News Portal

  • भक्तपुरले जस्तै गर्दै जाने हो भने साँच्चिकै देश बन्नेछ

    भक्तपुर, ८ बैशाख २०७८
    ४४५५ पटक
    भक्तपुर, ८ बैशाख २०७८

    ( प्रशासनका लागि एसराज उपाध्यायले तयार पारेको रिपोर्ट) 

    शिक्षा, स्वास्थ्य र सम्पदालगायत विषयलाई मुख्य प्राथमिकता राखेर अघि बढिरहेको भक्तपुर नगरपालिकाले ल्याएका केही कार्यक्रमहरू निकै अनुकरणीय छन् ।

    नगरपालिकाले आफ्नै लगानीमा कलेज सञ्चालन गर्नेदेखि विद्यालयमा स्थानीय भाषामै पाठ्यक्रम निर्माण गर्ने र विद्यार्थीलाई उच्च शिक्षा पढ्नका लागि शैक्षिक ऋण दिनेसम्मका कार्यक्रम प्रभावकारी ढङ्गले लागू गरेको देख्दा ‘आहा’ भन्न मन लाग्छ ।

    भौगोलिक रूपमा सानो भए पनि मुलुककै सुन्दर एवं समृद्ध नगरपालिकाका रूपमा चिनिने यस नगरपालिकाले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्य राखेको छ ।

    हाल नगरपालिकाको आफ्नै लगानीमा ७ वटा कलेज सञ्चालनमा रहेको बताउँछिन् नगरपालिकाकी उपमेयर रजनी जोशी ।

    शिक्षामा राज्यको लगानी हुनुपर्ने, यो क्षेत्र नाफामूलक भन्दा पनि सेवामूलक हुनुपर्ने मान्यताका साथ सबैका लागि शिक्षामा पहुँच पुर्‍याउने हेतुले यो कदम अघि बढाइएको उनले प्रशासनसँग बताइन् ।

    उपमेयर जोशी भन्छिन्, ‘प्राइभेट कलेजहरू जस्तै गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पनि पाउन सकियोस् भनेर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा नगरपालिका जुटिरहेको छ ।’

    उपमेयर जोशीका अनुसार २ वटा इन्जिनियरिङ कलेज अहिले सञ्चालनमा छन् । यी कलेजमा इन्जिनियरिङ पढाई गरेर दर्जनौँ सक्षम इन्जिनियरहरू उत्पादन भइसकेका उपमेयर जोशीले बताइन् ।

    भक्तपुर नगरपालिकामा रहेको ख्वप उच्च माध्यमिक विद्यालयमा हाल नगरपालिकाको सहयोगमा मानविकी सङ्काय अन्तर्गत कानुन विषयकोसमेत पढाई हुने गरेको छ । त्यस्तै शारदा कलेजमा शिक्षा सङ्काय अन्तर्गत स्नातकोत्तरसम्म पढाई हुने गरेको छ ।

    समयको माग अनुसार नगरपालिकाले मानविकी मात्रै पढाएर पुग्दैन, अब इन्जिनियरिङ पनि पढाउनुपर्छ भन्दै वि।सं। २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ सञ्चालन गर्‍यो ।

    अहिले नगरपालिकाद्धारा सञ्चालित कलेजहरूमा आर्किटेक्चर, कम्प्युटर साइन्स, इलेकट्रोनिक्स एण्ड कम्युनिकेसन जस्ता प्राविधिक विषयहरूको पढाई हुने गरेको छ । साथै सिटिइभिटीबाट मान्यता लिई नर्सिङ समेत पढाई हुने गरेको छ ।

    उपमेयर जोशीका अनुसार अहिले नगरपालिकाभित्र ९२ वटा विद्यालयहरू छन्, जसमध्ये ३६ वटा सामुदायिक विद्यालयहरू छन् ।

    नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा विभिन्न भौतिक पूर्वाधार निर्माण गर्नसमेत नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ भन्छन्, ‘नगरपालिकाद्धारा सञ्चालित कलेजहरूमा भर्ना पाउनका लागि सोर्सफोर्स पनि केही चाहिँदैन । मेरिट लिस्टका आधारमा जो कोही विद्यार्थी सहजै भर्ना पाउन सक्छन् ।’

