वृद्ध लेखक टाल्सटायलाई एक युवक भेट्न आयो । ऊ एकदमै चिन्तित थियो ।
टाल्स्टायले सोधे— किन चिन्तित छौ ?
मलाई केही पैसा आवश्यक छ । कृपया तपाईंले मेरो मद्दत गरिदिनुस् । म सँग केहि छैन । म बर्बाद भएको छु ।
टाल्स्टायले भने— मेरो एकजना साथीले मान्छेको आँखा किन्छ । यदि तिमीले तिम्रो आँखा बेच्यौ भने २० हजार त पाइहाल्छौ ।
युवकले डराएर भन्यो— म मेरो आँखा बेच्न सक्दिनँ ।
टाल्स्टायले भने— केही छैन । उसले हातखुट्टा पनि किन्छ । तिम्रो हातखुट्टाको ६० हजार त दिइहाल्छ ।
युवकले रिसाउँदै भन्यो— मलाई तपाईंबाट यस्तो अपेक्षा थिएन ।
टाल्स्टायले शान्तभावमा भने— हेर, म तिम्रो मद्दत गर्न चाहन्छु । यदि धनवान हुनुछ भने तिमीले आफ्नो आँखा र हातखुट्टा उसलाई बेचिदेऊ । उसले यी सबैको एक लाख रुपैयाँ त दिइहाल्छ । तिम्रो सबै चिन्ता पनि हट्नेछ ।
युवकले भन्यो— एक लाख त के एक करोड दिए पनि म आफ्नो शरीर बेच्दिनँ ।
टाल्स्टायले हाँस्दै भने— अनि तिमीले कसरी भन्न सक्छौ तिमीसँग केही छैन भनेर ? जबकि यो शरीर पूरै खजाना हो । आफ्नो अमूल्य हात कसैको अगाडि किन फैलाउँछौ ? मिहिनेत गर, धनको वर्षा आफै हुनेछ ।