News Portal

  • ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’

    रासस
    ७८९ पटक

    काठमाडौं, ९ पुस । छोरीले एसइई परीक्षा उत्तीर्ण गरेसँगै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनामकी सुजता सार्कीको खुशीको सीमा रहेन । उच्च शिक्षा हासिल गराएर छोरीलाई जागिरे बनाउने सपना थियो उनको । तर नतिजा आएको केही दिनदेखि कुन विषय पढाउने, कुन कलेजमा पढाउने, खर्च कताबाट जुटाउने भन्ने विषयले भने उनलाई पिरोल्न थाल्यो । यत्तिकैमा गाउँपालिकाले छोरीलाई पूर्ण छात्रवृत्तिसहित कृषि विज्ञान विषय पढ्ने अवसर प्रदान गरेपछि उनी थप खुशी भइन ।

    “छोराछोरी पढाउने, ठूलो मान्छे बनाउने सपना थियो, तर के पढाउने, कहाँ पढाउने, खर्च कताबाट ल्याउने भन्ने अन्योल थियो, अहिले गाउँपालिकाले सबै खर्च गरेर राम्रो विषय पढाउने रे, गाउँपालिकाले हामी सर्वसाधारणलाई ठूलो गुन लगायो”, सुजताले भनिन ।

    उनी जस्तै सिरिजङ्घा गाउँपालिकाअन्तर्गतका सबै वडाका अविभावक गाउँपालिकाले प्राविधिक शिक्षाका लागि दिएको पूर्ण छात्रवृत्ति कार्यक्रमले खुशी छन् । यो वर्ष आठ वडाका एक(एक जना एसइई उत्तीर्ण विद्यार्थीले पूर्ण छात्रवृत्तिसहित कृषि र पशु विज्ञान विधामा प्रवीणता प्रमाणपत्र तहसम्म पढ्ने अवसर पाएका छन् ।

    गाउँपालिकाले ‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’ भन्ने नाराका साथ कृषि र पशु विज्ञान विषयका साथै अन्य प्राविधिक विषयमा प्रवीणता प्रमाणपत्र तहसम्म पूर्ण छात्रवृत्ति दिने कार्यक्रम चालू आर्थिक वर्षबाट लागू गरेको छ । सातौँ गाउँसभाबाट उक्त कार्यक्रम तथा बजेट स्वीकृत गरी लागू गरेको हो । हरेक वर्ष यहाँका आठ वडाबाट एक एक जनाले पूर्ण छात्रवृत्तिको सुविधा पाउनेछन् । आवश्यक परेमा हालको सङ्ख्यासमेत बढाउन सकिने गाउँपालिकाले जनाएको छ ।

    यो वर्ष वडा नं १ सिनामबाट शर्मिला सार्की, वडा नं २ आम्बेगुदिनबाट मीना भट्टराई, वडा नं ३ सिकैचाबाट सुमना लक्सम्बा, वडा नं ४ तेल्लोकबाट मुकेश माबो, वडा नं ५ पेदाङबाट प्रतिमा सिलिम्बो, वडा नं ६ मामांखेबाट लाजेहाङ लिम्बू, वडा नं ७ खेवाङबाट रोमन दहाल, वडा नं ८ याम्फुदिनबाट ताङसाङ राई गरी आठ जनाले पूर्ण छात्रवृत्ति पाएका हुन् । उनीहरुमध्ये चार जनाले इलामको रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युटमा पशु विज्ञान विधामा प्रवीणता प्रमाण तहसम्म अध्ययन गर्नेछन् भने चार जनाले सिनामस्थित सिनाम माविमा कृषि विज्ञान विधामा अध्ययन गर्नेछन् ।

    गाउँपालिकाले पशुु विज्ञान विधामा पढ्ने चार जनाको पहिलो वर्षका लागि मासिक शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा दस्तुर र भर्ना शुल्क गरी प्रतिविद्यार्थीको ६७ हजार ५०० का दरले जम्मा दुई लाख ७० हजार सम्बन्धित संस्थामा जम्मा गरेको छ भने कृषि विज्ञान विधामा पढ्ने चार जनाको समेत पहिलो वर्षका लागि दुई लाख ७४ हजार ४०० बुझाइसकेको छ । यस्तै आवास र खाना खर्चवापत प्रतिविद्यार्थी मासिक सात हजार ५०० चौमासिकरुपमा सम्बन्धित विद्यार्थीको बैंक खातामा जम्मा गरिदिने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । यता स्टेशनरी र पोशाकका लागि प्रतिविद्यार्थी वार्षिक १०(१० हजार उपलब्ध गराइने छ ।