    उनी थप्छन्, ‘यहाँ अन्य कलेजको तुलनामा निकै सस्तो अर्थात् करिब ५० प्रतिशत सस्तो पनि छ र पढाई पनि राम्रो छ ।’

    उनले यी कलेजहरूमा अध्ययनका लागि भक्तपुर नगरपालिकाभित्रका विद्यार्थीहरूका लागि तथा देशका अन्य भू(भागबाट आउने विद्यार्थीको भर्नाका लागि निश्चित कोटा छुटाइएको जानकारी दिए ।

    पहिले पहिले नगरपालिकाका विद्यार्थीका लागि ५० प्रतिशत कोटा छुटाइएको थियो भने अहिले ३५ प्रतिशत कोटा छुटाइएको छ ।

    यस्तै भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थीका लागि पनि भर्ना कोटा छुटाइएको छ । जसअन्तर्गत अछाम, मुगु, बाजुरा लगायतका क्षेत्रबाट पढ्न आउने विद्यार्थीका लागि कोटा छुट्याएको छ ।

    यसरी देशभरिका विद्यार्थीले पढ्न पाउने गरी नगरपालिकाले यी कलेज तथा विद्यालयहरूलाई साझा फूलबारीका रूपमा अगाडी बढाइरहेको छ ।

    भक्तपुर नगरपालिकामा अहिले हरेक घरमा एक जना स्नातक वा एक जना इन्जिनियर नभएको घर नै नभएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको दाबी छ ।

    हरेक घरमा एउटा इन्जिनियर भएकाले पनि पछिल्लो समयमा यहाँका इन्जिनियरिङ कलेजमा नगरपालिकाका विद्यार्थीका लागि छुटाइएको ५० प्रतिशत कोटा घटाएर ३५ प्रतिशतमा झारिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको भनाई छ ।

    यति मात्रै हैन, आर्थिक अभावमा उच्च शिक्षा हासिल गर्न नसक्ने अवस्था भएका विद्यार्थीका लागि शैक्षिक ऋण र छात्रवृत्तिसमेतको कार्यक्रम लागू गरेको छ ।

    नगरपालिकाले लागू गरेको यस कार्यक्रमले विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षाको अध्ययनका लागि निकै टेवा पुर्‍याएको देखिन्छ । यसअन्तर्गत नगरपालिकाले विद्यार्थीको उच्च शिक्षाका लागि वार्षिक ६ प्रतिशत ब्याजदरमा करिब ५ लाखसम्म शैक्षिक ऋण दिने गरेको छ ।

    यो रकम विद्यार्थीको अभिभावकको सहमतिमा एकै पटक वा किस्तामा विद्यार्थीले अध्ययन गर्ने कलेजलाई सोझै खातामा पठाउने गरी व्यवस्था गरिएको छ । रकम विद्यार्थी वा अभिभावकको हातमा नभई अध्ययन गर्ने कलेजमै बुझाई दिँदा रकमको दुरुपयोग हुने जोखिम कम हुने नगरपालिकाको विश्वास छ ।

    विद्यार्थीको कोर्ष पूरा भइसकेपछिमात्रै यो पैसा नगरपालिकालाई तिर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।

    आर्थिक वर्ष २०७५।७६ बाट प्रारम्भ भएको यस उच्च शिक्षाका लागि शैक्षिक ऋण कार्यक्रमबाट हालसम्म ८५ प्रतिशत विद्यार्थी लाभान्वित भएका नगरपालिकाले जानकारी दिएको छ ।

    नगरपालिकाद्धारा सञ्चालित विद्यालयहरूमा अहिले इन्जिनियरिङ, कम्प्युटर साइन्सलगायतका प्राविधिक विषयहरुकोसमेत पढाई हुने गरेको छ । अब छिट्टै नै नगरपालिकाले आफ्नै लगानीमा मेडिकल कलेजसमेत सञ्चालनका लागि नेपाल सरकारसँग अनुमति मागिरहेको छ ।

    नगरपालिकाले आफ्नै मेडिकल कलेज चलाउने अनुमति पाएमा यहाँ अन्य मेडिकल कलेजको तुलनामा निकै सस्तो हुन जाने नगरपालिकाले जनाएको छ ।

