News Portal

  • दाहसंस्कारका लागि पशुपतिमा वार्षिक बीस लाख केजी दाउरा खपत

    अच्युत रेग्मी
    १४४४ पटक

    काठमाडौँ, ८ माघ । पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ ।

    मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो ।

    टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ । कर्पोरेशनका महाप्रबन्धक राजु लौडारी मासिक झण्डै एक लाख ७० हजारदेखि दुई लाख केजीसम्म दाउरा खपत हुने बताउँछन । “जाडो याममा मानिस धेरै मर्ने भएकाले त्यो समयमा धेरै दाउरा खपत हुन्छ,” – उनी भन्छन ।

    कर्पोरेशनले दाहसंस्कारका लागि सहुलियत दरमा दाउरा उपलब्ध गराउँदै आएको छ । धार्मिक र अन्य प्रयोजनका लागि प्रतिकिलो रु १३ का लागि दाउरा उपलब्ध गराउँदै आएको कर्पोरेशनले दाहसंस्कारका लागि भने प्रतिकिलो रु १० मा दाउरा उपलब्ध गराउँदै आएको हो ।

    कर्पोरेशनले दिएको जानकारीअनुसार आव २०७१÷७२ मा २२ लाख ७२ हजार, आव २०७२÷७३ मा २८ लाख १५ हजार ४०० र आव २०७३÷७४ मा १६ लाख ८८ हजार ४०० केजी दाउरा खपत भएको छ ।

    यो आवको साउनमा एक लाख ८० हजार ८८२, भदौ एक लाख ४५ हजार ८८३, असोज एक लाख ८१ हजार १३०, कात्तिक एक लाख ७९ हजार १८०, मंसिर दुई लाख ४७ हजार ६२० र पुसमा दुई लाख २२ हजार २५० केजी दाउरा खपत भएको कर्पोरेशनले जनाएको छ । “विद्युतीय शवदाह गृहको प्रयोगका कारण पछिल्लो आवमा पहिलेको तुलनामा कम दाउरा खपत भएको छ,”– महाप्रबन्धक लौडारी भन्छन ।

    दाहसंस्कारका लागि प्रयोग हुने दाउरा केही व्यक्तिले धार्मिक प्रयोजनका लागि समेत लाने गरेका छन् । एक मृतकको दाहसंस्कारका लागि सामान्य २५० देखि ३०० केजी दाउरा खपत हुँदै आएको छ । मानिसको साइजअनुसार कसै कसैलाई ३५० देखि ४०० केजीे लाग्ने गरेको छ । पशुपतिको विशिष्ट दाहसंस्कार कक्षमा भने अनिवार्य रुपमा ३०० केजी दाउरा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक राजुकुमार रेग्मी पशुपतिमा मासिक ८०० को हाराहारीमा लास दाहसंस्कारका लागि आउने गरेको बताउँछन । “दाहसंस्कारका लागि आएका लासमध्ये आधाजसो विद्युतीय शवदाह गृहमा जलाइने गरेको छ,”– उनी भन्छन ।

    विसं २०७२ माघ १० देखि सञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा दैनिक १२ देखि १५ लास दाहसंस्कार हुने गरेको उपनिर्देशक रेग्मी बताउनुहुन्छ । विद्युतीय शवदाह गृहको प्रयोगसँगै मासिक एक लाख २० हजार केजी दाउरा बचत हुँदै आएको छ । दुईवटा शवदाह गृह रहेको वनकालीमा पालोपालो दाहसंस्कारको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

    विद्युतीय शवदाह गृहमा एउटा लास पोल्न ४५ मिनेटदेखि एक घण्टासम्म र दाउरामा दुईदेखि तीन घण्टा लाग्ने गरेको छ । विद्युतीय शवदाह गृहको माग बढेसँगै कोषले एक मेशिन थप गर्न लागेको उपनिर्देशक रेग्मीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...