News Portal

  • नयाँ यात्रा

    प्रभात चलाउने
    १२६ पटक

    “बाइ ! नभुल्न नि । सम्झनु म पनि सँगै छु !” उसले बाेलेका यति शब्द मात्र सुन्न पाए मैले । गाडी अगाडि बढिहाल्याे । उसले मेराे यात्राको कामना गर्दै थानकोट नाकामा उदास मुहारका साथ त्यति मात्र भन्याे । बाँकी त उसको मुहारले नै बताइरहेकाे थियाे । उसकाे अनुहारले प्रष्टै बताइरहेको थियाे कि ऊ निकै दोधारमा छ ।

    नागढुङ्गाबाट बस ओरालो लाग्दै गर्दा म उसका मलिन अनुहारभित्रका भावभङ्गी र उसका जीवनका अन्यौलताहरुमाथि घोत्लिए । ऊ मात्र होइन, यो समयमा अत्यन्तै क्रियाशील हुनुपर्ने अथाहा जोश, जाँगर र साहसले भरिपूर्ण होनहार परिवर्तनकामी धेरै युवाहरु यसरी नै अन्यौलमा परेका छन् । तर, खै थाहा छैन किन यो भइरहेछ ? मनमा प्रश्न जन्मिरहेछ ।

    क्याम्पस जीवनको मात्र होइन, आन्दोलनका राता ताता मौसमको पनि सहपाठी मित्र सुवोध यसपटकको यो यात्रा र निचोडप्रति भने कति पनि खुस छैन । अरुबेला निकै जोश जाँगरका साथ मेरा निष्कर्षमा सहमति जनाउने र फरक विश्लेषण थप्ने ऊ यतिबेला किन बेखुस छ ? म सोचिरहेको छु ।  आजभोलि उसमा निकै परिवर्तन आएको छ । जीवनमा सुन्दर खुड्किलाहरु थप्नका लागि आर्थिक कार्य सबैभन्दा महत्वपूर्ण हो भन्ने उसको ठम्याइ छ । उसको विचारमा राजनीति समय खेर फाल्ने कार्य हो ।

    “आखिर आर्थिक आधार तयार गर्ने राजनीतिले नै हो । आर्थिक कार्यका लागि विभिन्न मापदण्डहरु तयार गर्न होस् वा राज्यका समग्र संरचनाहरुलाई हिँडाउने भूमिका खेल्ने राजनीतिले हो ।” –म उसलाई भन्दछु ।

    तर, उसलाई राजनीतिका लम्बा चौडा बात मन पर्दैन । सुन्दा राम्रै लागे पनि व्यवहारिक जीवनमा राजनीतिले धेरै अप्ठेराहरु पैदा गरिरहेकाले होला ऊ अचेल राजनीतिक यात्राप्रति निकै गुनासो गर्न थालेको छ ।

    खै मलाई थाहा छैन किन ऊ यसो भनिरहेको छ । ऊ भन्दछ– “आर्थिक जीवन नै सबैभन्दा उत्कृष्ट र सफल जीवन हो ।”

    असन्तुष्टिलाई स्पष्ट पार्न मैले निकै रात खर्चेको छु ऊसँग । मानव समाजको इतिहास र आजका जीवनहरुले लड्नु परिराखेका लडाइँका बाध्यता र आवश्यकताबारे पनि मैले उसलाई धेरै विश्लेषण गरेको छु ।

    उसलाई सङ्घर्षमा रमाउन भन्दछु म । ऊ भने अब आर्थिक अभियानतिर लागौं भन्छ । ऊ हिजोआज सङ्घर्षदेखि डराउँछ जस्तो लाग्छ मलाई । त्यसैले मैले उसलाई आफूसँग सहमत गराउन सकेको छैन । उसको यस प्रकारको परिवर्तनले आश्चर्यमा परेको छु म । किन यति छिट्टै उसमा यस्तो बदलाव आयो ? बुझ्न सकेको छैन । अन्तिम उद्देश्य पूरा गर्न झन् बढी क्रियाशील हुनुपर्ने यो मौसममा आएर उसको बहिर्गमन किन भइरहेछ ? किन जीवनमा सम्झौता मात्र देखिरहेछ उसले ? के आन्दोलन पूरै समन्वयमा अगाडि बढ्नुपर्छ भन्ने सोचेको हो उसले ? बुझ्न सकेको छैन मैले ।

    कुनै समय ऊ जीवनका खुड्किलाहरु अविराम कुदिरहनुपर्छ भन्थ्यो । कहिल्यै कतै पनि सम्झौता र समन्वयमा अल्मलिनुहुन्न भनेर निर्धक्क भन्दथ्यो ।  खैर केही छैन । हरेक व्यक्तिका आ–आफ्ना बुझाइ, मान्यता र संश्लेषणहरु हुन्छन् । आफ्नो खोपडीले भ्याएको सोच्नु र त्यही सोचाइमा अगाडि बढ्न पाउनु उसको स्वतन्त्रताको कुरा पनि त हो ।

    बस नारायणी नदी किनार हुँदै हुइकिरहेको थियो । बाहिर अन्धकार थियो । रात्रीबसका यात्रीहरु सबै निद्रामा डुबिसकेका थिए । तर, मेरा मनमा भने कुरा खेलिरहेका थिए । अघिदेखि सोचिरहेको कुरालाई थन्क्याउने सोचे मैले । तर, कहाँ मान्थ्यो मन । अनेक तर्क बितर्क एकपछि अर्को आउन थाले ।

