News Portal

  • डीडीसी डुबाउनेको सातो गयो : तुरुन्तै उठ्यो ५० लाख

    इभक्तपुर संवाददाता
    ६८९ पटक

    दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्‍याउने गरी घोटाला गरेको देखिएको हो ।

    घोटाला भएको रकम उठाउन अहिले सञ्चालक समिति सक्रिय भएको छ । संस्थानलाई नोक्सानी पुर्‍याउने कर्मचारीले आफ्नो जिम्मामा रहेको रकम नतिरेपछि उठाउन लागिएको सञ्चालक समितिका सदस्य डा. विशाल बास्तोलाले बताए । ‘पटक–पटक व्यवस्थापनलाई कर्मचारीको दायित्वमा रहेको रकम उठाएर संस्थानको खातामा दाखिला गर्न निर्देशन दिए पनि अटेर गर्ने काम भयो,’ उनले भने, ‘त्यसैले रकम नउठे कारबाही गर्ने निर्णय गरेका छौँ ।’

    मंगलबार बसेको सञ्चालक समिति बैठकले सात दिनभित्र कर्मचारीबाट उठाउनुपर्ने रकम भरपाई गरी दाखिला गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ । आफ्नो भागमा रहेको तिर्नुपर्ने रकम भुक्तानी नगर्ने कर्मचारीको बढुवा र ग्रेड रोक्का गर्न सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिइएको छ । आयोजना प्रमुखले अटेर गरे महाप्रबन्धकले आयोजना प्रमुखकै ग्रेड रोक्काको कारबाही गर्न निर्देशन दिएको छ ।

    संस्थान महाप्रबन्धक गंगा तिमिल्सिनाले दूध संकलन, ढुवानी र स्टोर गर्नेक्रममा हुने क्षतिलाई कर्मचारीको दायित्वमा राखेर हिसाब गर्ने गरेको र त्यसलाई घोटाला भन्न नहुने दाबी गरे । ‘चिलिङ भ्याटदेखि स्टोरसम्मको काम हुँदा क्षति हुन्छ, कतिपय कर्मचारीले पेस्की लिएका हुन्छन्,’ उनले भने, ‘त्यसलाई कर्मचारीको मासिक तलबबाट कट्टा गर्दै बिस्तारै संकलन गर्ने नीति लिएका छौँ ।’ यसपटक सञ्चालक समितिले एकमुस्ट रकम उठाउने निर्णय गरेको र त्यसलाई कार्यान्वयन गर्न सुरु गरेको उनले बताए ।

    रकम उठ्न थाल्यो

    संस्थानलाई तिर्नुपर्ने रकम नदिन खोज्ने कर्मचारीले सञ्चालक समितिको कारबाहीसहितको निर्णय पाएपछि धमाधम आफ्नो भागमा रहेको रकम बुझाउन थालेका छन् । मंगलबार सञ्चालक समितिले निर्णय गरेपछि बुधबार करिब २० लाख रुपैयाँ दाखिला भएको छ । ‘बिहीबारसम्म विभिन्न आयोजनाका कर्मचारीले करिब ५० लाख रुपैयाँ दाखिला गरिसकेका छन्,’ स्रोतले भन्यो । तोकिएको मितिभित्र सबै रकम उठिसक्ने अपेक्षा राखिएको स्रोतको भनाइ छ ।

    यसरी हुन्छ घोटाला

    धेरै कर्मचारीले दूध, दही, घिउ, पनिरलगायत बिक्रीबाट जम्मा गर्नुपर्ने राजस्वबापतको रकम दाखिला गरेका छैनन् । त्यस्तै उत्पादन केन्द्रबाट गोदाममा सामान राख्दा हिनामिना गरिएको छ । ‘उत्पादन केन्द्रमा जम्मा भएको सामान गोदामसम्म पुर्‍याउँदा अपुग देखिएको छ,’ स्रोतले भन्यो, ‘यसरी जिन्सी सामान नै कर्मचारीले अपचलन गरेका छन् ।’ हेटौँडा दुग्ध विकास आयोजनाका कर्मचारीले दुग्ध पदार्थ संकलन गरी गोदामसम्म पुर्‍याउँदा कम परिमाण देखाएर नोक्सानी पुर्‍याएका छन् ।

