News Portal

  • भुलुभुलु लाग्यो मलाई भन्ने अरुण थापालाई भक्तपुरले भुल्न सकेन : यसरी सम्झीइए गायक थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ साउन २०७८
    १०६९ पटक
    भक्तपुर, ५ साउन २०७८

    थोरै गीत गाएर पनि धेरै माया पाएका गायका हुन् स्वर्गीय अरुण थापा । उनका गीत नगुनगुनाउने संगीतका पारखी सायद कमै होलान् । कालजयी गीत गाएर अजम्बरी बनेका तिनै गायक थापा भक्तपुरमा सम्झीइएका छन् ।

    भक्तपुर सांगीतिक समाजले अरुण थापाको २२ औं पुन्य तिथिको अवसर पारेर मंगलवार उनलाई गीतसंगीत मार्फत सम्झना गरेको हो । २००८ सालमा जन्मिएका थापाको २२ वर्ष अघि आजकै दिन अल्पायुमै निधन भएको थियो । २०५६ साल साउन ५ गते बागबजारमा उनको देहान्त भएको हो ।

    उनको भौतिक जीवन छोटो भएपनि सांगीतिक जीवन भने अजर अमर रहेको छ । मंगलवार भक्तपुरको दुधपाटीस्थित तिसा इनमा भएको सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले गायक थापाको कालजयी गीतहरु त गुनगुनाए नै, उनको स्मृती जोडिएका बिबिध पक्षहरुबारे समेत बिचार आदानप्रदान गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे ।

    स्वर्गीय थापाले गाएको राष्ट्रिय गीत करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल बोलको धुनबाट शुरु भएको सांगीतिक श्रद्धाञ्जली कार्यक्रममा गायक शम्भोचरण राजभन्डारीले तिमी राम राम भजि बाँच भन्ने कामना गरे भने वरिष्ठ गायक सत्य नारायण प्रजापतिले चोट के हो ब्यथा के को मार्फत गायक थापाको निधनबाट सांगीतिक क्षेत्रमा परेको चोट सम्झाइ दिए । भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष समेत रहेका गायक कपिल कस्पालले ऋतुहरुमा तिमी हरियाली बसन्त हौँ मार्फत संगीतका बसन्त बनेका थापाप्रति श्रद्धासुमन व्यक्त गरे भने गायक बिजेन्द्र चवालले भुलु भुलु लाग्यो गाउँदै गायक थापालाई भुल्न दिएनन् ।

    त्यसैगरी गायक कुबेर राइले जति माया लाए पनि जति कसम खाएपनि बोलको गीत स्वर्गीय थापाको स्मृतीमा समर्पण गरे भने आखाँको निंदलाई गायक श्रीजल मधिकर्मीले प्रस्तुत गरे । कार्यक्रममा गायिका रोशिका देउजाले ऋतुहरुमा प्रस्तुती दिईन् भने गायक सुनिल लोहलाले लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ गाउँदै गायक थापाको अभावले खट्किएको संगीत क्षेत्रकै कथा सुनाए ।

    कार्यक्रममा किबोर्डमा वरिष्ठ संगीतकार कृष्ण सुन्दर सुखुजु,हार्मोनियममा शम्भोचरण राजभण्डारी, रिदम गितारमा सुनिल लोहला,गितारमा सरोज केसी र तबलामा रोशन भाशिमाले साथ् दिएका थिए ।

    उक्त अवसरमा गायक थापाको कर्णप्रिय गीत चोट के हो ब्यथा के हो का रचयिता समेत रहेका वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेल र अर्का वरिष्ठ गीतकार एवं गायक रोशनकुमार राजभण्डारीको आतिथ्यता रहेको थियो । उनीहरुले इच्छा शक्तिकै कारण भक्तपुर सांगीतिक समाजले स्वर्गीय गायक अरुण थापाको स्मृतीमा बिगत ४ वर्षदेखि निरन्तर श्रद्धाञ्जली कार्यक्रम गरिरहेको स्मरण गर्दै अन्य संगीतकर्मीहरुको समेत स्मृतीमा कार्यक्रम गर्न प्रेरित गरे । उनीहरुले गायक थापा मरेर गएपनि उनका गीतहरुबाट अमर रहेका भन्दै हामी पनि मरेर जाँदा समाजलाई केहि दिएर जानुपर्नेमा जोड दिएका थिए ।

