News Portal

  • चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० मा परेको भ्रामक समाचारहरु असत्य सावित

    निशा कुश्मा भक्तपुर, ११ असोज २०७८
    १३२० पटक
    भक्तपुर, ११ असोज २०७८

    ‘विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका’ शीर्षकमा समाचारहरु प्रकाशित भएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका एकाएक चर्चामा आयो । भ्रामक समाचारलाई पत्याएर कतिपय भक्तपुरबासी दंग समेत देखिए ।

    सामाजिक संजालमा नगरपालिका र यसका प्रमुख सोमप्रसाद मिश्रलाई बधाईको ओइरो नै लाग्यो । त्यतिमात्र होइन, त्यसको क्रेडिट लिएर प्रमुख कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारी र सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले आफू अनुकूल मिडियाहरुमा अन्तर्वार्ता समेत दिन भ्याए ।

    तर, तथ्य उनीहरुले दावी गरेजस्तो रहेन । मूलधारका भनिएका मिडियाहरुले भ्रामक समाचारलाई महत्वका साथ् प्राथमिकता दिएर प्रकाशन / प्रशारण गरिरहदा भक्तपुर पोस्टले यसको सत्यतथ्य जाँच नभई प्रकाशन नगर्ने नीति बमोजिम समाचारलाई प्रकाशन गरेन । कतिपयले आफ्नै जिल्लाको समाचारलाई नलेखेको भनी यसको आलोचना समेत गर्न भ्याए ।

    भक्तपुर पोस्टले भ्रामक भएको भनेर प्रकाशन नगरेको उक्त समाचारबारे Nepalfactcheck.org ले अनुसन्धान गरी तथ्य पत्ता लगाएको छ ।योसंगै एउटा असत्य कुरालाई कसरी जवर्जस्त स्थापित गर्न खोजिन्छ र संचार माध्यम त्यसको तथ्यमा पुग्नुको साटो किन हावादारी हुन पुग्छन् भन्ने प्रश्न समेत खडा भएको छ ।

    हेर्नुस्  Nepalfactcheck.org को रिपोर्ट जस्ताको तस्तै https://www.nepalfactcheck.org/2021/09/changunarayan/

    के चाँगुनारायणले विश्वकै उत्कृष्ट १० नगरपालिकाको उपाधि पाएको हो?

    ‘विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका’ शीर्षकमा नेपाली मिडियामा २०७८ असोज ५ गते समाचार आएका छन्। समाचारमा ‘भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको’ दावी गरिएको छ।

    समाचार अनुसार ‘संयुक्त राज्य अमेरिकाको न्यू योर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा’ यो नगरपालिकाले उपाधि हासिल गरेको हो।

    यो समाचारबारे तथ्य जाँचका लागि आएको अनुरोध अनुसार हामीले यसबारे खोजेका छौँ।

    कहाँ कस्तो समाचार?

    यो समाचारलाई थुप्रै प्रमुख अनलाइन मिडियाले प्रकाशन गरेका छन्। अनलाइनखबरको समाचारमा लेखिएको छ– अमेरिकाको न्यूयोर्क विश्वविद्यालयले सञ्चालन गरेको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र परेको छ । अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए ।

    त्यस्तै सेतोपाटीको समाचारमा लेखिएको छ– संयुक्त राज्य अमेरिकाको न्यू योर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ।

    दुवै अनलाइनले राष्ट्रिय समाचार समिति (रासस)लाई क्रेडिट दिएका छन्। नेपालखबरले भने आफ्नै बाइलाइनमा यो समाचार राखेको छ। तर समाचार राससकै हुबहु छ।

    त्यसैगरी यही समाचार देशसञ्चार, खरिबोटकाठमान्डुप्रेसडिसीनेपालफरकधार का साथै अन्य थुप्रै अनलाइनहरुमा पनि प्रकाशन भएको देखिन्छ।

    के हो तथ्य ?

    यसबारे खोज्नका लागि हामीले द गभ ल्याब र ओपन सिटी इन्क्युबेटरबारे गुगलमा सर्च गर्‍यौँ।

    सो साइटमा यो प्रोग्रामबारे विस्तृत जानकारी राखिएको छ। त्यहाँ राखिएको जानकारी अनुसार विश्वका विभिन्न १० देशका १० वटा सहरहरुलाई ६ महिनासम्म सहयोग गरी उनीहरुको डेटा इन्नोभेसन आइडियाहरुलाई सघाउने कार्यक्रम रहेछ यो।

    समाचारमा उल्लेख भए अनुसार उत्कृष्ट सहरको उपाधि पाएको नभएर सिटी इन्क्युबेटर कार्यक्रममा आह्वान गरिएको खुला आवेदनमा छनौटमा परेको हो चाँगुनारायण नगरपालिका।

    स्टेटस्कूपमा उल्लेख भए अनुसार छनौटमा परेका सहरका अधिकारीलाई प्रविधिविज्ञ, निजी क्षेत्रका कार्यकारीहरु र इन्जिनियरहरुको मेन्टर काउन्सिलबाट ६ महिना सहयोग गरिनेछ उनीहरुको ड्रिम डेटा प्रोजेक्टका लागि।

    तथ्य जाँच

    दावी : भक्तपुरको चाँगुनारायण नगरपालिकाले विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ।

    तथ्य : भ्रामक। चाँगुनारायण नगरपालिकाले विश्वको उत्कृष्ट १० नगरपालिकाको उपाधि हासिल गरेको होइन। डेटा इन्नोभेसन सम्बन्धी द गभ ल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा आह्वान गरिएको खुला आवेदन परेका मध्ये छनौट भएका १० सहरमध्ये यो नगरपालिका पनि परेको हो।

     

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...