News Portal

  • महाकाली सन्धीको दुई दशक : माछो माछो भ्यागुतो

    इभक्तपुर संवाददाताभक्तपुर, २६ चैत
    ८५० पटक
    भक्तपुर, २६ चैत

    नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ । महाकाली सन्धिको धारा (२) को उपधारा २ ‘क’मा भारतले टनकपुर बाँधको बाँयातर्फ अण्डरस्लुइस नजिकै हेड रेगुलेटर तथा नेपाल–भारत सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ । भारतले टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमा भीमदत्त नगरपालिका–९ मटेनासम्म १ हजार २ सय मिटर नहर निर्माण गर्नुपर्ने भएपनि महाकाली सन्धि भएको २ दशक बित्दासमेत यसबारे चासो दिएको छैन ।

    हेड रेगुलेटर र नहर निर्माण गर्न नेपाली पक्षले सन् २०१४ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरेर भारतलाई बुझाएको जानकारी दिँदै महाकाली सिँचाइ आयोजना, तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) वीरसिंह धामीले भने,’भारतीय पक्षले सँधै यसबारे बखेडा झिक्ने गरेको छ ।’

    भारतीय पक्षले पञ्चेश्वर जलविद्युत् परियोजना अघि टनकपुरको हेड रेगुलेटर र नहर निर्माण गर्न नसकिने बताउँदै आएकाले महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कार्य प्रभावित भएको हो । ‘यसैलाई आधार बनाएर नेपालले आर्थिक वर्ष २०६३/६४ देखि महाकाली सिँचाइ तेस्रो चरणअन्र्तगत नहर निर्माण अगाडी बढाएको थियो तर भारतले पानी दिने नदिनेबारे अहिलेसम्म कुनै टुंगो छैन,’ इन्जिनियर धामीले भने,’हामीले आफ्नोतर्फ नहर भने खनिरहेकै छौँ ।’

    महाकाली सिँचाइ आयोजनको तेस्रो चरणअन्तर्गत कञ्चनपुरको मटेनादेखि कैलालीको मालाखेतीसम्म मूल नहर तथा शाखा नहरको कूल लम्बाई १५१ किलोमिटर छ । उक्त नहर स्न २०२२ सम्म पुरा गर्ने लक्ष्य रहेपनि समयमै पुरा हुने अझै छाँटकाँट छैन । हालसम्म करिब १३ किलोमिटर नहर मात्रै निर्माण भएको छ । नहर निर्माणका लागि २७ अर्ब रूपैयाँ लागत अनुमान गरिएको छ । करिब एक दशक बित्दा १ अर्ब ८० करोड रूयैयाँ मात्रै खर्च भएको छ ।

    ‘६० करोड रुपैयाँ जग्गा मुआब्जामा मात्र खर्च भयो,’ इन्जिनियर धामीले भने,’जग्गा मुआब्जा विवादका कारण नहर निर्माणको काम लामो समयसम्म प्रभावित बन्यो ।’ शाखा प्रशाखा गरी कूल १ हजार ६ सय किलोमिटर लामो नहर सञ्जाल छ ।

    नहर निर्माणका लागि चालु आवमा २८ करोड रूपैयाँ रकम विनियोजन गरिएको थियो । त्यसमध्ये २२ करोड रूपैयाँ नहर निर्माण तथा ५ करोड रूपैयाँ जग्गा मुआब्जामा खर्च भएको छ । चालु आवको अहिलेसम्ममा ६ किलोमिटर नहर निर्माण गरिएको छ । गत आवमा नहर निर्माणका लागि ३१ करोड रूपैयाँ विनियोजन गरिएको थियो भने चार किलोमिटर नहर निर्माण भएको थियो । आर्थिक वर्ष २०७५/७६ का लागि १ अर्ब रूपैयाँ बजेट माग गरेको इन्जिनियर धामीले बताए ।

    ‘थप १५ किलोमिटर नहर निर्माणको ठेक्का भएर मुआब्जा प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने,’नहर निर्माणका लागि तीनवटा समूहमा ठेक्का दिइएको छ, अहिलेसम्म निर्माण सम्पन्न गरिएका नहर हस्तान्तरणको चरणमा छ ।’ अब बन्ने १५ किलोमिटर नहरका लागि २ अर्ब ९४ करोड रूपैयाँ बजेट आवश्यक पर्छ । तेस्रो चरणको नहर निर्माण सम्पन्न भए कैलाली र कञ्चनपुरको गरी कूल ३३ हजार ५ सय २० हेक्टर जमिनमा सिँचाइ गर्न सकिनेछ ।

    ‘सरकारको प्राथमिकतामा नपर्दा अझै एक दशकसम्म नहर निर्माण पुरा हुने छाँटकाँट देखिन्न,’ इन्जिनियर धामीले भने । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणलाई वर्सेनि आर्थिक अभाव हुने गरेको छ । भारतले टनकपुर बाँधबाट सुक्खा याममा महाकालीको ३ सय क्युसेक तथा वर्षा याममा १ हजार क्युसेक पानी उपलब्ध गराउने महाकाली सन्धिमा उल्लेख छ । महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गतको नहर निर्माण भइरहे पनि महाकालीको पानी पाउनेबारे अझै अनिश्चितता छ ।