    सम्झौताले जीवनभर जनताको आन्दोलन विरुद्ध विषवमन गरिरहेका र जनताको रगत पसिनामाथि राज गरिरहेका मृत्युउन्मुख शक्तिहरुलाई चोख्याउँद्छ । त्यसको स्पष्ट अर्थ जो जीवनभर जनता विरुद्ध षड्यन्त्र, जालझेल गरिरहे उनीहरुको अस्तित्व स्वीकार्नु हो । त्यसले त जनताकै अपमान गर्छ । त्यसैले मैले सम्झौता र समन्वयलाई मुर्दावाद भने ।

    र, मैले जीवनलाई नयाँ चुनौतीहरुसँग जुधाउँदै समाजको रुप परिवर्तन गर्ने अभिष्ट बोकी नयाँ यात्रामा निस्कने निचोड निकाले । मैले नयाँ दासता स्वीकार्न सकिन, मैले जीवनभर चिप्ला कुरा गर्न जानिन र कसैलाई चिप्लो घसिन पनि । न त आँखा चिम्लेर ठूलाहरुको प्रसंसा नै गरे । दैलो चहारी चहारी उनीहरुका इच्छा चाहना छाप्ने कोशिस पनि गरिन । बरु, यात्राका अप्ठेरा गोरेटाहरुमा अस्वभाविक ढङ्गले एक सय असी डिग्रीको फन्का मारेर बाटो फेर्नेहरुमाथि कडा प्रहार मात्र गरे ।

    सम्झौताले गतिमा अवरुद्धता ल्याउँछ भन्ने मेरो ठम्याई छ । जब जीवनको गति अवरुद्ध हुन्छ, मलाई त्यो मृत्यु जस्तै लाग्छ अर्थात मृत्यु उन्मुख यात्रा । वर्गशत्रुहरुलाई काखमा लुटपुट्याएर, राष्ट्रघाती, जनघाती अनुहारहरुलाई साथमा राखेर अघि बढ्दा जीवन भत्काएर आन्दोलन पकडेका लाखौ जनताको सपना पूरा हुन्छ भन्ने कहिल्यै लागेन । आँधी, तुफान, हुरी, बतास, साउने भेल, आगो र बारुदसँग खेलिरहेका लाखौ मुक्ति योद्धा र उत्पीडित जनताको तागत भन्दा अरुको गुनगान गाउन र जी हजुरी गर्न मात्र जन्मेका हुन कि झै गर्ने चिल्ला महलमा बस्ने जादुवालाहरुको तागत बढी शक्तिशाली देखिन थालिएपछि मैले मेरो सपना हराएको अनुभूति गरे र मेरो यो यात्रा तय भयो ।

    मैले सुबोधलाई अन्तिम समय यही भनेको थिए ।  मेरो निचोड सुनेपछि साथित्व राख्न मन अलिनो पार्दै ऊ आएको थियो थानकोटसम्म । मैले उसको अनुहार हेरे । ऊ अब ‘चिप्लो’मात्र बिक्ने राजधानी खाल्डोबाट कहिल्यै निस्कन नसक्ने गरी फसिसकेको अनुभूति भयो ।

    कलंकीबाट हर्न बजाउँदै बस पश्चिम मोडिएपछि मित्र सुबोधलाई भनें– “हजारौ वर्षदेखि जमेका बरफका डल्लाहरु फुटाउन त्यतिकै सकिदैन । कसैका पवित्र मनोकांक्षाहरुले मात्र ठूला जरा गाडेर जमेका पोखरी र जबरजस्त पारिएका गाँठाहरु त्यतिकै फुक्दैनन् । एउटा ठूलो ताप पैदा गर्न जरुरी हुन्छ । एउटा ठूलो साहस र सङ्कल्पको जरुरत हुन्छ । मेरो भनाइ तिमीलाई यति मात्र छ कि जमेको पोखरीमा घालमिल भएर तिमी आफै कतै जमौला । त्यसबाट बच्नु ।”

    नाजवाफ थियो ऊ । खिन्न थियो । बसको झ्यालबाट बाहिर हेर्दै थियो ऊ । उसले हेरेतिर इट्टाका भट्टीबाट धुवाँको मुस्लो आकाशतिर फैलिरहेको देखियो । नजिकै रोड साइडमा गिटी उत्पादन गर्ने कारखानाहरुको कोलाहल पनि त्यतिकै थियो । अलिमाथितिर देखिने हरिया जङ्गलहरुको भावशुन्यता, यता मित्र सुवोधको मौनता र क्षितिजमा रातै भएर निशा बोलाइरहेका प्रकाशका किरणहरुले यात्राको खल्लोपना दर्साइरहेको थियो । तर, त्यसलाई भरिलो बनाउन म सुबोधलाई कुराकानीमा फेरि जवरजस्त लतार्न थाले ।

    घडीले सात बजेको सङ्केत ग¥यो । चेकिङ्का लागि रोकिएको राजधानी एक्सप्रेसको हर्न बज्यो । मैले झ्यालबाट उसलाई हात हल्लाए ।

    अन्तिममा उसले भन्यो– “तर… मेरो मन तिमीसँगै छ । मलाई पनि थाहा छ एक न एक दिन पुग्नैपर्छ तिम्रो निष्कर्षमा । तर… । तर…. ।” ऊ अड्कियो । मैले उसको तर… पछिका शब्दहरु बुझे र “वाई ।” भने । उसले पनि हात हल्लायो ।

    लामोसमयको अन्योलग्रस्त चक्र तोड्दै राजधानी एक्सप्रेससँगै छाड्दै थिए म सबैप्रकारका फोहोर थुप्रिएको राजधानी । जति फन्का लगाए पनि नटुङ्गिने रत्नपार्कको चक्करबाट मुक्त भएकोमा मन निकै प्रफुल्लित थियो ।