    भक्तपुर सांगीतिक समाजका अध्यक्ष एवं गायक प्रविण शाहीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा सचिव अल्बर्ट बज्राचार्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन किरण सुवालले गरेका थिए । उक्त अवसरमा समाजका आजीवन सदस्यद्वय रुकेश रन्जीत र रविन थापालाई उनीहरुले सामाजिक जीवनमा पाएको पछिल्लो सफलताका लागि सम्मान समेत गरिएको थियो ।

    उक्त कार्यक्रमको स्पोन्सर गुडविल कन्सल्टले गरेको थियो भने फोटोग्राफ पार्ट्नर क्याप्चर मोसन नेपाल र साउण्ड पार्टनर आराधना समूह रहेको थियो । त्यसैगरी मिडिया पार्टनरमा भक्तपुर पोस्ट र जनसंचार टिभी रहेका थिए । कार्यक्रम दुधपाटीस्थित होटल ‘द तिसा इन’ मा सम्पन्न भएको थियो ।

    को हुन् गायक अरुण थापा
    ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ…..’ हो, यो गीत जस्तै गायक अरुण थापा पनि हरियाली बसन्त नै हुन् । उनको भौतिक शरिर हामी माझ नभए पनि गीत संगीतको माध्यमबाट उनी बाचिरहेका छन् । हामी धेरैलाई यो कुरा थाहाँ नहुन सक्छ, उनले गाएको ऋतुहरूमा तिमी… बोलको गीत एकचोटी विश्वका उत्कृष्ट गीतहरूको नोमिनेसनमा समेत परेको थियो ।

    उनले जीवनमा बसन्त मात्र गाएका छैनन् ‘लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ उनकै वास्तविक कहानी बनेर हामी माझ हरेक साउन ५ मा बिझाइरहन्छ र हामी सम्झिरहन्छौँ जादूमय स्वरका धनी अरुणलाई ।अरुण थापाको जन्म विक्रम सम्बत २००८ सालमा भारतको कलकत्तामा भएको थियो भने उनको मृत्यु २०५६ साउन ५ गते भएको थियो । अरुण थापा ३ वर्षको हुँदा उनको परिवार नेपाल बसाईं सरेर बस्न थालेको हो । उनी नेपालमै हुर्किए । स्वर सम्राट नारायण गोपाल र गोपाल योन्जन उनका पारिवारिक मित्र थिए । प्रेम र बिबाह दुबैमा असफल गायक थापाका अनेकौं किस्सा सुन्नमा पाइन्छ । उनको व्यक्तिगत जीवन छोटो भएपनि सांगीतिक जीवन भने अमर अजर रहेको छ ।

    उनको गीत ‘चोट के हो, ब्यथा के हो’ ले व्यथालाई नै बिर्साइदिन्छ र दुख: भित्र सुख खोज्न थाल्छ मान्छे अनि उनले जति ‘भुलु भुलु लाग्यो मलाई’ भने पनि उनको याद झन् झन् ताजा बनेर आइदिन्छ ।

    जति माया लाए पनि,साझको जुन सँग, बितेका मेरा तिता मिठा, दोष कसैलाई दिन चाहन्न, अरु सँग नजोख मलाई, जिन्दगी के छ र आखिर, तिमी हेर्छौ भने, न पोखिने न जोखिने, आँखाको निद खोशी लाने, यो मनको के भर हुन्छ, भुलेका कथा, जिन्दगीका का यात्राहरु, नपोखिने नजोखिने, यो मन को के भर हुन्छ जस्ता सदावहार गीत पस्केर गायक अरुण थापा नेपाली सांगीतिक दुनियामा सधै अमर अजर बनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...