    धेरैले पेस्की लगेका छन्, तर फस्र्योट गराएका छैनन् । नेपालगन्ज दुग्ध वितरण आयोजनाका अर्जुन पन्थीले साढे १० लाख रुपैयाँ कार्यालय कामका लागि पेस्की लगेको विवरण टिपाएका छन्, तर फस्र्योट भएको छैन । केही कर्मचारीले सवारी दुर्घटनामा परी उपचारका लागि लिएको लाखौँ पेस्की फस्र्योट गरेका छैनन् ।

    यी कर्मचारीले घोटाला गरे
    ०७४ असार मसान्तसम्म काठमाडौं दुग्ध वितरण आयोजनाका भरतबहादुर क्षत्री, राजु न्यौपाने, जगनरावत थारू, धर्मराज अर्याल, प्रदीपकुमार थापा, देवानसिंह दनुवार, छविलाल आले, रामचन्द्र मण्डल, उपेन्द्रसिंह दनुवार र रमेशचन्द्र ओझाले ७६ लाख ९६ हजार ७ सय ७६ रुपैयाँ घोटाला गरेका छन् ।

    ०७३ चैत मसान्तसम्म विराटनगर दुग्ध वितरण आयोजनाका कृष्णराज पोख्रेल, शैलेन्द्रकुमार देव, दिनेश यादव, महेन्द्र भट्टराई, रामबाबुप्रसाद यादव, शुभनारायण यादव, नन्दकुमार कोइराला, गोपालबहादुर खड्का, खगेन्द्रराज शंसी, किशोरकुमार श्रेष्ठ र शिवप्रसाद राजवंशीले कुल २६ लाख ६७ हजार ६ सय ७२ रुपैयाँ हिनामिना गरेका थिए ।

    ०७३ फागुन मसान्तसम्म जनकपुर दुग्ध वितरण आयोजनाका सुखराम मण्डल, विनोदकुमार थापा, राजकिशोर यादव, हस्तबहादुर घलान, रामानन्द सिंह, विनोदकुमार थापा, श्याम यादव, रामउदित कापर, हरिदेव यादव र कमलेस यादवले कुल २५ लाख ३७ हजार ६७ रुपैयाँ घोटाला गरेका छन् ।

    ०७४ वैशाख मसान्तसम्म हेटौँडा दुग्ध वितरण आयोजनाका रामनारायण प्रधान, गोपालप्रसाद घिमिरे, रविन्द कुमार, रामएकवाल राय, जयबहादुर गोले, गगनदेव साह र बच्चु महराले कुल १९ लाख ९१ हजार ४ सय ५६ रुपैयाँ ५८ पैसा घोटाला गरेका छन् ।

    ०७४ वैशाख मसान्तसम्म नेपालगन्ज दुग्ध वितरण आयोजनाका कैलाश कुँवर, रनेन्द्र अधिकारी र अर्जुन पन्थीले कुल १२ लाख १४ हजार २ सय २५ रुपैयाँ २६ पैसा घोटाला गरेका छन् ।

    ०७४ वैशाख मसान्तसम्म पशु आहारा उत्पादन कारखानाका दिलीप कार्कीले कुल १ लाख ६८ हजार ५ सय ९० रुपैयाँ घोटाला गरेका छन् । सबैभन्दा बढी बालकृष्ण भण्डारी, बुढाथोकी कोल्ड स्टोर (शम्भु), तेजनाथ ढकाल, नेजनाथ ढकाल, सुभाष राई, बुसबहादुर भुजेल, प्रेमप्रसाद पराजुली, विनोद शर्मा र गोविन्दबहादुर गुरुङले कुल ८६ लाख ६६ हजार ५ सय ९८ रुपैयाँ घोटाला गरेका छन् । यी कर्मचारीले अहिले धमाधम आफ्नो भागमा दायित्वबापत रहेको रकम दिन थालेका छन् ।

    प्रतिकृया दिनुहोस्

    अक्सफोर्डका विद्यार्थीलाई आत्मविश्वास, सहकार्य र निर्देशनको पालना सम्बन्धी अभिमुखीकरण

    भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम...

    लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामार्दा १६ जना समातिए

    भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त...

    विश्व डाउन सिन्ड्रोम दिवसमा समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

    हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज...

    नेराकस (निजामती) को बागमती प्रदेशमा ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् ।...

    पारिवारिक दुश्मनीले लियो ११ जनाको ज्यान

    पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या भएको छ । बन्दुकधारीहरुले मङ्गलबार सो नरसंहार...