News Portal

  • अक्सिजन प्लान्ट उद्घाटन गर्दै बिजुक्छेँले भने – सरकारले नगरेपछि जनता आफैं जुट्नुपर्यो

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ असार २०७८
    १५७६ पटक
    भक्तपुर, १ असार २०७८

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मंगलवार एक कार्यक्रमका बीच अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।

    उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेमकिपाले नेपालको सातवटै प्रदेशहरुमा सुविधासम्पन्न अस्पतालहरु बनाउनुपर्ने पक्षमा आवाज उठाउँदै आइरहेको तर शासक दलका उदाशीनताका कारण त्यो नहुँदा अहिले जनताले उपचार नपाउने दुखद स्थिति बनेको बताए । राजधानीसंगै जोडिएको भक्तपुर नगरपालिकाकै अस्पतालले बजेट नपाएको उदाहरण दिंदै उनले दुर दराजको अस्पतालको अवस्था चिन्ताजनक रहेको जिकिर गरे ।

    समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भिन्नताबारे प्रष्ट पार्दै अध्यक्ष बिजुक्छेँले महामारीको समयमा समाजवादी देशहरुले जनताको जीवन रक्षामा खेलेको भूमिका र पाएको सफलताबाट पाठ सिकेर काम गर्नुपर्नेमा सरकार पुँजीपति वर्गको दलालीमा लागेको दावी गरे । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रामा निजी लगानीलाई पश्रय दिंदा अहिले पैसा नभएका मानिसले उपचार नै नपाउने स्थिति बनेको उनको आरोप छ ।

    अध्यक्ष बिजुक्छेँले जनतालाई सामुदायिक र निजी संस्थाहरुबीचको भिन्नता र महत्वबारे सचेत गराउदै समाजबादी व्यवस्थाका लागि राजनैतिक रुपले क्रान्तिकारी बनाउनुपर्ने आवस्यकता औल्याए ।

    अध्यक्ष बिजुक्छेंले सरकारको मुख ताकेर केहि नहुने आफ्नो अनुभव सुनाउंदै आफूले पच्चीस वर्षदेखि जनताको स्वास्थ्य र शिक्षाका लागि कराइरहेपनि कहिल्यै आफ्ना कुरा नसुनिएकोप्रति दुख व्यक्त गरे । वर्तमान सरकार कोभिड १९ महामारीमा जनताप्रति उत्तरदायी नदेखिएको समेत उनले आरोप लगाए । जनताको जीवन रक्षामा सरकार चुकेको बताउदै नेता बुजुक्छेंले नेपाल भारतबीचको सीमा नाकामा समयमै आवश्यक निगरानी, चेकजाँच र कडाइ गर्न नसक्दा नेपालमा कोभिड १९ को संक्रमण महामारीको रुपमा फैलिएकोले यसमा सरकार दोषी भएको बताए ।

    सरकारले कोभिड छैन भनेर निषेधाज्ञा खोले पनि जनताले पत्याउन नहुने उनको तर्क छ । लकडाउन खुलेपछि पनि आवस्यक सतर्कता जनता आफैले अपनाएर सुरक्षित रहन उनले सुझाव समेत दिए । भक्तपुरका जनता जस्तै सबै जनता जागरुक भएर आफ्नो र समाजको स्वास्थ्य सुरक्षाप्रति आफै सचेत भएर लाग्नुपर्नेमा जोड दिंदै अध्यक्ष बिजुक्छेंले भक्तपुरमा जनताको सहयोगी भावनाले प्राप्त भएको आर्थिक र भौतिक सहयोगबाट निर्मित अक्सिजन प्लान्टले व्यापक जनताकै हित हुने विश्वास व्यक्त गरे ।

    कोभिड महामारीविरुद्धको लडाइँमा सरकारले सहयोग नगरेपछि स्वदेशबिदेशमा रहेका भक्तपुरका जनताको सदिक्षाबाट अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै सहयोगी सबैलाई उनले धन्यवाद ज्ञापन गरे । उनले भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुको सक्रियता र विश्वसनीयताका कारण अक्सिजन प्लान्ट निर्माण कार्य सम्भव भएको भन्दै प्रशंसा समेत प्रकट गरेका थिए ।

    कार्यक्रमका सभापति समेत रहेका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महामारीको समयमा अस्पतालमा अक्सिजन प्लान्ट र अन्य स्वास्थ्य उपकरणहरुको निम्ति जनताले गरेको सहयोग ऐतिहासिक भएको र युगयुगसम्म सम्झीने विषय भएको भनेका थिए । यो जनप्रतिनिधि र जनताबीचको विश्वास, सम्बन्ध, आत्मियता र एकताको बलियो उदाहरण बनेको उनले बताए ।

    संकटको बेला जनता र नगरपालिका एकअर्काको भरोशा भएर कोभिड १९ बिरुद्ध लडिरहेको उनको भनाइ छ । प्रमुख प्रजापतिले कोभिडको दोस्रो लहरको संकेत भक्तपुर नगरपालिकामा देखा पर्ने बित्तिकै २०७८ बैशाख १७ गतेदेखि नै ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्याएको स्मरण गर्दै संघीय सरकारले बजेट नदिएर सौतेनी व्यवहार देखाएपनि जनताको बलले अस्पताललाई स्वास्थ्य उपकरण युक्त बनाउन सकिएको प्रति आभार प्रकट गरे ।

    ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्न रु. १ करोड ४१ लाख २५ हजार स्वीकृत भएकोमा हालसम्म रु. १ करोड २३ लाख ३६ हजार रुपैया खर्च भएको तथ्य प्रस्तुत गर्दै प्रमुख प्रजापतिले चीनस्थित निर्माण कम्पनीमार्फत सिधै प्लान्ट खरिद गरिएको जानकारी गराए । अस्पताललाई अपेक्षा भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको बताउदै प्रमुख प्रजापतिले ख्वप अस्पतालले दिने सेवा सुविधा सरल र सहज नभए प्रश्न उठाउन र सचेत गराउन आग्रह गर्दै अस्पतालको सेवालाई अधिकत्तम जनतामा पुर्याउने प्रतिवद्धता समेत प्रकट गरे ।

    ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले दिएको जानकारी अनुसार अक्सिजन प्लान्टको उद्धाटन गरिएको अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको १०० देखि १२० सिलिन्डर अक्सिजन उत्पादन गर्दछ ।

    वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वद्वारा संचालित कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ,जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा. रत्नसुन्दर लासिवा लगायतले पनि बोलेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...