    बस ७०–८०को सेरोफेरोका कुदिरहेको थियो । रात गहिराईमा डुब्दै थियो । बेला बेलामा आउने मोड र बाटोका जोल्टिङहरुले बस असन्तुलित बन्थ्यो र झस्किन्थे म । बसका सबै यात्रुहरु आ–आफ्ना सिटमा निदाइरहेका थिए । म भने नयाँ यात्राका अनेक घुम्ती, मोड, बाधा, व्यवधान र चुनौतीका चट्टानहरुबारे सोचिरहेको थिए । बसमा ड्राइभरले आफ्नो निद्रा भगाउन गीत बजाइरहेको थियो ।

    सल्लीबजार अर्थात बसको अन्तिम गन्तव्यमा पुगेपछि बस रोकियो । मैले लुगाको धुलो झारे, रातभरि सिटमा बस्दा खुम्चिएका र बेरिएका लुगाहरु मिलाउँदै म ओर्लिए ।

    त्यहाँबाट अलिबेर हिँडेपछि यात्राको मात्र होइन, जीवनकै उकालो सुरु भयो । उकालोको मुखमै गाउँ भन्न नमिल्ने केही घरहरु थियो । दुई चार वटा पसल, साना साना खेतका डुबिल्काहरुमा लोभलाग्दो गरी फलेका काउलीका डल्ला र रातै भएर फलेका टमाटरहरु अनि नजिकै दुई चारवटा भैसी र गाई बाँधेकाले त्यसले गाउँको झल्को दिन्थ्यो । तर, त्यसबाहेक नजिक अरु कुनै घर नभएकोले त्यो गाउँ पनि थिएन ।

    उकालोको थकाइ मेटाउन चौतारोमा उम्राइएको पिपलको रुख मुनि बसे म । निधारको पसिना पुछ्दै मैले नियाले ती घरहरुतिर । पसलमा ऊनका झोला बोकेका दुई जना परिचित अनुहारहरु देखिए । उनीहरु दोकानभित्र कुराकानी गर्दै थिए । बेला बेलामा यता उता फर्किएर कुरा गर्दै गर्दा मैले ठम्याए उनीहरुलाई ।

    अहो ! रजग र उषा पो रहेछन् । सायद उनीहरु पनि कतै टाढैबाट आउँदै थिए ।

    चौतारीबाटै मैले नामै किटेर बोलाए । त्यो ठाउँमा नामै बोलाएपछि उनीहरु झस्किए एकछिन । बाहिर हेरे । अनि मलाई देखेपछि खुसीले उफ्रदै आइपुगे उनीहरु चौतारातिरै ।

    केही दिन अघि मात्र मैले उनी दुबैलाई राजधानीमै भेटेको थिए । कुनै कार्यक्रममा सहभागी हुन उनीहरु आएका थिए उनीहरु ।

    एक्कासी मलाई भेटेपछि उनीहरु खुसी भए । रजगको प्रस्तुतीले मेरो उपस्थिति नपत्याइदो लागेको ठाने उनीहरुलाई ।

    सामान्य मोलाकात पछि हामी त्यहाँबाट अघि बढ्यौ ।

    “जिन्दगी एउटा ठूलो उकालो हो । सगरमाथाको चुचुरो जस्तै ।” टोपी खस्लाजस्तो उकालो तर्फ हेर्दै रजगले भन्यो– “साँच्ची उकालोबाट चिप्लीसकेपछि चढ्न निकै गाह्रो पो हुँदोरहेछ ।”   “ल ल तिम्रो दर्शन फेरि फुर्न थाल्यो” –मैले उसमाथि प्रतिक्रिया जनाए ।

    नफुरोस् पनि किन उसको दर्शन । निकै लामो समयपछि यति लामो र ठाडो उकालो काट्दै थियौ हामी ।

    अगाडि उभिएको अग्लो डाँडोको टुप्पो हेर्दै के त्यहाँ पुग्न सकिएला र ? भन्दै आफैभित्र प्रश्न गरिरहेका र उक्लन नमानेका पाइलाहरु लतार्दै गर्दा मैले उससँग काठमाडौंको रत्नपार्कमा भेट्दा गरेको संवाद सम्झे । त्यसबेला पनि उसले सगरमाथाकै कुरा गरेको थियो । अहिले पनि ऊ सगरमाथाकै कुरा गरिरहेको छ– जीवनको सगरमाथाको । मनभित्रको सगरमाथा सायद खराब मौसमका कारण होला धुमिल भएकोले उसभित्र अनेक तरङ्गहरु पैदा भएका छन् ।

    ऊ कहिले त्यसको उचाइमाथि शङ्का व्यक्त गरिरहेको छ । कहिले त्यसको दीर्घकालीन अस्तित्वमाथि प्रश्न तेर्साइरहेको छ । कहिले त्यसको अन्तर्यमा रहेको सारवस्तुमाथि असहमति जनाइरहेको छ ।  म फेरि राजधानीको उसँगको भेटतिरै फर्किए ।

    आफ्नो आदर्शले रत्नपार्क वरिपरि गोलचक्र मारेका कारण अभिशप्त भएका बेला त्यसभेटमा रजगले मलाइ भनेको थियो– “के सगरमाथा चढ्न सुरु गर्नेबेला तिमीले अरुलाई सुनाएका प्रतिवद्धता र गरेका वाचाहरु सम्झेका छौं ? अनि तिमीलाई ती प्रतिवद्धता र वाचाबाट चिप्लीएजस्तो कति पनि लागेको छैन?” एउटा जवरजस्त प्रश्न थियो उसको ।

    “रजग ! वास्तविक जीवनमा एउटा मात्र होइन, जिन्दगीका हजारौं सगरमाथा चढिन्छ । अनेकौं प्रयासपछि मात्र एक पटक सफल भइन्छ । एक्कैचोटी र ठक्कर नै नखाइ सगरमाथा चढ्छु भन्ने आदर्श नराख तिमी ।” मैले उसलाई भनेको थिए त्यसबेला ।