    एमबिबिएस पढाइको लागि अन्य मेडिकल कलेजमा ७०(८० लाख खर्च चाहिनेमा नगरपालिकाले चलाउने मेडिकल कलेजमा १५ लाख खर्चमै विद्यार्थीले एमबिबिएस पढ्ने सपना साकार बनाउन सक्ने नगरपालिकाले जनाएको छ ।

    यो कुनै नेताको चुनावी नाराजस्तो नभई साँच्चीकै व्यवहारमा यति सस्तोमै एमबिबिएस पढ्न पाइने भए त नेपालमा हजारौँ डाक्टरहरू जन्माउन कुनै गाह्रो हुने छैन, महामारीको समयमा पनि नेपालमा डाक्टरको कमी हुने छैन ।

    बिरामीले अस्पतालमा डाक्टरलाई भेट्न घण्टौँ लामो लाइन बस्नुपर्ने छैन । थोपा थोपा मिलेर सागर बनेजस्तै स्थानीय तहले गर्ने यस्तै विकास निर्माणका कामहरूले मुलुकलाई विकास निर्माणमा अगाडी बढ्न सहयोग पुग्नेमा दुई मत छैन ।

    नगरपालिकाले यसै आर्थिक वर्षभित्र आफ्नै अस्पताल सञ्चालनका लागिसमेत भवन निर्माणको काम अगाडी बढाइरहेको छ । नगरपालिकाले करिब एक अर्ब लगानीमा भवन निर्माण गर्दै छ । जसमा नेपाल सरकारको समेत सेयर रहनेछ ।

    ६।८८ वर्ग किलोमिटर क्षेत्रफलमा मात्रै फैलिएको यस नगरपालिकाको यस किसिमका उदाहरणीय कार्यले देशै भरी फैलेर असल अभ्यासको पाठ सिकाएको छ ।

    भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७७(०७८ को नीति तथा कार्यक्रममै पनि शिक्षासम्बन्धी विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरू समेटिएका छन् जसमा ख्वप विश्वविद्यालय स्थापना गर्न पहल गर्नेदेखि नगरभित्र सञ्चालित सार्वजनिक विद्यालयहरूका भौतिक सुधार गर्न पूर्वाधारहरू निर्माणमा सहयोग गर्ने नीति लिइने र शिक्षकहरूलाई पनि प्रविधिमैत्री बनाउन आवश्यक तालिमको व्यवस्था गरिने उल्लेख छन् ।

    नीति तथा कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माणलाई निरन्तरता दिँदै यसै आर्थिक वर्षदेखि कक्षा ३ र ८ मा लागू गरिने र कक्षा ४ र ५ का लागि स्थानीय पाठ्यक्रम निर्माण कार्य पनि पूरा गरिने उल्लेख छ ।

    स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सहज बनाउन आवश्यक पाठ्यपुस्तक तथा सन्दर्भ सामार्गीहरु निर्माण गरिने र स्थानीय पाठ्यक्रमको सन्दर्भ सामाग्री तयार गरी भर्चुअल कक्षा सञ्चालन गरिने एवं विद्यालय तहमा नेपाल भाषा र लिपिको विषयमा अध्यापन कार्यलाई जोड दिइने उल्लेख छ । नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेका अधिकतम विषयहरूलाई व्यवहारमा लागू गरेको पाइएको छ ।

    कला संस्कृतिको संरक्षण सम्बर्धनमा पनि भक्तपुर नगरपालिका निकै अगाडी छ । विश्व सम्पदा सूचीमा अटाएका प्राचीन मठमन्दिरलगायत पुरातात्त्विक सम्पदाहरू यहाँ छन् ।

    भक्तपुर नगरपालिकामा एक वर्षमा करिब तीन लाख पर्यटक आउने गर्छन् भने नगरपालिकाले वार्षिक ३० करोडभन्दा बढी आम्दानी पर्यटन क्षेत्रबाट मात्रै गर्ने गरेको छ ।

    भक्तपुर नगरपालिकालाई मुलुकभरमै आत्मनिर्भर स्थानीय तहका रूपमा पनि चिन्ने गरिन्छ । भूकम्पपछिको पुन निर्माणमा पनि नगरपालिका आफै जुटिरहेको छ ।

