आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको भोलि बिहीबारको नेपाल बन्द फिर्ता नभएको उक्त पार्टीका भक्तपुर इन्चार्ज दिलिप प्रजापतिले प्रष्ट पारेका छन् । सामाजिक संजालमा बन्द फिर्ताको भ्रामक प्रचार गरिएको भन्दै प्रतिगमनका मतियारहरुको भ्रममा नपर्न उनले आह्वान गरे ।
भक्तपुर पोस्टसंग कुरा गर्दै इन्चार्ज प्रजापतिले प्रधानमन्त्री केपी ओलीले नियोजित रुपमा बन्द फिर्ताको हल्ला चलाउन लगाएको आरोप लगाए । प्रमका साइबर सेनाले बन्द फिर्ताको हल्ला चलाएको उनको आरोप छ । ओली सरकारले बलजफ्ति संवैधानिक अङ्गहरुको पदाधिकारी र सदस्यहरुको शपथग्रहण गराएको बिरोधमा र प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक एवं प्रतिगामी कदमलाई खारेज गर्न बन्द र आम हड्ताल गर्नुुुपरेको उनले जिकिर गरेका छन् । बन्द र आम हड्तालबाट सर्वसाधारणलाई पर्नजाने असर प्रति क्षमायाचना गर्दै उनले यो आफूहरुको रहर नभइ बाध्यता भएको बताए । संविधान र लोकतन्त्रको रक्षाका लागि भक्तपुरका आम जनताले बन्द र आम हड्तालमा साथ दिने उनले अपेक्षा समेत ब्यक्त गरेका छन् ।