    “ल ठीक छ, तर, म त्यो चुचुरो पुग्ने छनक देखिरहेको छैन । त्यसैले म भनिरहेको छु । के तिमीलाई लाग्दैन, एक पटक छर्लङ्ग भइसकेका प्रतिवद्धताहरु फेरि फेरि दोहो¥याउँदा तिनले सजिलै विश्वास हासिल गर्न सक्दैनन् भन्ने । फेरि त्यति नै जोस पनि त कहाँ आउँछ र ? त्यतिबेलासम्म तिम्रो आफ्नो धार पनि त भुत्ते भइसक्छ ।” ऊ मेरो प्रतिउत्तरमा कति पनि सन्तुष्ट देखिएन ।  सायद एक महिना पुग्यो होला हाम्रो यो संवाद भएको ।

    ‘अब हामीले केही गर्नैपर्छ’ –कुराकानीका क्रममा हामीले भनेका थियौं– ‘वास्तविक जीवनको खोजि समकालीन परिवेशको रमिता हेरेर, द्रष्टा भएर हुन सक्दैन । न त हजारौको बलिदानको सार्थकता नै । अरुले देखाएको गाइजात्रा टुलुटुलु हेर्ने रमिते मात्रै बन्यौ भने त्यसको प्रहार हामी सबैमाथि हुनेछ ।’

    म त्यो भेटपछि निकै घोत्लिएको थिए, आफूमाथि र आफू हिडिरहेको यात्रामाथि । त्यसपछि म निस्केको थिए पश्चिमाकाशमा रातै भएर फूलेको फूल टिप्न । उकालोको मध्यान्हमा पुगेपछि मैले रजगलाई फेरि सम्झाए हाम्रो त्यही छलफलबारे । खै किन उसले मेरो कुरामा ध्यान दिएन । सायद ऊ भुलेको थियो अर्कै कथातिर ।

    उकालोको मध्यान्ह पछि त उसले कुनै नयाँ गफ नै तानेन । नत हाम्रो कुरातर्फ नै चासो राख्यो । खै के सोच्दैथियो ऊ । एक्लै सानो स्वरमा गुनगुनाइरहेको थियो ।

    त्यसपछिको बाँकी उकालोभर म उषासँग कुरा गर्न थाले । कुराकानीका क्रममा हाम्रो यात्राका विविध मोडहरुबारे चर्चा ग¥यौ । रजग हाम्रो कुरा तर्फ कुनै ध्यान दिइरहेको थिएन ।

    हिँड्दा हिँड्दा निकै थाकियो । डाँडामाथि उक्लेपछि उषा, रजग र म थकाई मार्न बस्यौं ।  हाम्रो अगाडि सिस्ने हिमाल ठिङ्ग उभिएको थियो । अलि पर रमका हिमाल, यता धौलागिरी पर्वत श्रृङ्खलाको फैलावट । पर क्षितिजमा सेतै फुलेका हिमाल र त्यसमुन्तिर हरियालीले ढाकेका पहाडका अग्लाअग्ला चुचुराहरु । अहो ! कति सुन्दर, निष्कट विशाल छ । तर, हामीले विशाल हृदय फैलाएर बसेको त्यो सिस्नेको चुचुरोमाथि अझै रातो झण्डा गाड्न सकेका छैनौ । अनि आन्दोलनलाई ती दृष्यजस्तै हराभरा बनाउन सकेका छैनौं । तिनै दृष्यहरुमा म विगतका स्मृतिहरु खोज्न थाले ।

    “त्यसको मुन्तिर हैन र थवाङ ।” –टाढा क्षितिजमा आफ्नो स्पष्ट पहिचान देखाएर उभिएका हिमाल र हाम्रो आस्थाको प्यारो गाउँ देखाउदै उषाले मलाई भनिन– “थवाङ फेरि थवाङ कहिले बन्ला ?”  गहकिलो थियो प्रश्न । लामो समयदेखि मनमा खट्किरहेको प्रश्न । मैले उनको त्यो जिज्ञाशाको उत्तर दिन चाहिन ।

    “वसन्त सुरु भयो ।” –रजगले एक्कासी हाम्रो कुराकानीलाई तोड्यो ।

    ‘यो वसन्त हो र ?’ –उषाले भनिन– “कसरी अहिले वसन्त हुनसक्छ ।”

    ‘हो, यो वसन्त ऋतु हो । के यसमा शंका छ ?’ उसले आफ्नो दृढता प्रस्तुत ग¥यो ।

    “तर, अझै फागुनको अन्त्य भएको छैन नि कसरी वसन्त ।” –अर्को प्रश्न उसमाथि । ऊ के भनिरहेको छ त्यो मैले थाहा पाइन ।

    तर, यसपाली वसन्त ऋतु छिट्टै सुरु भएको मित्र रजगको भनाइ छ ।

    ऊ बेला बेलामा निकै गहकिला भावहरु व्यक्त गरिरहन्छ, जसलाई बुझ्न निकै घोत्लिनु पर्छ । केलाउनुपर्छ वरपरको परिस्थिति र घटनाक्रम । अनि उसको अनुहारको भाव पढेर अनुमान लगाउनु पर्छ– सायद यही होला भनेर ।

    रजगको आरोप र आशङ्कामा निकै बल छ । त्यसैले म उसलाई निकै मान्दछु पनि । उसको तर्कमा देखिने जवरजस्त बलले हामीलाई निकै प्रभावित पारेको छ । समय र परिस्थितिले पैदा गरेका अन्यौलता र आशङ्काहरुलाई मेटाउने अरु तर्क पनि कुनै छैनन् हामीसँग । त्यसैले उसका जबरजस्त तर्कहरु स्वीकार्नुको कुनै विकल्प थिएन ।

