News Portal

  • विस्का जात्राबारे सद्भाव सभा सम्पन्न : सिडिओ र एसपी नै अनुपस्थित

    बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन  टौमढीमा शुक्रबार सद्भाव सभा सम्पन्न

    अनिल श्रेष्ठभक्तपुर,२७ चैैैैत्र
    ११४३ पटक
    भक्तपुर,२७ चैैैैत्र

    भक्तपुरको मौलिक पर्वको रुपमा रहेको ऐतिहासिक एवम् सांस्कृतिक विस्का जात्रा (बिस्केट जात्रा)शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन टौमढीमा सद्भाव सभा सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार सद्भाव सभा सम्पन्न भएको हो ।

    जात्रा गर्न दिने र नदिने रस्साकस्सी बीच जात्रा गर्नपर्नेमा स्थानीयको जोड भएपछि अन्तत विस्केट जात्रा हुने भएको छ र जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन भक्तपुरको टौमढीमा सद्भाव सभा गरिएको हो । उक्त सभामा भक्तपुरका सिडिओ र एसपी भने अनुपस्थित रहेका छन् । शान्ति सुरक्षाको चुनौती रहने बिस्का जात्रालाई शान्तिपूर्व बनाउन नगरपालिकाले प्रत्येक वर्ष सद्भाव सभा र र्याली गर्ने गर्दछ । उक्त सभामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहभागी रहने परम्परा तोड्दै यस वर्ष भने सभामा उनीहरु दुवै अनुपस्थित रहे । प्रहरी प्रमुख रहेकी एसपी तारादेवी थापाको प्रतिनिधित्व गर्दै डिएसपी दिपक गिरी सभामा सहभागी भएपनि सिडिओ प्रेमप्रसाद भट्टराई र जिल्ला प्रशासन कार्यालयको भने कुनै उपस्थिति देखिएन ।

    प्रशासनको जात्रा नगर्ने निर्णयपछि असन्तुष्ट जनताले बिरोध प्रदर्शन गरेका थिए । स्थानीय र नेवा: अभियन्ताहरुको विरोध प्रदर्शनपछि जात्रा गर्नदिन प्रशासन बाध्य बनेका कारण सभामा सहभागिता नरहेको आशंका गरिएको छ । तर, सिडिओले दोहोरो रोल खेलेर जनतामाझ स्थानीय सरकारलाई बिबादित बनाएको आरोप लगाउदै नगरपालिकाले सिडिओलाई आमन्त्रण नै नगरेको श्रोतको दावी छ । नगरपालिकाले भने सभामा सहभागी हुन सिडिओ प्रेमप्रसाद भट्टराइलाई निम्ता गरिएको जिकिर गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले जात्र नमनाउन सूचना जारी गरेपछि अधिवक्ता राजकुमार सुवालले त्यसका विरुद्ध सर्वोच्चमा रिट दिएका थिए र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको थियो ।  ब्यापक जनदबाब परेपछि अन्तरिम आदेश अघि नै भक्तपुर नगरपालिकाले समेत सरोकारवालाको एक बैठक बोलाइ जात्रा गर्ने निर्णय लिएको थियो र त्यो जनचाहना अनुरुपको निर्णय भएकोले आफूले सहयोग गर्ने सिडिओ भट्टराईको भनाइ थियो । तर, शुक्रवार सद्भाव सभामा उनको अनुपस्थितिलाई लिएर अनेक आशंका गरिएको छ ।

    शुक्रवार सद्भाव सभालाई सम्वोधन गर्दै संघीय सांसद एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले विस्का जात्रालाइ लिएर राजनीति नगर्न चेतावनी दिए । प्रसिद्ध बिस्का जात्रा सञ्चालनको विषयमा सम्बन्धित सरकारी निकायले समयमै निर्णय गर्न नसक्दा जनतामाझ असन्तोष बढेको भन्दै सांसद सुवालले बिस्का जात्रा शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्न स्थानीय जनता नै निर्णायक हुने स्पष्ट पारे । संक्रमण खतरा यथावत रहेकाले पर्वलाई रहरको रुपमा नभई परम्पराको निरन्तरताको रुपमा मनाउन उनले आम जनसमुदाय लाई आग्रह समेत गरेका छन् । सभ्यता र संस्कृति झल्किने ढंगले यस वर्षको बिस्का जात्रा सम्पन्न गर्न उनले अपिल गरे ।

    सभामा प्रमुख अतिथि संघीय सांसद प्रेम सुवालले नेपालमा कोभिड संक्रमणको दोस्रो लहरको खतरा बढ्दै गएको र वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्न सक्ने गम्भीर असरबारे जनता सचेत हुनुपर्ने आवश्यकता औल्याए । पछिल्लो समय छिमेकी देश भारतमा कोभिड संक्रमणको दोस्रो लहर तीव्ररुपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको खतरा देखिन थालेको र जात्राको समयमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षासँग सम्बन्धित मापदण्ड पालना गर्न जनसमुदाय माझ अनुरोध समेत गरे ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नजिकिँदै गरेको बिस्का जात्राबारे देखिएको अन्योल र अस्पष्ट स्थितिबारे प्रष्ट पार्दै जात्रा मनाउनुपर्छ भन्ने जनताको भावनाअनुरुप जात्रासँग सम्बन्धित विभिन्न सरोकारवालाहरुको रायसुझावअनुरुप नगरपालिकाले यस वर्षको बिस्का जात्रा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उल्लासमय र मर्यादित रुपमा सम्पन्न गर्ने निर्णय गरेको बताए ।

    मेयर प्रजापतिले जात्राको नाममा धमिलो पानीमा माछा मार्ने षड्यन्त्रकारीहरुबाट भक्तपुरबासी जनताहरु सचेत हुनुपर्ने बताउदैं भक्तपुर नपाले कोभिड संक्रमणबाट जनतालाई सचेत र सुरक्षित पार्न घरघरमा साबुन र मास्क वितरण कार्यलाई तीव्रता दिइरहेको बताए ।

    उक्त अवसरमा वडाध्यक्ष रबिन्द्र ज्याख्वले संवेदनशील घडीमा हुन लागेको बिस्का जात्रालाई सभ्य, भव्य, सुरक्षित, शान्तिपूर्ण र मर्यादित ढंगले मनाउन भक्तपुर नपाले प्रकाशन गरेको अपिल वाचन गरेर सुनाएका थिए भने सो अपिल स्थानीय माझ बाढिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...