News Portal

  • मौसमीफ्लू कि कोभिड कसरी थाहा पाउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ माघ २०७८
    १४५६ पटक
    भक्तपुर, ८ माघ २०७८

    कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिडजस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका छन्।

    काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि हुने क्रम दिनानुदिन बढ्दो क्रममा छ।

    यसले मौसमी फ्लू वा रुघाखोकी लागेका मानिसहरू डराएका र परीक्षण गर्ने गरेका छन्।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लीनीकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टको सङ्क्रमणमा देखिने लक्षण र प्रत्येक वर्ष जाडोको बेला देखिने स्वास्थ्य समस्यामा धेरै हदसम्म समानता छ।

    ‘यसले गर्दा यो वा त्यो भनेर परीक्षण नगरी छुट्टाउन गाह्रो छ,’ डा. पुनले भने।

    फ्लूमा अचानक ज्वरो आउने, जिउ दुख्ने हुन्छ भने चिसोले हुने रुघाखोकीमा नाकबाट पानी बग्ने र हाच्छिउँ आउने अवस्था हुन्छ।

    नेपालमा हाल फैलिएको भनिएको कोभिडको ओमिक्रोन भेरिअन्टको लक्षण पनि फ्लू र रुघाखोकी जस्तै रहेको डा. पुनको भनाइ छ।

    यस्ता लक्षण देखिएमा कोभिड हो वा होइन कसरी यकिन गर्न सकिन्छ त?

    ओमिक्रोनका लक्षण के–के हुन्?

    हाल विश्वभर तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को ओमिक्रोन भेरिअन्ट निकै सङ्क्रामक रहेको वैज्ञानिकहरूले बताएका छन्।

    तर यो प्रकारको कोरोनाभाइरसले विगतका भेरिअन्टभन्दा मध्यम खालका लक्षणहरू देखाइरहेको र रुघाखोकी वा फ्लूसँग मिल्दोजुल्दो बनाएको छ।

    वैज्ञानिकहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमित भएका व्यक्तिमा नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने, हाच्छिउँ आउने र घाँटी दुख्ने जस्ता आम लक्षण देखिन्छ।

    ब्रिटिश न्याश्नल हेल्थ सर्भिसेज एनएचएसले अकस्मात्को निरन्तर खोकी, ज्वरो वा उच्च तापक्रम अनि स्वाद वा गन्ध हराउनु वा परिवर्तन हुने जस्ता लक्षणहरूबारे भने सचेत रहन सुझाव दिएको छ।

    फ्लू कि कोभिड कसरी थाहा पाउने?

    कोभिड र मौसमी फ्लूबीच निकै कम फरक रहेकाले आफूलाई के भएको हो थाहा पाउन सहज नहुने चिकित्सकहरू बताउँछन्।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी रुघाखोकी, सास फेर्न गाह्रो हुने, घाटी खसखस गर्ने, टाउको दुख्ने वा पखाला लाग्ने जुनसुकै लक्षण भए पनि सबैभन्दा पहिले महामारीको समयमा भएकाले कोभिडकै सङ्क्रमण चक्रमा आफू रहेको बुझ्नुपर्ने बताउँछन्।

    ‘त्यस्तो भयो भने परीक्षण गर्ने, अलग्गै बस्ने वा सावधानी लिने कुरा आउँछ। होइन यो मौसमी रुघाखोकीको बेला हो भनेर हामीले बुझ्यौँ भने कोभिड–१९ को सङ्क्रमण झनै फैलिएर भयावह हुनसक्छ,’ उनले भने।

    डा. पुनले भने ओमिक्रोनको लक्षणलाई डेङ्गीका लक्षणजस्तै रूपमा आफूले हेर्ने गरेको बताउँछन्।

    डेङ्गी हुँदा बिरामीहरूले टाउकोको अगाडिको भाग वा आँखा नजिकको भाग एकदमै दुखेको वा जिउ एकदमै दुखेको महसुस गर्ने उनको भनाइ छ।

    ‘रुघाखोकीमा यस्तै हुनुपर्छ भन्ने छैन। मन्द हुन्छ। कोभिडको हकमा टाउको दुख्ने अनि जिउ दुख्ने करा दुई कदम अघि बढे जस्तो देखिन्छ,’ उनले भने।

    त्यसबाहेक रुघाखोकीमा घाँटी दुख्ने वा खसखसाउने भए पनि त्यो मन्द हुन्छ।

    ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित भएकाहरूमा त्यस्तो दुखाइ पनि अलि बढी हुने उनी बताउँछन्।

    परीक्षण गरिहाल्नु पर्छ कि पर्दैन?

    कुनै एक घरमा एक जनामा कोभिड सङ्क्रमण पुष्टि भइसकेको अवस्थामा परिवारका अन्य सदस्यमा पनि लक्षण देखिए परीक्षणका लागि जानु नपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्।

    तर अरूलाई सर्न सक्ने हुँदा त्यस्ता व्यक्तिहरूले सतर्कता अपनाउने र एकान्तवासमा बस्नेजस्ता कार्यहरू भने गर्नुपर्ने उनीहरूको भनाइ छ।

    ‘समान लक्षण समान भए हैजा फैलिएको ठाउँमा सबैको हैजा परीक्षण त गर्नुपर्दैन,’ डा. पुनले भने।

    डा. अधिकारीका अनुसार विगतमा नेपालमा १० दिन एकान्तवास बस्नुपर्ने प्रावधान रहे पनि ओमिक्रोनसम्बन्धी अध्ययनका प्रमाणमा आधारित रहेर त्यो अवधि सात दिनमा झारिएको छ।

    तर कसैमा लक्षण सक्रिय रहेको अवस्थामा भने त्यो अवधिभर र लक्षण हराएको तीन दिन थप एकान्तवासमा बस्नुपर्ने उनी बताउँछन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपाल हाल तेस्रो लहरको उच्चतम अवस्थामा छ।

    मन्त्रालयका अनुसार नेपालमा शुक्रवार थप १०,७०३ जना मानिसमा कोभिड पुष्टि भएको छ र यो वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६५,००० नाघेको छ।

    डा. अधिकारी यो अवस्था अबको एक हप्तासम्म रहने र त्यसपछि क्रमशः ओरालो लाग्ने पूर्वानुमान अनुसार आफूहरूले काम गरिरहेको बताउँछन्।

    कोभिड खोप नलगाएकाहरूमा अस्पताल भर्ना हुने दर र मृत्यु हुने अनुपात बढी रहेको मन्त्रालयले जनाएको छ।

    बिबिसीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...