    “के तिमीलाई गाउँको माया छ ?” एक महिना अघि उसले मलाई एकाएक प्रश्न गरेको थियो ।

    “तिमी कहिलेकाही अलि बढी बात गर्छौ रजग ।” मैले भनेको थिए– “आफ्नो गाउँको माया कसलाई हुँदैन ।”

    तर, मेरो जवाफले सायद नपुगेको हुनुपर्छ । त्यसैले उसले फेरि भन्यो– “यदि तिमी साँच्चि नै गाउँको माया गर्छौ भने हिँड आन्दोलनको जवानी कालमा तिमीले नै दिएका भाषणका प्रतिक्रिया सुन्न ।” निकै चुनौती पो थपेको थियो उसले ।

    “गाउँको माया मात्र होइन, गाउँको अस्तित्व जोगाउने जिम्मा पनि हाम्रो हो ।” –मैले उसको मनोवल उचाल्न भनेको थिए– ‘हामीले हाम्रो गाउँलाई इतिहासमा खोज्नुपर्ने गरी थन्क्याइएको दृष्य देखाउन कदापी दिनुहुन्न ।’

    त्यसपछि सुरु भएको थियो हाम्रो यो यात्रा । सङ्कल्प पूरा नभएपछि पैदा भएका निरासा र हृदयभित्र बिझेका गृहक्षेत्रका चोटहरु नजिकबाट नियाल्न हाम्रो यात्रा तय भएको थियो ।

    “के तिमीहरु सपना देख्छौं ?” –उसले फेरि प्रश्न ग¥यो ।

    “सपना नभएको मान्छे कोही हुन्छ ?” –रजगको प्रश्नमाथि उषाले प्रतिक्रिया जनाइन ।

    “तर, कहिल्यै पूरा हुन नसक्ने सपना चाही नदेख ।” ऊ फेरि तर्क गर्न थाल्यो– “त्यसका लागि त आँट चाहिन्छ, साहस चाहिन्छ, सबभन्दा ठूलो सङ्कल्प चाहिन्छ आफ्नो सपना पूरा गरेरै छाड्ने ।  तर, यहाँ ती सबै हराएका छन् अहिले ।”

    “होइन, होइन …।” उषाको वाक्य पूरा नहुँदै ऊ फेरि थप्न थाल्यो ।

    “कारणहरु तेर्साएर आफ्नो कमजोरी लुकाउन खोज्ने प्रयास गर्नु त । यो त झन् ठूलो वहिर्गमन हो भन्ने मेरो ठम्याइ छ ।” उनीहरु दुई जना आ–आफ्ना तर्क अघि सार्न थाले ।

    म भने आफ्नो गाउँको सेरोफेरो पहिल्याउन थाले ।

    गाउँको माथि ठिङ्ग उभिएको रमका हिमाल र  त्यसलाई पछ्याउँदै गरेको भञ्ज्याङ्डाँडा । अहो ! कति रमणीय दृष्य । उनीहरु आआफ्ना तर्क पुष्टि गर्न लाग्दै गर्दा म उता हानिए ।

    “जीवनका प्रारम्भिक क्षणहरुमा मलाई राजनीति पटक्कै मन पर्थेन । तर, अब हामी सायद यसभन्दा अलग जीवन बिताउन सक्दैनौं ।” –किन एक्कासी ऊ आफ्नो विगत फर्कियो । सायद ऊ जीवनको उर्वर कालमा आफूले गरेको निर्णय र त्यसले ल्याइ पु¥याएको वर्तमानबारे मनभित्र समीक्षा गरिरहेको होला । मैले यस्तै सोचे । किनकि ऊ बेला बेला एक्कासी यस्तै वाक्यहरु फुस्काउँछ । रजगले यसो भनिरहँदा मलाई अन्यौलता सिर्जना गर्ने र आन्दोलनको गतिलाई जबरजस्त आफ्नो स्वार्थ पूरा गर्न रोक्न खोज्ने निर्णायकहरुप्रति आवेग पैदा हुन्छ ।

    “होइन राजनीति विनाको के कुनै जीवन हुन सक्छ र ।” –म रजगतिरै जोडिए– “जन्मदेखि मृत्युसम्म सबैको जीवनमा राजनीति भइरहेको हुन्छ । मात्र त्यसका रुपहरु फरक–फरक होलान । वास्तवमा राजनीति जीवन जिउने कला हो । जिउने क्रममा कसैले जीवनका बृहत परिभाषा खोज्दछ । कसैले जीवनलाई सङ्घर्ष सम्झन्छ त कसैले जीवनलाई सम्झौता अर्थात दास । कसैले जीवनलाई गतिशील बनाउँछ त कसैले जीवनलाई भद्दा भार बनाउँछ । तर, पनि सबैले जीवनले जिउने क्रममा राजनीति गर्दछन् अर्थात एउटा न एउटा कला प्रयोग गर्दछन् हैन र ?”

    तर, ऊ बोलेन । सायद उसमाथि धेरै बहस गर्न मन थिएन । उषाले भने मेरो कुरामा सहमति जनाइन– “हो राजनीति शब्द नभन्नु अलग कुरा हो । हरेक व्यक्तिमा राजनीतिक चरित्र हुन्छ । उसको जीवन व्यवहारमा त्यो लागु भइरहेको हुन्छ । तर, वर्तमानमा राजनीति भनेर मान्छेले ठ्याक्क जे बुझ्छ, त्यसप्रति मेरो पनि निकै असहमति छ ।”

    अझ अगाडिको बाटोमा हाम्रो बहस झन्–झन् तातिदै गयो । जीवनको लम्वाक्रम हाम्रो बहसको विषय थिएन । आन्दोलनका बारेमा समयक्रमले सिर्जना गरेका भ्रमहरु र तिनका समाधान कसरी हुन सक्छन् भन्ने आ–आफ्नै तर्क ग¥यौ हामीले ।

