भक्तपुर, ५ भदौं भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको १७ बुंदे निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव परेको पाइएको छ । सडकमा अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् भने मानिसहरुको आवतजावतमा पनि कडाई गरिएको पाइएको छ ।

निषेधाज्ञा समयमा भक्तपुरको नयाँ बाटो छ लेन सडक सुनसान बनेको छ भने पुरानो बाटोमा पनि सवारी साधन चलेका छैनन् । सानोठिमीका सरकारी कार्यालय समेत बन्द भएपछि बाटो सुनसान छ ।

मध्यपुर नगरपालिकामा धेरै संक्रमण देखिएपछि मानिसहरुले निषेधाज्ञा उल्लङ्घन गर्ने दुस्साहस देखाएका छैनन् ।

भक्तपुर नगरपालिकाको दरबार क्षेत्र, टौमढी, नासमना, पोटरी स्क्वायर, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयलगायतका सडकहरु पनि सुनसान छन् ।

दत्तात्रयमा तीजका बेला हुने चहलपहल यसपटक ठप्प छ ।

सूर्यविनायक र चाँगुनारायणमा पनि बन्दको पूर्ण प्रभाव परेको छ ।
प्रहरीले निषेधाज्ञा कार्यान्वयनमा कडाइ गरेको छ भने निषेधाज्ञा उल्लंघन गरी बाहिर निस्केकाहरुलाई केही समयको लागि नियन्त्रण (होल्ड) मा लिएर राख्ने गरेको एसपी तारादेवी थापाको भनाइ छ ।

कोभिड १९ को बढ्दो संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारको निर्देशन बमोजिम बुधबार राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म एकसाताको लागि भक्तपुर संगै उपत्यकामा निषेधाज्ञा लागू भएको हो ।

संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बमोजिम निषेधाज्ञा जारी भएको र त्यसको उल्लङ्घन गर्ने जो कोही कारवाहीको भागीदार हुने भक्तपुर सिडिओ हुमकला पाण्डेको भनाइ छ ।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता सेवालाई भने अत्यावश्यक सेवा मानि संचालनमा रोक लगाइएको छैन ।




