महेश बस्नेत
प्रधानमन्त्रीको इच्छा बमोजिम काम हुन नसक्नुमा मलाई मुख्य तीन कारण छ जस्तो लाग्छ । एउटा, प्रधानमन्त्रीले जुन गतिका साथ मुलुकलाई अघि लैजानका लागि भ्रष्ट्राचार, अनियमितता रोक्ने, हुन नदिने, विगतमा भएका अनियमितताको छानबिन गरी कारबाही गर्ने लक्ष्य लिनुभयो, त्यसअनुसार जनतासँग प्रधानमन्त्रीको सम्बन्ध व्यवस्थित र सुमधुर हुने खालको ‘च्यानल’ बनाउनुपर्थ्याे, त्यो बन्न सकेन । सुशासन कायम गर्न चाहने शासक जहिल्यै पनि जनतासँग नजिक हुनुपर्थ्यो ।
तर, सल्लाहकार र सचिवालयमा जनतासँग नभिजेको, जनताबाट म्यान्डेट नपाएको टिम भएका कारण जनता र प्रधानमन्त्रीबीचको सम्बन्ध सुमधुर बनाउनुपर्ने च्यानल नै व्यवस्थित हुन सकेन । त्यसकारण जनताका कुरा, जनप्रतिनिधिका कुरा नै प्रधानमन्त्रीकहाँ पुग्न सकेन । प्रधानमन्त्रीलाई मैले जुन स्वच्छ भावनाका साथ काम गरिरहेको छु, त्यो नै ठीक हो भन्ने लागिरह्यो । तर, त्यसलाई जनताले कसरी लिएका छन् भन्ने प्रतिक्रिया सही ढंगले त्यहाँ पुर्याउन सल्लाहकार तथा सचिवालय टिमले ध्यान दिनै सकेन । दोस्रो, पार्टीभित्रको अन्तरविरोधमाथि खेलेर, चर्काएर नाफा लिन खोज्ने शक्तिहरू निकै सक्रिय छन्।
तर, त्यो सक्रियतालाई निस्तेज पार्न प्रधानमन्त्री र पार्टी अध्यक्षको टिम परिचालित हुन सकेन । जस्तै, पार्टीभित्र कहिले प्रचण्डलाई, कहिले माधव कमरेडलाई, कहिले केपी कमरेडलाई लगेर के–के भन्दिएको छ । यसरी तीनजना शीर्ष नेताको बीचमा तीन–चारवटा धुरी बनाएर त्यसबाट लाभ लिने र परिआउँदा सत्ता नै ढाल्नेसम्मको खेल पनि गर्ने चालबाजी तथा योजनाबद्ध प्रयास भएका छन् । त्यसलाई नियन्त्रण गर्न, न्यूनीकरण गर्न शीर्ष नेताको ध्यान नपुगेको हो कि भन्ने मलाई लाग्छ ।
तेस्रो, विगतदेखि नै सत्तामोहमा लुटपुटिएको पार्टी र सत्ताबाट असंख्य लाभ लिएका व्यवसायी तथा व्यापारीको ठूलो पंक्ति छ । उनीहरूमा विगतमा जायज, नाजायज सबै कामलाई आफ्नो धन्दा बनाएको, तर अहिले सोचेअनुसार नभएकोमा छटपटाहट छ । यद्यपि, सरकारसँग विविध हिसाबले सम्बन्ध बनाएर, झुक्याएर, भ्रममा पारेर अथवा के–के गरेर लाभ लिन सक्ने घेराले भने लाभ लिएकोलियै छ । उदाहरणका लागि चाहे स्वास्थ्य मन्त्रालयको औषधि खरिद प्रकरण होस् या चाहे गोकुल बाँस्कोटासँग जोडिएको प्रकरण ।
दुवैमा उहाँहरू संलग्न हुनुभएको होइन, तर उहाँहरूलाई झुक्याएर अथवा विषयविज्ञताको अभावबाट फाइदा लिएर जुन ढंगले प्रभावित पारियो, त्यसैको परिणाम हो, उहाँहरू जोडिएको विवाद । ती प्रकरणमा गल्तीभन्दा पनि ढंग नपुग्दा, सुझबुझ नपुग्दा उहाँहरूमाथि जनआक्रोश उत्पन्न हुने स्थिति बनेको हो भन्ने मलाई लाग्छ । अतः अब प्रधानमन्त्रीले तीनवटा बोल्ड निर्णय गर्नुपर्छ, यसअघिका ती कमीकमजोरी सच्याउने गरी नै गर्नुपर्छ । पहिलो, जनता र कार्यकर्तासँगको सम्बन्ध र संगठनलाई मजबुत बनाउने कुरामा प्रधानमन्त्रीको राजनीतिक वा सल्लाहकार टिम तथा सचिवालय टिममा त्यस तहका मान्छेको छनोट गर्नुपर्छ । को–को गर्ने उहाँले नै विचार गर्नुभएको होला । दोस्रो, पार्टीनेताहरूबीचको सम्बन्ध सुमधुर बनाउने र रहेका ग्याप तथा असमझदारी हटाउने कुरामा पार्टीको दोस्रो र तेस्रो तहका नेतालाई परिचालित गर्नुपर्छ ।
ग्याप र असमझदारी बढाउन भूमिका खेल्नेहरूको पहिचान गर्नुपर्छ । तेस्रो, स्वार्थ बोकेका व्यापारी–व्यवसायी समूहलाई नजिक आउनबाट रोक्नुपर्छ । जो अनावश्यक ढंगले टाढिएका छन्, चलखेल गर्न खोज्दै छन्, जायज माग छ भने सुनिदिनुपर्छ, छैनन् भने जेल हाल्ने हो कि, थुन्ने हो कि, आपराधिक गतिवधिमा छन् भने कारबाही गर्ने हो कि, त्यो पाटोमा विगतमा जसरी नै अघि बढ्नुपर्छ । सायद प्रधानमन्त्रीले गर्ने बोल्ड निर्णय यिनै होला । न कि प्रधानमन्त्रीको नजिक रहेर, अरूको सत्तोसराप गरेर प्रधानमन्त्रीको सेवा गरेजस्तो मोडलबाट केही हुन्छ जस्तो मलाई लाग्दैन ।
(सांसद एवं सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले नयाँ पत्रिकासंग व्यक्त गरेको विचार)