    रजग भन्दथ्यो– “फेरि जलजलाको काखमा नपुग्नुको विकल्प छैन ।”

    उषा रजगको निचोडमा अलि हतारोपना देख्दथिन, तै पनि उनी असहमत भने थिइनन् त्यसमा ।

    रजग भन्दथ्यो– “जुन उद्देश्यका साथ जीवनका अत्यन्तै मुल्यवान समय खर्च गरे, यदि त्यो यात्रा झन अन्धकार दलदलमा फस्दछ भने के हामी चुप बसिरहु । के देख्दा देख्दै अन्धकार दलदलमा फस्न थालेको आफ्नो यात्रामाथि कुनै प्रतिक्रिया नजनाउ । अनि नथालौं त्यसलाई बचाउने अर्को प्रयत्न ।”

    अलिपर पुगेपछि मैले मेरो आफ्नो बुझाईको विश्लेषण गरे अनि मेरो निचोड पनि सुनाए– “शिखर चुम्न तम्सिएका कदमहरुलाई बीच बाटोमै रोक्न खोज्नु शिखर चुम्ने उद्देश्यमाथिको अन्याय हो । त्यसैले हामीले अगाडि बढ्ने आँट गर्नैपर्छ । हो धेरै चुनौतीहरु छन् अगाडिको बाटोमा । चुनौती  यथास्थितिमा उभिएर नाप्ने हो भने झन् धेरै र कहिल्यै पार गर्न नसकिने देखिन्छ । विविध परिवन्धमा फसेर जब हामी अगाडि बढ्ने आँट गर्दैनौ, तब ती चुनौतीका पहाड झन् झन् अप्ठेरा लाग्दै जान्छन् । अन्ततः शिखर चुम्ने चाहनाकै मृत्यु हुन्छ । तर, जब हामी हाम फाल्छौं उद्देश्यमा, तब आइपर्ने सबै समस्याहरु समाधान हुँदै जान्छन् । चुनौतीसँग जुध्ने साहस गर्दै नगरी तिनका समाधान खोज्न नै सकिदैन । त्यसैले हामीले नयाँ यात्रा सुरु गर्नैपर्छ । त्यही निचोडका साथ मैले यो यात्रा तय गरेको हुँ ।”

    मेरो कुरा सुनेपछि रजग निकै खुसी भयो ।

    ऊ भन्न थाल्यो– हो तिमीले ठीक भन्यौं खाल्डोभित्रबाट सगरमाथा चढ्दा आइपर्ने समस्याहरु के के हुन भनेर नाप्न थालेर, त्यसको विश्लेषण गरेर कहिल्यै सगरमाथा पुगिदैन । यदि नार्गेहरुले सगरमाथा चढ्दैनथे भने, उनीहरुले त्यो गोरेटोको सुत्रधार कोर्दैनथे भने कसले पो त्यसको बारेमा थाहा पाउने थियो र ? फेरि नार्गेले सगरमाथामा पाइला टेक्दा र अहिले लाक्पाहरुले पाइला टेक्दा सामना गर्नुपर्ने चुनौतीहरुमा पनि आकाश पातालको फरक आएको छ । त्यसैले जब हामी हाम फाल्छौ, तब समस्या जन्मन्छन् अनि तिनका प्रकृतिले समाधान पनि त्यही पत्ता लाग्छ । हो हामीले साहस गर्नै पर्दछ किनकि यो बाटो हाम्रो हो । अरु कसैले पूरा गरिदिँदैन । हामीले हाम्रो अस्तित्व र हामीले हाम्रो अभिष्टका लागि कुनै पनि हालतमा शिखर चुम्नै पर्दछ ।”

    बाटोमा भेटिने आत्मीय मनहरुले औपचारिकता पूरा गरेपछि हल्का मुस्कानका साथ हानेका छेडहरुले मन झनै ग्रह्रौ भइरहेको थियो ।

    “खै तिमीहरु पनि सहरमै हरायौं नि ?” प्रियजनहरुबाट यस्तै गतिला वान तथा व्यङ्ग्य प्रहार भइरहेका थिए ।

    “जनताले के भन्ने कसरी उत्तर दिने तिमीहरु कहाँ छौं भनेर ?” –बरबोटमा थकाइ मार्दा भेटिएका पसले दाईले भने । बाटो भर हामी तर्फ यस्तै यस्तै धेरै प्रश्नहरु तेर्सिरहे । जनताका प्रश्नहरुले घेरिदै घेरिदै हामी अगाडि बढ्यौं ।

    “मान्छेहरु ढुंगामा परिणत भए” –बाटोमा हिड्दै गर्दा भारीसँगै भेटिनु भएका एकजना बृद्ध बाले भन्नुभयो– “वावु अब उनीहरुका कुरा नगर ।”

    भलाकुसारी गर्दै गर्दा हामीलाई थाहो भयो उनी सहिदका वुवा हुनुहुदो रहेछ । आन्दोलनका क्रममा उहाँको छोराले युद्धमोर्चामा लड्दा लड्दै सहादत प्राप्त गर्नुभएको थियो ।

    “वावु यो माथि भन्ने जातले किन यसरी जात फेर्छ सजिलै ?” उहाँले हामीलाई प्रश्न तेर्साउनुभयो ।

    “त्यस्तै परिवन्धमा परेर होला बुवा” –मैले भने ।

    त्यतै टाँसिरहेपछि त त्यति मात्र होइन त्यस्ता परिवन्ध त झन् बढिरहन्छन् बाबु । अनि परिवन्धमा प¥यौ भनेर भन्न पाइन्छ । त्यस्ता जालमा पर्न किन जानुप¥यो ? त्यसैले उनीहरुका कुरा नगर, अब उनीहरुका विचारको पनि कुरा नगर ।” –वुवाले निराशा र आक्रोश मिश्रित गुनासो पोख्नुभयो ।