    ‘भारतले नेपाललाई महाकाली सन्धिअनुसार पानी उपलब्ध गराउन चाहेको छैन,’ महाकाली सन्धिबारेका जानकार ऋषीराज लुम्सालीले भने,’पानी उपलब्ध हुनेबारे टुंगो नलागेसम्म नहर निर्माण गर्नुको कुनै अर्थ छैन ।’ अहिलेसम्म नेपालले भारतसामु महाकाली सन्धि कार्यान्वयनको विषयलाई जोडतोडका साथ राख्न नसकेको उनको आरोप छ ।

    महाकाली सन्धि कार्यान्वयन नहुँदा कञ्चनपुर र कैलालीका किसान सिँचाइ सुविधाबाट बञ्चित हुँदैआएका छन् । ‘किसान आकासे पानीका भरमा खेती गर्दैआएका छन्,’ प्रभावित क्षेत्रका बासिन्दा एवं कांग्रेसका जिल्ला सचिव दिवाकर पाण्डेयले भने,’भारतले पानी नदिने मनसायले नै नहर निर्माणमा चासो दिएको छैन ।’ पानी उपलब्ध नभए नहर निर्माणमा गरिँदै आएको लगानी खेर जाने उनको चिन्ता छ ।

    लामो समयदेखि जलस्रोतको विषयमा कलम चलाउँदै आउनुभएका पत्रकार विकास थापा महाकाली सन्धि भएको २२ वर्ष वित्दा पनि टनकपुर बैराज नहरबाट ३ सय क्यूसेक पानी नपाउनुमा नेपालकै दोष देख्छन् । ‘नेपालले महाकाली सन्धि कार्यान्ययनका लागि भारतलाई दबाब दिन सकेन,’उनले भने,’महाकाली सन्धि कार्यान्वयन गर्न नसके पञ्चेश्वर जलविद्युत् परियोजना अघिबढाउनुको कुनै अर्थ छैन ।’

    महाकाली सिँचाइको पहिलो चरणको काम सन् १९७५ मा शुरु भएको हो । सन् २००४ मा सम्पन्न भएको उक्त योजनाबाट ४ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । भारतले महाकाली नदीको पानी लगेर सिँचाइ गर्न नहर सन् १९२८ मा शारदा बैराज नहर निर्माण गरेको हो । शारदा ब्यारेज जीर्ण हुँदै गएपछि विसं २०४७ मा शारदा ब्यारेजभन्दा १२ किमी उत्तरतर्फ भारतले महाकाली नदीमा टनकपुर ब्यारेज (नहर) निर्माण गरेको हो । भारतले टनकपुरबाट १५ मेगावाट विद्युत्समेत उत्पादन गर्दैआएको छ ।

    भारतले नहर खनेको ४७ वर्षपछि मात्र नेपालले महाकाली सिँचाइअन्तर्गत पहिलो चरणको नहर निर्माणको काम थालेको हो । नेपालले आर्थिक स्रोत जुटाउन नसक्दा नहर निर्माणको थालनी समयमै गर्न नकसेको इन्जिनियर धामीको भनाइ छ । विश्व बैंकबाट आर्थिक अनुदान जुटाएपछि मात्र पहिलो चरणको काम अगाडी बढेको हो ।

    दोस्रो चरणको नहर निर्माण सन् १९८८ देखि सुरु भएको थियाे भने सन् २००१ मा पुरा भएको हो । दोस्रो चरणको नहरबाट ६ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । २२ वर्षअघि २०५२ माघ २९ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पी भी नरसिंह रावबीच महाकाली सन्धि भएको हो । पञ्चेश्वर परियोजना र महाकाली नदीको एकीकृत विकास सम्बन्धी गरएिको उक्त सन्धिको धारा (२) को उपधारा २ ‘क’ मा भारतले टनकपुर बाँधबाट नेपालले पाउने पानी प्रवाहित गर्नका लागि हेड रेगुलेटर र नेपालको सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख थियो ।

    प्रतिकृया दिनुहोस्

    उपमेयर कप उपत्यकाब्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिताका सम्पन्न, हेर्नुस् नतिजा

    प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाब्यापी  अन्तरपालिका एकायन कराँते प्रतियोगिताका सम्पन्न भएको छ । काठमाडौं...

    १५ माघसम्म सरकारी कार्यालय १ घण्टा अघि नै बन्द हुने

    bhaktapur cdo

    चाडपर्व सकिएसंगै सरकारी कार्यालयको दैनिक सेवा प्रभावकारी देखिएको छ । सबै कर्मचारी उपस्थित देखिएका छन्...

    प्रहरी सन्ततिसंग उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन माग

    नेपाल प्रहरीले प्रहरी सन्ततिसंग उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आइतवार एक...

    समुदायको लापरवाहीले भक्तपुरमा डेंगु संक्रमण बढेको जनस्वास्थ्य प्रमुखको जिकिर

    जनस्वास्थ्य कार्यालय भक्तपुरले समुदायको लापरवाहीले जिल्लामा डेंगु रोगको जोखिम बढेको जिकिर गरेको छ । निर्माण...

    लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा अर्का मेडिकल संचालक समातिए

    bhaktapur police

    लागू औषध विरुद्ध भक्तपुर प्रहरी आक्रामक भएको छ । अघिल्लो आर्थिक वर्ष लागू औषध कारोबारको...