News Portal

  • प्रजिअ पाण्डेकाे बिदाइ : सांसद भँडेल जीवनमै पहिलोपटक सिडिओको बिदाइमा सहभागी

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, १० मङ्सिर
    ४४९१ पटक
    भक्तपुर, १० मङ्सिर

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे बिदाइ भएकी छन् । गृह मन्त्रालयमा सरुवा भएको पत्र प्राप्त हुनासाथ उनी बिदाइ भएकी हुन् ।

    बुधवार जिप्रकामा एक औपचारिक कार्यक्रमका बीच उनको बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा प्रदेश सांसद कृष्णलाल भडेल, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी, सुरक्षा निकायका प्रमुखहरु त्यसैगरी बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु तथा जिप्रकाका कर्मचारी र शुभेच्छुकहरु सहभागी रहेका थिए ।

    उक्त अवसरमा प्रदेश सांसद कृष्णलाल भँडेलले आफू जीवनमै पहिलोपटक सिडिओको बिदाइ कार्यक्रममा सहभागी भएको बताए । प्रजिअ पाण्डेमा कसैको दवाब र प्रभावमा नपरी सबैलाई मिलाएर अघि बढ्न सक्ने सामर्थ्य भएको भन्दै उनले सोहीकारण आफू उनको बिदाइमा उपस्थित भएको खुलासा गरेका थिए । कार्यक्रममा आफूलाई नबोलाइएको भएपनि निष्पक्ष भूमिकामा अडिग भएका कारण बिदाइ गर्नुपर्छ भन्ने लागेर आफू आएको उनले बताएका थिए । त्यसैगरी जिसस प्रमुख नवराज गेलालले प्रजिअ पाण्डे जत्तिको योग्य, इमान्दार र सरल सिडिओ यस अघि आफूले नदेखेको भन्दै उनको प्रशंसा गरेका थिए । त्यतिमात्र होइन, उनीहरुले भक्तपुरलाई फेरिपनि हुमकला पाण्डे नै सिडिओ चाहिएको छ भन्दा माहौल भावुक बनेको थियो ।

    कार्यक्रममा नागरिक समाजका प्राडा उत्तमकृष्ण कर्माचार्य, एसपी तारादेवी थापा, जिल्ला समन्वय अधिकारी जगन्नाथ अधिकारी लगायतले प्रतिनिधिमूलक बिदाइ मन्तब्य व्यक्त गरेका थिए । उनीहरुले सिडिओ पाण्डेको पारदर्शी, मित्रवत र समन्वयकारी स्वभावका कारण काममा कहिल्यै प्रेसर महसुस नभएको भन्दै उनको पेशागत जीवनको सफलता तथा निजामती सेवाको सर्वोच्च पद ‘मूख्य सचिव’ मा पुग्न सक्ने सामर्थ्यका लागि सुभेक्षा प्रकट गरेका थिए । कार्यक्रममा प्रजिअ पाण्डेले आफ्नो कार्यकाल लाई सफल बनाउन तथा जिल्लाको शान्ति सुरक्षा र कोभिद १९ रोकथाम र नियन्त्रणमा सहयोगी भूमिका निभाएको भन्दै १ दर्जन व्यक्तिहरुलाई कदर पत्र प्रदान गरेकी थिइन् ।

    कदर पत्र प्राप्त गर्नेमा भक्तपुर पोस्टका सम्पादक संजीप शुभचिन्तक सहित ४ जना पत्रकार समेत परेका छन् । अन्य तीनमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,रासस प्रतिनिधि रमेश गिरी तथा कान्तिपुरकर्मी लिला श्रेष्ठ रहेका छन् । त्यसैगरी भक्तपुरबाट सरुवा भएर कार्यक्षेत्रमा गैसकेका नेपाल प्रहरीका एसपी सविन प्रधान, सशस्त्रका एसपी विश्व भट्टराई, गणपति शिवप्रसाद पौडेल र राअविका अनुसन्धान निर्देशक सुरेन्द्र कोइरालासम्मलाई सिडिओ पाण्डेले कदर पत्र प्रदान गरेकी छन् ।

    बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पाण्डेले भक्तपुरको १ वर्षले आफ्नो पेशागत जीवनमा थप उर्जा थपेको बताइन । आफ्नो कार्यकाल कोभिड १९ का कारण चुनौतीपूर्व बनेको स्मरण गर्दै उनले सबैको साथ् र सहयोगले कोभिड १९ रोकथाम र नियन्त्रणमा उपत्यकामै बढी काम भक्तपुरमा भएकोप्रति सन्तोष व्यक्त गरिन ।