    “होइन वुवा रुपमा त्यस्तो देखिए पनि सारमा …” रजगले उत्तर दिन खोज्यो । तर, उसको यो स्पष्टिकरणलाई रोक्दै बुवाले आक्रोशित मुद्रामा भन्नुभयो– “म यस्ता नाटक सुन्न चाहन्न । धेरै कुरा भएका थिए र धेरै कुरा ग¥यौं पनि । कुरा सबै बुझियो । नेपाली जनताले धेरै लामो समयदेखि यस्ता नाटक हेर्दै आएका छन् । अब धेरै नाटकहरुको रचना गरेर कोही बच्न सक्दैन । त्यस्ता नाटक र तर्कपूर्ण भाषण गरेर मात्र आफ्नो उचाइ थाम्न सकिँदैन । हिजो हामीसँगै बसेर ढिडो र खोले खानेहरुको चालामाला के छ हामीलाई थाहा छ । तर, अहिले धुलो मैलो र ढिडो राटोसँग सम्बन्ध नै नभएको जस्तो गरेको र गाउँ छोडेको सबैका सामु छर्लङ्ग छ । जसले गर्छ उसलाई मात्र मानौला । तर, नक्कल पार्नेहरुलाई विश्वास गरेर के गर्ने ।”

    वुवाको अनुहारमा दौडिरहेका आक्रोशित भावहरु पढेपछि मैले फुत्कनै लागेका केही वाक्यहरु रोके र सहिद बुवासँगै हामी अगाडि बढ्यौ ।

    अलिपर एउटा दुकान थियो । नजिकै वरको वोट पनि । त्यही बरबोटमा थकाइ मारिरहँदा थुप्रै आत्मियजनहरु आउने जाने क्रम जारी थियो ।

    सबैका जिज्ञाशामा एउटा आक्रोश थिए । गुनासा थिए । आग्रह थिए । सबैभन्दा बढी चिन्ता थिए । ती चिन्तायुक्त आग्रह र आक्रोश सुन्दा निकै भावुक बनायो हामीलाई ।

    “जीवन आखिर कस्ले बदल्न सक्दो रहेछ र । जीवनलाई आफ्नो अनुकूलतामा व्याख्या गर्न त सबैले जान्दारहेछन् । तर, आफैले गरेको परिभाषाभित्र आफूलाई राख्न कसैले राख्न सक्दोरहेनछ । म त सबैतिर वेइमान मात्र जन्मेको पो त देख्छु वावु ।” सहिद वुवाले भन्नुभयो ।

    “हो बा तपाईले भन्नुभएको सही हो ।” अरु पनि धेरै मान्छेहरु जम्मा भएका थिए । मैले भने– “मान्छेले आफूलाई बदल्न सकेको छैन । जीवनका विविधताले मान्छेका चेतनामा पनि विविधता ल्याइदिएका छन् । जीवन बिताइका तिनै विविधताले जन्माएका अनेकता, चिन्तनमा आएका अनेकताले नै समाज एउटै बाटोमा डोरिन सकेको छैन । जबसम्म जीवन जिउने प्रक्रियामाथि नै क्रान्ति हुँदैन, त्यसमा आमूल परिवर्तन आउँदैन । तबसम्म मान्छेका संस्कृतिहरु बदल्न सकिदैन ।” अलिपरबाट केही महिला अनुहारहरु पनि आउँदै गरेको देखे मैले । एउटा सभा जस्तै भयो हाम्रो त्यो जमघट ।

    मैले भन्दै गए– “असमानता, अराजकता, अभाव, अन्याय, अत्याचार, विकृति, विसङ्गतिले व्याप्त समाजको जगमा पैदा हुने चेतनाले जतिसुकै समृद्ध रुप धारण गर्ने प्रयत्न गरे पनि कही न कही खोट देखिने रहेछ । कहेको आदर्शअनुरुप सदैव उभिन नसक्ने रहेछन् मान्छेहरु । सामाजिक धरातल र सामाजिक सम्बन्धमा परिवर्तन आइरहँदा मान्छेका चिन्तनगत प्रवृतिमा पनि निश्चित रुपमा बदलाव आउँदा रहेछन् । सायद त्यसैको परिणाम वर्तमान अन्यौलता तपाईले देखिराख्नुभएको छ । तर, केही विकृतिहरु हाम्रो यात्रामा पैदा भए पनि अब सोझिनेछ सही दिशामा हाम्रो यात्रा । अब हामी नयाँ यात्रा सुरु गर्नेछौं । यो त्यही यात्राको पहिलो क्रम हो ।”

    त्यति नै बेलासबैभन्दा पछाडि बसेका नन्दे दाईले भन्नुभयो– खै कसरी विश्वास गर्ने तिम्रा कुरा । यसै भनेर गाकाहरु अहिले के भए ।” उसको कुरामाथि धेरैले समर्थन जनाए । त्यस्तै अरुहरुले पनि आपसमा केही गन्थन गरेको सुनियो ।

