५ दिन कैद र जरिवाना फैसला भएपछि फरार सल्लाघारीका प्रधानाङ्ग पक्राउ

बैंकिङ कसुर मुद्धामा ५ दिन कैद र करिब ७ लाख जरिवाना फैसला भएका मधुराम प्रधानाङ्ग सोमबार पक्राउ परेका छन् । पक्राउ परे लगत्तै प्रधानाङ्गलाइ कारागार चलान गरिएको छ । भक्तपुर नगरपालिका वडा नम्बर ५ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारी बस्ने ५८ वर्षीय प्रधानाङ्गलाई भक्तपुर जिल्ला अदालतले गत माघमा ५ दिन कैद र ६ लाख ९६ हजार १ सय रुपैया जरिवाना हुने फैसला सुनाएको थियो । प्रतिभा नायभा श्रेष्‍ठको जाहेरीले वादी नेपाल सरकार प्रतिबादी मधुराम प्रधानाङ्ग भएको बैंकिङ कसुर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट उक्त फैसला भएपछि उनी फरार रहेका थिए । महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरी प्रधानाङ्गलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले फैसला कार्यान्वयनको लागि सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथदेवल पठाउने आदेश दिएकोले आदेशको कार्यान्वयन गरिएको डिएसपी दिपक गिरीले जानकारी दिए ।