    कोभिड १९ को त्रास रहेको प्रारम्भिक अवस्थामा खरिपाटी क्वारेन्टाइन व्यवस्थापन र संचालनको चुनौती, राजधानीको ट्रान्जिट पोइन्ट भएकोले मोबिलिटी नियन्त्रण तथा घना वस्ती र सांस्कृतिक नगरको रुपमा रहेको भक्तपुरमा बिभिन्न जात्रालाई औपचारिक रुपमा सिमित गर्नु चानचुने कुरा नभएको भन्दै प्रजिअ पाण्डेले यसमा स्थानीय सरकार, बिभिन्न राजनीतिक दल, संघ संस्था, मिडिया,स्थानीय जनता, सुरक्षा निकाय र कर्मचारीहरुको सहयोग सदैव अविस्मरणीय रहने बताइन ।

    सिडिओ हुनु भनेको जिल्लाभरीकै दुखसुखको भारी बोक्नु भएको अनुभुती साट्दै उनले जिल्लामा सानो घटनाको सम्भावित परिणामबारे सुझ्म अध्ययन र विश्लेषण हुन नसक्दा राज्यले नै ठूलो मूल्य चुकाउनुपर्ने सम्भावनाबारे आफूहरुले सचेत रहेर काम गर्दा जिल्लामा कुनै अप्रिय घटना नभएकोमा उनले सन्तोष व्यक्त गरेकी थिइन् । कोभिडका कारण जिल्लामा गर्नुपर्ने कयौं काम गर्न नसकिएकोप्रति प्रजिअ पाण्डेले दुख समेत व्यक्त गरेकी थिइन् ।

    अर्घाखाँचीमा जन्मिएकी तथा गुल्मी घर भएकी भक्तपुरकी प्रजिअ पाण्डे बाैद्धिक र याेजनाबद्ध कार्य सम्पादन गर्ने एक सफल प्रमुख जिल्ला अधिकारीमा आफ्नो नाम दर्ज गराउन सफल सहसचिव हुन् । बाहिरी दबाबमा नपरी कानुनसम्मत र विवेकशील निर्णय गर्ने कारण उनी भक्तपुरमा कहिल्यै बिबादमा परिनन् ।

    एक वर्ष अघि हेटौडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय प्रमुखबाट सरुवा भइ भक्तपुरको प्रमुख जिल्ला अधिकारीको पदभार ग्रहण गरेकी पाण्डेले भक्तपुरमा आफूलाई योग्य सावित गर्न सफल भइकी छन् । गत साउनमा गृह मन्त्रालयले गरेको आन्तरिक मूल्यांकनमा उनी ७७ सिडिअेामध्ये उत्कृष्ट १९ भित्र पर्न सफल भएकी थिइन् । उनी अघिका सिडिओ कार्यसम्पादन मूल्यांकनमा ६४औ नम्बरमा पर्दा पाण्डेले आफूलाई १९ नम्बरमा पार्दै आफ्नो योग्यता सावित गरेकी हुन् ।

    कोभिड १९ रोकथाम र नियन्त्रणमा प्रजिअ पाण्डेको कार्यसम्पादन निकै प्रशंसनीय मानिएको छ । स्थानीय सरकार र स्थानीय बासिन्दाको बिरोधका बाबजुद प्रजिअ पाण्डेकै सक्रियता र समन्वयकारी भूमिकाका कारण खरीपाटीमा चीनबाट उद्धार गरिएका नेपाली विद्यार्थीलाई क्वारेन्टाइन बनाइ राख्न सफलता मिलेको थियो । त्यसयता पनि उनको सक्रियताका विषयलाई लिएर मानिसहरुले महिला नेतृत्व भएपनि काम गर्न सक्ने याेग्यता र तत्परता पुरुष सिडिओ भन्दा बढी भएको भन्दै उनको प्रशंसा गर्दै आएका छन् ।

    कोभिड १९ को विषमताका बीच भक्तपुरका सरकारी सम्पतीको संरक्षण र सरकारी कार्यालयहरुको सेवा प्रवाहलाई जनमुखी र सेवाग्राहीमैत्री बनाउन उनले सार्थक पहल गरेकी छन् । उनले कुनैपनि दबाबमा नपरी कार्यसम्पादन गर्न मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन नै दिएकी थिइन् । नेताको अघिपछि हिड्न नरुचाउने र कानुन बिपरितका भनसुन नसुन्ने उनको स्वभावका कारण उनी कर्मचारीबीच लोकप्रिय थिइन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...