News Portal

  • गाईजात्रा पर्वबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश

    समाजलाई कोरोना संक्रमणबाट बचाउने महान अभिभारा हाम्रो काँधमा

    सुनिल प्रजापतिभक्तपुर, १८ साउन
    १८३४ पटक
    भक्तपुर, १८ साउन

    दाजुभाइ तथा दिदी बहिनीहरू,
    कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभरमा अहिले संक्रमितहरूको संख्या २०  हजार नाघिसकेको छ । काठमाडौं उपत्यकामै छ सय भन्दा बढी तथा भक्तपुरमा नै ५० बढी संक्रमित भएका र देशभर ५७ जनाको मृत्युसमेत भइसकेको सरकारी तथ्याङ्कले देखाएको छ ।

    विज्ञहरूका अनुसार नेपालमा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिसकेको छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या क्रमशः बढ्दैछ । समाजमा भयावह स्थिति आउनेतर्फ विज्ञहरूले निरन्तर सचेत पार्दै आउनुभएको छ ।

    सरकारले लकडाउन खुकुलो पारेको छ । यसको अर्थ हामी संक्रमणबाट मुक्त भइसकेको होइन, अझ संक्रमणको खतरा बढेको छ । काम गरी खान कुनै बाधा व्यवधान नहोस् भनेर सरकारले लामो समयपछि लकाउन हटाएको हो तर पूर्ण रूपमा हटाइसकेको छैन ।

    लकडाउन फिर्ताको अर्थ भीडभाड गरी भोज भतेर गर्न, जात्राहरू सञ्चालन गर्न, देवी—देवता स्थानमा ठूलो समूह भेला भएर मनोरञ्जन गर्न वा पुजाआजा गर्न तथा सांस्कृतिक प्रदर्शन गर्न छुट दिएको होइन । त्यस्तो बुझाइ कसैमा छ भने त्यो गलत हो ।

    रोगले जाति, भाषा, क्षेत्र र वर्ग चिन्दैन । सबैले आ—आफ्नो सुरक्षा आ—आफैले गर्नु नै कोरोना भाइरस संक्रमणबाट बच्ने सबभन्दा सहज उपाय हो । साबुन पानीले हात धुनु, स्यानिटाइजर प्रयोग गर्नु र मास्क लगाउनु अरु कसैको निम्ति नभएर आफ्नै लागि हो । त्यसैले सबै नागरिकहरूलाई सुरक्षित साथ आ—आफ्नो काममा लाग्नु हुन भक्तपुर नगरपालिकाको तर्फबाट आग्रह गर्दछौं ।

    वीरगञ्ज, राजविराज, विराटनगरलगायतका ठाउँहरूमा कर्फ्यू जारी गरी स्थानीय तहले जनतालाई रोग संक्रमणबाट बचाउने प्रयास गरिरहेका छन् ।

    हामीमा जोखिम त्यो तहमा नपुगे पनि कुनै पनि बेला उपत्यकामा संक्रमणको पूरै भयावह स्थिति हुनसक्नेबारे हामी सचेत हुनैपर्छ ।

    आदरणीय जनसमुदाय,
    गाईजात्रा नजिकिंदैछ । भक्तपुरको गाईजात्रा विशेष प्रकारको जात्रा हो । देशका विभिन्न ठाउँबाट गाईजात्रा हेर्न मानिसहरु भक्तपुर आउने गर्छन् । गाईजात्रा पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित गर्न र संस्कृति संरक्षण गर्न यसअघि भक्तपुर नगरपालिकाले गाईजात्राको समयावधिभर प्रस्तुत हुने परम्परागत र आधुनिक विधाका छुट्टा–छुट्टै मूल्यांकन गरी पुरस्कारको समेत व्यवस्था गर्दै आएको सर्वविदितै छ ।

    तर, यो वर्ष कोरोना भाइरसका कारण हामी अत्यन्तै सचेततापूर्वक हिंड्नुपर्ने अवस्थामा छौं । त्यसैले भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, महानगरी प्रहरी परिसर, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समिति, बाराही द्योछेँ, भैरवनाथ नाइके, आकाश भैरव नौ दाफा, चपाः दाफा भजन, दत्तात्रय दाफा भजनलगायत सरोकारवालाहरूका प्रतिनिधिहरूसँग पटक पटक बैठक गरी यो वर्ष गाईजात्रामा घिन्ताङघिसी नलाने, दाफा भजनमा सहभागी नहुने र सामान्य औपचारिकता मात्र सीमित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौं ।
    त्यसैगरी गुँला बाजा समूहका प्रतिनिधिहरूको भेलाले यो वर्ष गुँला बाजा स्थगित गर्ने निर्णय गरेको छ । नगरपालिकाको भावनालाई साथ दिनुभएकोमा उहाँहरू सबैलाई भक्तपुर नगरपालिका धन्यवाद ज्ञापन गर्दछ ।

    कोरोना संक्रमणलाई ध्यानमा राखेर गाईजात्रा सामान्य औपचारिकतामा सीमित गर्ने निर्णयअनुसार यहाँहरूले गाईजात्रामा भिडभाड हुने घिन्ताङघिसी ननिकाल्न, परम्परागत र आधुनिक तथा सांस्कृतिक विधाहरू प्रदर्शन नगर्न तथा पञ्चदानजस्ता पर्वहरू नमनाउन सम्पूर्ण नगरबासीहरूमा हार्दिक अपिल गर्दछौं ।

    हामी स्वस्थ रह्यौं भने चाडपर्व र जात्रा हामी अर्को वर्ष मनाऔंला । समाजलाई कोरोना संक्रमणबाट बचाउने महान अभिभारा हाम्रो काँधमा छ । तपाईं हामी मिलौं, कोरोनाबाट समाजलाई बचाऔं ! यो नै हाम्रो आजको सबभन्दा ठूलो जिम्मेवारी हो । सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरौं । धन्यवाद !

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...