News Portal

  • उन्मुक्तिले बलात्कारीको मनोबल बढायो

    ६८६ पटक

    सप्तरी, २ असोज । सप्तरी र सिरहामा साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् । सप्तरीमा बलात्कारका घटनाका नौ प्रतिवादीमध्ये चारजना पक्राउ परेका छन् भने पाँचजना फरार छन् । धनुषामा बलात्कारका १० घटनाका १५ प्रतिवादीमध्ये १४ पक्राउ परेका छन् भने एकजना फरार छन् । महोत्तरीमा भएका १२ बलात्कार घटनाका १४ प्रतिवादीमध्ये ६ जना पक्राउ परेका छन् भने आठजना फरार छन् । सर्लाहीमा बलात्कारका आठ घटनाका १० प्रतिवादीमध्ये सातजना पक्राउ परेका छन् भने तीनजना फरार छन् । रौतहटमा आठवटा बलात्कार घटनाका १० प्रतिवादीमध्ये पाँचजना पक्राउ परेका छन् भने पाँचजना फरार छन् । बारामा ६ वटा बलात्कार घटनाका ६ प्रतिवादीमध्ये दुईजना पक्राउ परेका छन् भने चार फरार छन् । पर्सामा सातवटा बलात्कार घटनाका सात प्रतिवादीमध्ये पाँचजना पक्राउ परेका छन् भने दुई फरार छन् ।

    प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्ष २०७७–७८ मा यस प्रदेशमा साउनमा ३९ र भदौमा ३१ वटा बलात्कार घटना दर्ता भएको छ । ‘बेटी पढाओ, बेटी बचाओ’ नारा बोकेको यस प्रदेशमा बलात्कारको त्रिवर्षीय तथ्यांकले बेटी (छोरी) कतिसम्म असुरक्षित छन् भने दर्साउँछ । तथ्यांकअनुसार विगत वर्षहरूको तुलनामा यस वर्ष बलात्कार घटना ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७४–७५ मा १ सय ७० वटा बलात्कार घटना दर्ता भएकोमा २०७५–७६ मा २ सय ९६ घटना दर्ता भए । आर्थिक वर्ष २०७६–७७ मा २ सय ९२ वटा बलात्कार घटना भएकोमा चालु आर्थिक वर्षको दुई महिनामै ७० वटा घटना दर्ता भइसकेका छन् ।

    दोषीले विभिन्न बहानामा उन्मुक्ति पाउँदा सर्वत्र बलात्कार घटना बढिरहेका छन् । अधिकांश घटना बेइज्जत हुने डरले सार्वजनिक नै हुँदैनन् । भएकालाई पनि परिवार र गाउँका पञ्चभलाद्मीले मिलापत्रका नाउँमा टुंग्याइदिन्छन् । केही प्रहरीमा पुग्छन् । प्रहरीले दर्ता लिएका घटनाका पनि थोरै प्रतिवादी मात्र पक्राउ पर्छन् । पक्रिएका पनि प्रमाण अपुग भन्दै चाँडै छाडिन्छन्, महिला अधिकारकर्मी श्यामकुमारी साहले भनिन् । पीडितलाई न्यायको सट्टा आहत बनाउने यस्तै सामाजिक र कानुनी रवैयाले दिनहुँ बलात्कार घटना बढिरहेको उनको भनाइ छ । सिरहाका एसपी उमाशंकर पन्जियारका अनुसार बलात्कार घटनाको जानकारी ढिलो आउने भएकाले केही केसमा तत्काल अभियुक्त पक्राउ गर्न नसकिएको हुन सक्छ ।’ प्रहरीमा खबर आइपुग्दासम्म अभियुक्त भागिसकेका हुन्छन्,’ उनले भने, ‘तत्काल जानकारी आएको घटनाका प्रदिवादी पक्राउ गर्न प्रहरी सफल भएका छन् ।’ ‘तराई–मधेसको समाजमा महिला सुरक्षाको सवाल चुनौतीपूर्ण बन्दैछ,’ प्राध्यापक चक्रपाणि दाहालले भने, ‘महिला सुरक्षामा यौनिकता गम्भीर समस्या बनेको छ ।’ विकृत मानसिकताका कारण उमेर हदलाई पनि पार गरेर बलात्कारमा उद्यत हुनु डरलाग्दो अवस्था देखा परेको बताउँछन् ।’ पीडकले राजनीतिक र प्रशासनिक संरक्षण पाइरहँदासम्म पीडितका लागि निसाफ सहज नहुने उनको बुझाइ छ । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...