    मैले आफ्नो कुरा सुन्न अनुरोध गर्दै भने– “आदर्श पात्रहरुको विश्वासमा खोट पैदा भएको हुनसक्छ तर, त्यो पनि सापेक्षिक हो । आखिर भौतिक संसार जस्तो बुझ्यो त्यस्तै छ । उपाभोगमुखी चिन्तनमा लिप्त मान्छेको नजरमा विकृत छ यो समाज । जीवनलाई मनोरन्जन ठान्नेहरु पूरै विकृत बनाउँछन्– आफ्नो जीवनलाई । उनीहरु अनेक षड्यन्त्र, अनेक ढाँट, छल, कपटको साहारा लिन्छन् । त्यो उनीहरुको आफूलाई टिकाउने उपाय हो । उनीहरुका निम्ति त्यो बाहेक अर्को विकल्प पनि हुँदैन । जीवनलाई विलासिताका निम्ति बचाउन मरिहत्ते गर्नेहरु संघर्षको कठीन यात्राबाट भाग्दछन् । उनीहरु संघर्षलाई महाआतङ्क पनि देख्दछन् र आत्मसमर्पण गर्दछन् आफैसँग । तर, संघर्षको अपरिहार्यता र बाँच्नुको अर्थलाई वास्तविक अर्थमा बोध गर्नेहरु सक्दैनन् सधैभरि दासता सहेर बस्न । पराधिनताको कठोर पीडा सहनुभन्दा मृत्यु उनीहरुलाई हजारौ गुणा प्यारो हुन्छ । त्यसैले आन्दोलन रुकेको छैन । कहिल्यै रोकिन्न पनि । त्यो त चलिरहन्छ निरन्तर । आन्दोलनको प्रवाहमा÷भेलमा कोही पाखा लाग्छन कोही बग्दछन् । तर, सच्चा सिपाहीहरु सङ्घर्षलाई आफ्नो जीवन प्रक्रिया बनाउँदै बढिरहन्छन । जीवनलाई सङ्घर्षको भेल ठान्नेहरु कदापी अल्मलिन सक्दैनन् त्यस्ता अल्झोहरुमा । जीवन र मृत्युलाई साँच्चिकै बुझेकाहरु, वास्तविक जीवन र मृत्युका व्यापक आयाम र अर्थलाई पहिल्याएका मान्छेहरु, साँच्चिकै मानव जातिको समग्र मुक्ति आन्दोलनलाई आत्मसात् गरेका मान्छेहरु यात्राका क्रममा पैदा भएका भ्रममा कदापी अल्मलिदैनन् ।”

    समय निकै घर्कि सकेको थियो । मैले वरपरका धेरै गाउँलेहरु जम्मा भएका थिए । गाउँको नजिकै जोडिएको जङ्गलबाट ¥याउकिरीहरुको एकोहोरो ¥याउ–¥याउ आवाज आइरहेको थियो ।

    “हो खुट्टा कदापी कमाउनुहुन्न । हामी हिजो पनि तयार भएकै हो, आज पनि छौं । बाटो देखाउने मान्छेहरुको दुर्दशा हेरेर पो निरासाको बादल लागेको छ । सही नेतृत्वले आफ्नो सही दिशा पकडेमा गुनासा वाहेक कसैले केही गर्दैन ।” –हामीहरु नजिकै बस्नुभएका सहिद बाले उठेर भन्नुभयो “इतिहासको गति जबरजस्त धक्का मारेमा मात्र गुड्दो रहेछ ।”

    “हो बुवा आफै इतिहास कदापी रचिदैन । जनताले इतिहास निर्माण गर्ने कुरो हो । जनताको आन्दोलनले अकल्पनीय घटनाक्रमहरुको उद्घाटन गर्दछ र तिनको समाधान पनि दिन्छ । अब बहादुर साहसी योद्धाहरुको जवरजस्त धक्का सुरु हुनेछ र अन्यौलताका पर्खालहरु भत्कनेछन् ।” मैले भने– “हो हामी बाटो लागिसक्यौं । क्रान्तिको पूर्णताका लागि हाम्रो बाटो अब कहिल्यै फर्कने छैन रछ्यानतर्फ । हजारौ वर्षदेखि जमेको फोहोर जमेको भूमरीमा छिरेकाहरुलाई हाम्रो भन्नु केही छैन । जान्दा जान्दै रछ्यानमा थकाइ मार्न बस्नेहरु वा त्यसलाई सुनपानी छर्केर सफा गर्न सकिन्छ कि भनेर विचार गर्न लाग्नेहरुलाई हाम्रो भन्नु केही छैन । तर, एउटा वृहत धक्का विना करोडौं वर्षदेखि जम्मा भएको र जरा गाडेको फोहोर पूर्ण रुपमा सफा हुन कदापी सक्दैन ।” मैले भने ।

    साँझको झिसमिसे अध्यारोमा हामीले मुठ्ठीहरु उचाल्यौ । एकैसाथ सबैका मुठीहरु उचालिए ।

    “लाल सलाम !” –एक्कासी रजगले नारा लगाउन सुरु ग¥यो । बरवोट रन्काउँदै सबैका मुखमा दोहोरियो फेरि– लाल सलाम !  लाल सलाम ! ! हामी अघि बढ्यौ ।

    वावु फेरि बाटो नभुल्नु । सहिद बाले भनिरहनुभएको थियो । सिस्नेको उकालो सुरु भयो । हामी बढीरह्यौं निरन्तर ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर प्रहरीद्वारा दुई पाकेटमार रंगेहात पक्राउ

    भक्तपुरमा दुई पाकेटमार रंगेहात पक्राउ परेका छन् । पकेटमारीको पैसा सहित उनीहरुलाई भक्तपुर प्रहरीले पक्राउ...

    कोभिड-१९ खोप यसै साताबाट : यो कस्तो खोप हो?

    यूके फाइजर/बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ। ब्रिटिश...

    बरिष्ठ नेता पौडेल पक्राउले बनायो काँग्रेसलाई बलियो

    सरकारका कारण नेपाली कांग्रेसका नेताहरु एकमत भएका छन् । फरक मत राख्ने गुटका नेताहरु एकमत...

    पद दुरुपयोगको आरोपमा नेपाल प्रहरीका २ एसपीसहित ४ निलम्बित

    पदको दुरुपयोग गरी अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका २ एसपी सहित ४ जना निलम्बनमा परेका...

    सरकारले ५० लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने

    सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत...