उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

काठमाडौं  ।  काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा  टिक्न सकेन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो । तर, यो निर्णयको प्रदेश सरकारहरुले विरोध गरेपछि सरकार पछाडि हट्न बाध्य भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् । अहिले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको  बताए ।