    हरेक वडामा रहेका जेहेन्दार विद्यार्थीको कदर गर्दै स्थानीयस्तरमा प्राविधिक जनशक्ति उत्पादनका लागि समेत छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम बनाइएको घिमिरेको भनाइ छ । “सिरिजङ्घावासीलाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिको बोध गराउन नीतिगतरुपमा थुप्रै कार्यक्रम तय गरेका छौँ, तीमध्ये प्राविधिक शिक्षा हासिल गर्न इच्छुक सबै वडाका विद्यार्थीलाई दिइने पूर्ण छात्रवृत्ति कार्यक्रमले जेहेन्दार विद्यार्थीलाई सहयोग पुग्नुका साथै स्थानीयस्तरमा नै प्राविधिक जनशक्तिको उत्पादन हुने र नयाँ प्रविधिको अवलम्बन हुने हाम्रो ठम्याइ छ”, घिमिरेले भने ।

    यस्तै शिक्षालाई स्थानीय आवश्यकतासँग जोड्नसमेत प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न थालिएको उनको भनाइ छ । आगामी वर्षहरुमा यसैगरी हरेक वडाबाट एक(एक जनाले प्राविधिक शिक्षाका लागि छात्रवृत्ति पाउनेछन् । छात्रवृत्तिसम्बन्धी कार्य प्रक्रियालाई व्यवस्थित गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्य रहेको छात्रवृत्ति व्यवस्थापन समिति रहने कार्यविधिमा उल्लेख छ । हरेक वर्ष एसइई परीक्षाको नतिजापछि कम्तीमा १५ दिनको म्याद दिई कार्यविधिबमोजिम उपलब्ध गराइने छात्रवृत्तिका लागि योग्य विद्यार्थीबाट आफ्ना वडाभित्रका सामुदायिक विद्यालय ९माध्यमिक विद्यालयस्तर० मार्फत दरखास्त आह्वान गर्नुपर्ने समेत कार्यविधिमा उल्लेख छ ।

    गाउँपालिकाले पूर्ण छात्रवृत्तिसहित प्राविधिक शिक्षाको अध्ययन गर्ने वातावरण सिर्जना गरेपछि विद्यार्थीलाई पनि हौसला मिलेको छ । “गाउँपालिकाले नै यसरी पढाउला भन्ने सोचेको थिएन, तर पहिलोपटक नै म आफू पनि पूर्ण छात्रवृत्तिमा छनोट भएँ, अब राम्रो पढेर गाउँको सेवा गर्ने मन छ, गाउँपालिकाले हाम्रा लागि गरेको सहयोगले खुशी छु”, यो पटक छात्रवृत्ति पाएकी आम्बेगुदिनकी मीना भट्टराईले भनिन ।

    यसैगरी गाउँपालिकाले कक्षा ११ र १२ को अध्ययनलाई निःशुल्क बनाएको छ । गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने प्रत्येक विद्यार्थीलाई यसै वर्षदेखि निःशुल्क अध्यापन गराउने भएको हो । निःशुल्क शिक्षा, हामी सबैको इच्छा कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ पारित गरेर कार्यान्वयनको चरणमा प्रवेश गरेको गाउँपालिकाले जनाएको छ । उक्त कार्यविधि हालै बसेको कार्यपालिका बैठकले पारित गरेको हो ।

    संविधानमा व्यवस्था भएको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै आफ्नो क्षेत्रका नागरिकलाई स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिको बोध गराउने उद्देश्यले उक्त व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए । भर्ना शुल्क, रजिष्ट्रेशन र परीक्षा दस्तुरवापत वार्षिक एक हजार ५०० र मासिक शुल्क ४०० सम्बन्धित विद्यालयमार्फत उपलब्ध गराउने बताइएको छ । यस्तै हरेक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बालबालिकालाई भने वर्षेनी पोशाक र झोला निःशुल्क उपलब्ध गराइने भएको छ ।

    गाउँपालिकाभित्र हाल कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या एक हजार ६०९ रहेको छ । पोशाक, विद्यालय लैजाने झोला र जुत्ताका लागि प्रतिविद्यार्थी वार्षिक दुई हजार ५०० खर्च हुने प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । यता कक्षा १० का सबै विद्यार्थीलाई आवश्यक विषयमा तयारी कक्षासमेत दिइने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

    दुर्गम भूगोल तथा निम्न आय भएका कारण गाउँपालिकाका कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर शैक्षिक क्षेत्रको उत्थान र विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताए ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...