमा भक्तपुर अस्पतालका अनियमितता पनि संचारमाध्यममा खुबै पढ्न पाइन्थ्यो । अस्पताललाई भ्रष्टाचारमुक्त राख्न कस्तो योजना छ ?

    बील काट्ने बेला देखि नै अस्पतालमा अनियमितता हुँदो रहेछ । हामीले बेलाबेलामा छड्के गरी अनियमितता रोकेका छौं । म कमिसनको पछि लाग्ने व्यक्ति होइन, यसर्थ खरीद प्रक्रिया पारदर्शी गराएका छौं र राम्रो औषधी उपकरण लगायत खरिद गर्नुपर्ने कुरामा कुनै कम्प्रमाइज गरिएको छैन । कमिसनको चक्करमा रोकिएको नयाँ भवन निर्माणलाई मैले शुरु गराएको हुँ । आफूले समस्या समाधान गर्न नसके मैले विभागीय मन्त्रीलाई नै बोलाएर पनि भ्रष्टाचार प्रति शुन्य सहनशील रहने दृढताका साथ् गलत मनसायका साथ् गरिएका वा गर्न खोजिएका काम रोक्ने गरेको छु ।भक्तपुर अस्पतालमा कहिकतै अनियमितता भएको थाहाँ पाए कारवाही गर्न हामी प्रतिवद्ध छौं ।यस्तो सूचना भएमा जानकारी गराउन समेत तपाइँको संचार माध्यम मार्फत म समस्त भक्तपुर अस्पतालका शुभचिन्तकहरुलाई अनुरोध गर्दछु ।

    भक्तपुरका हुनेखाने वर्गलाई अझैपनि भक्तपुर अस्पतालले आकर्षित गरेको देखिंदैन । त्यो वर्ग यहाँ सित्तैमा वा सस्तोमा हुने उपचार काठमाडौं पुगेर महँगोमा गर्ने गरेको पाइन्छ । भक्तपुरका हुनेखाने वर्गलाई आकर्षित गर्ने के योजना छ ?
    बिगतमा विविध कारणले भक्तपुर अस्पताल बदनाम रह्यो । भक्तपुर अस्पताल लैजानु भनेको घाटमा लैजानु जस्तो हो भनेर यसको बद्नाम गराइयो । यसर्थ, हुनेखाने वर्ग यस अस्पताल प्रति अझै आश्वस्त हुँन नसकेको हुनसक्छ । अर्कोकुरा यो अस्पताल जेनरल अस्पताल हो, रोग विशेषज्ञका लागि विशेष अस्पतालमा लैजानु अन्यथा होइन तर यहाँ नै उपचार सम्भव हुँदाहुँदै काठमाडौ जानु उहाँहरु र हाम्रा लागि समेत दुखद् अवस्था हो ।

    हुनेखाने वर्गले पैसा धेरै तिरेर पनि सुविधा खोज्ने प्रवित्ति हुन्छ । उदाहरणका लागि ओपन सर्जरीबाट घाउ चिर्दा ठूलो प्वाल पार्नुपर्छ यहीं काम मेसिनबाट गर्दा सानाे प्वाल पार्दा  हुन्छ । उहाँहरु बढी पैसा तिर्न तयार हुनुहुन्छ तर मेसिन बाट उपचार होस् भन्ने चाहनुहुन्छ । हामीले उहाँहरुलाई लक्षित गरी पेइङ्ग क्लिनिक चलाउने योजना बनाएका छाैं । जेनरल ओपिडी सकिएपछिको समयमा पैसा लिएर यस्ता वर्गलाई सुबिधा हुनेगरी उपचार गराउने बारे हामीले योजना बनाएका छौं । कोभिड १९ को कहर सकिएपछि हामी यो सेवा शुरु गर्छौं ।

    अन्तमा, भक्तपुर पोस्ट मार्फत के संदेश दिन चाहनुहुन्छ ?
    भक्तपुर अस्पताललाई नमूना अस्पतालको रुपमा बिकाश गर्ने प्रतिवद्धता सहित यहाँहरु सबैको साथ् र सहयोग रहने विस्वास व्यक्त गर्दछु । वर्तमान समय कोभिड १९ बाट बच्ने र बचाउने समय हो । यसर्थ, स्वास्थ्य सम्बन्धी सावधानी अपनाऔं । यो रोग लाग्ला कि भनेर आत्तिने वा लाग्दैन भनेर मात्तिने होइन । सचेत ढंगले आफ्ना अत्यावस्यक काम गर्दै सुरक्षित रहनु होला । अहिलेको अवस्थामा मन्दिरमा ताला लागेका छन्, अस्पतालहरु मन्दिर र स्वास्थ्यकर्मी भगवान सावित भएका छन् । हामी सबैले यस कुरालाई मनन गरी स्वास्थ्यकर्मीप्रति सम्मान र अस्पताल लाई माया गरौँ । कोभिड १९ रोकथाम र नियन्त्रणका लागि आफूले सकेको सहयोग गरौँ भन्न चाहन्छु ।

     

     

     

     

     

     

     

    प्रतिकृया दिनुहोस्

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...