    स्वास्थ्यको क्षेत्रमा पनि भक्तपुर नगरपालिका निकै अगाडी छ । हालै मात्र भक्तपुर जिल्लामा रहेको भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल घोषित भएको थियो । यति मात्रै हैन, यहाँ रहेको भक्तपुर क्यान्सर अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्र मुलुककै गर्व गर्न लायक अस्पताल रहेका छन् ।

    नगरपालिकाले शैक्षिकसँगै स्वास्थ्य क्षेत्रमा अन्य पनि थुप्रै राम्रा काम गरेको छ । नगरपालिकाले ल्याएको घरदैलोमा नर्सिङ सेवा कार्यक्रमले यहाँका बिरामीहरू, वृद्धाबृद्धा, महिलाहरु निकै लाभान्वित भएका छन् ।

    घरदैलोमै पुगेर नगरपालिकाको सहकार्यमा स्वास्थ्यकर्मीहरू घरदैलोमै गई बिरामीको स्वास्थ्य जाँच गर्ने र आवश्यक सरसल्लाह गर्ने गरेका छन् ।

    यसैगरी नगरपालिकाले छातीका रोगी, फोक्सोका रोगीहरूका लागि छाती श्वासप्रश्वास केन्द्रको स्थापना भएको छ ।

    जापान सरकारको सहयोगमा भक्तपुर नगरपालिकाले केन्द्र स्थापना गरी नगरपालिकालाई आकर्षणको केन्द्र अर्थात् सेन्टर फर एक्सेलेन्सी बनाएको छ ।

    यस्तै नगरपालिकाले निःशुल्क शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाका विभिन्न वडामा गरी ६ वटा केन्द्रहरू सञ्चालनमा छन् । पालिकाभित्रका बालबालिकाहरूलाई हेरचाहका लागि तथा घरमा बसेर पढ्न, लेख्न, खेल्न नमान्ने बालबालिकाका लागि यी केन्द्रहरू सिकाइको थलो बनेका छन् ।

    यस्तै पालिकामा रहेका मानिसहरू स्वस्थ रहुन् भनी विभिन्न सार्वजनिक ठाउँमा नगरपालिकाले व्यायामशाला निर्माण गरेको छ ।

    प्रत्येक वडाका दुई ठाउँमा व्यायामशाला निर्माण गरिएका छन् । जहाँ पालिकाका युवायुवतीहरू व्यायाम गर्न जान सक्छन् । नगरपालिकाले विभिन्न ६ वटा खेलका लागि प्रशिक्षकको समेत व्यवस्था गरिएको छ ।

    यति मात्रै हैन, नगरपालिकाले पुस्तकालय सञ्चालन, आवास योजना सञ्चालन र नगरपालिकाको आफ्नै एफएम सञ्चालनसमेत गरेको छ ।

    नेपालमा संविधान जारी भइसकेपछि मुलुक सङ्घीय सरकारको संरचनामा गइसकेपछि यति बेला गाउँ गाउँसम्म सरकार पुगेको छ । केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् ।

    अहिले स्थानीय तहलाई स्थानीय सरकारको नीति निर्माणदेखि स्थानीय पूर्वाधार विकास गर्नेसम्मका जिम्मेवारी दिइएको छ । यस्तो अवस्थामा केही स्थानीय तहले विकास निर्माणका कार्यमा निकै असल अभ्यास गरेका छन् ।

    भक्तपुर नगरपालिका जस्तै अन्य स्थानीय तहले पनि आ–आफ्नो स्थानबाट समग्र विकासका लागि असल अभ्यासहरू गर्दै जाने हो भने साँच्चिकै देश बन्नेछ । सधैँ अरूकै भर पर्नुपर्ने छैन, लाखौँ रोजगारी स्वदेशमै सिर्जना गर्न सकिने छ ।

    प्रतिकृया दिनुहोस्

    पक्राउ परेका पूर्व सभामुख महरा अस्वस्थ, नर्भिकमा उपचार हुँदै

    नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्...

    सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम

    नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधान सेनापति प्रमुराम...

    दीपेश पुनलाई ८ दिन हिरासत

    काठमाडौं, ४ चैत २०८० । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राख्न...

    ३० बर्षपछि कुम्भ राशिमा शनी उदय, ६ राशिलाई फाइदै फाइदा

    आज चैत्र ४ गते आईतवार ३० बर्षपछि कुम्भ राशिमा शनी उदय भएको छ । काठमाडौको...

    न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

    वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा...