News Portal

  • बिस्केट जात्रा सम्झनामा सीमित

    रमेश गिरी (रासस) भक्तपुर, १ वैशाख
    ८१० पटक
    भक्तपुर, १ वैशाख

    नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न आजको दिन विभिन्न जिल्लाबाट हजारौँको भीड लाग्ने गर्दथ्यो । परम्परागत तान्त्रिक विधिअनुसार वैशाख १ गते भक्तपुर र थिमिमा मनाइने बिस्केट जात्रा हेर्न बिहानदेखि घुइँचो हुन्थ्यो । भक्तपुरको ल्यासिंकखेलमा चैत मसान्तमा लिङ्गो उठाएपछि १ गते दिनभरि जात्रा गरी राति लिङ्गो नढालेसम्म भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट जात्रा हेर्न आउने हजाराैको घुइँचो यस वर्ष सम्झनामा मात्रै सीमित भयो ।

    टौमढी युथ क्लब भक्तपुरका पूर्वअध्यक्ष विजय धौभडेल आजको दिन विगतका जात्रा सम्झेर, पुराना बिस्केटका फोटो, भिडियो हेरेर चित्त बुझाउनु परेको बताउँछन् । हजारौँको भीडमा जात्रामय हुने भक्तपुर यसरी सुनसान हुँदा मन खल्लो भएको उहाँ बताउनुहुन्छ । ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो जात्रा हेरेमा सहकाल आउने, मनोकाङ्क्षा पूरा हुने, शत्रु नाश हुने जनविश्वास रहे पनि यस वर्ष जात्रा हेर्न र मनाउन नपाएको स्थानीयवासी बताउँछन् । घरघरमा हुने भोज यस वर्ष कसैको घरमा भएन । न त स्वदेशी, विदेशी पाहुना नै आए । कोरोना भाइरसले यस वर्षको जात्रा, पर्व, संस्कृति, परम्परालाई पनि ओझेलमा पारेको बताउँदै धौभडेल कोरोनासँगको युद्ध जित्न पाए अर्को साल भव्यसँग जात्रा मनाऊँला भन्छन् ।

    सुनसान चरखण्डी ः

    सूर्यविनायक नगरपालिकाको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा भने आज बिहानैदेखि स्थानीय दर्शनार्थी पुगेका थिए । हरेक वर्ष वैशाख १ गते राति २ बजेदेखि दर्शनार्थीको घुइँचो लाग्ने यो मन्दिर यस वर्ष न सिङ्गारियो, न त खट जात्रा नै गरियो तर पनि स्थानीयवासीले सामाजिक दूरी कायम गरेर पूजा भने गरेका छन् । चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई गरेको काम सफल हुने जनविश्वासले हरेक वर्ष वैशाख १ गते भीड लाग्ने भए पनि यस वर्ष सामान्य पूजामा नै पर्व सकिएको स्थानीयवासी एवम् संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताउँछन् ।

    किंवदन्तीअनुसार शिकारीले मारेको भङ्गेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनर्जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए शरीरमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ भने यही विश्वासले यहाँको कुण्डमा स्नान गर्ने, स्थानीयवासीले भव्य जात्रा मनाउने, शरीरमा बत्ती बाल्नेको भीड लाग्ने गरे पनि कोरोना सङ्क्रमण रोक्न सरकारले लगाएको लकडाउनका कारण मन्दिर जात्राविहीन भएको छ ।

    त्यसैगरी दधिकोटको चित्रपुरस्थित पूर्णविनायक गणेश मन्दिरमा पनि बिहानदेखि मेला लाग्ने गरेकामा यस वर्ष गणेशको खट जात्रासमेत गरिएन । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाउने र मेला भर्ने यो मन्दिरमा आज न त खट उचालियो न त धिमाय बज्यो । यता सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा भने सामाजिक दूरी कायम गरेर बिहान स्थानीयवासीलाई पूजा सञ्चालन गर्न दिइएको थियो ।

    थिमिको चान्हेसिया अर्थात् रात्रिको जात्रा पनि भएन ः

    मध्यपुरथिमिमा चैत मसान्तको दिन साँझबाट शुरु गरी रातभर सञ्चालन हुने चान्हेसिया अर्थात् रात्रिको जात्रा यस वर्ष भएन । बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा शुरु गर्ने परम्परा भए पनि यस वर्ष द्योछेंंबाट देवता निकालिएन । जात्रा पनि भएन ।

    दिगुटोलस्थित दिगुभैरबलाई आचाजु कर्माचार्यको घरबाट लायकु ल्याएर तलेजुबाट बालकुमारीलाई ढकीमा राखी कपडाले छोपी बालकुमारी मन्दिरमा विराजमान गराइएपछि थिमिको अधिकांश घरघरबाट हातहातमा चिराग बालेर, धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हँुदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराउने परम्परा रहेको यो जात्रा विगतका वर्षको सम्झना मात्रै भएको थिमिका बासिन्दा बताउँछन् ।

    त्यसैगरी मध्यपुर थिमिका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवम् सिद्धिकालीमा मनाउने जात्रा पनि हुन सकेन । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमासमेत परिक्रमा गराउने प्रचलन थियो ।

    त्यस्तै सिद्धीकालीका साथै अन्य विभिन्न देवगण थिमिको हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याई स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराएर मनाउने जात्रा पनि यस वर्ष भएन ।

    सूर्यविनायकको कटुञ्जेमा रहेको सुशिला भैरबको जात्रा पनि यस वर्ष रोकिएको छ । सुशिला भैरबलाई खटमा राखेर टोलटोल घुमाएर घरघरबाट पूजा गरी मनाइने यो जात्रा यस वर्ष कोरोना भाइरसकै कारण बन्द भएको स्थानीयवासी अमर भुजुले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...