News Portal

  • ईश्वरको सपथ लिन इन्कार गरेका कम्युनिष्ट मेयरको उद्घोष : जनताको सेवाबाहेक स्वार्थ छैन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ जेठ २०७९
    १५५० पटक
    भक्तपुर, ६ जेठ २०७९

    भक्तपुर नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिको प्रमाण पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्नुका साथै प्रमुख सुनिल प्रजापतिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । उक्त अवसरमा नगर प्रमुख प्रजापतिले उपप्रमुख रजनी जोशी एवं निर्वाचित सबै वडाध्यक्ष र वडासदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

    शुक्रवार ब्यासीस्थित नगरपालिकाको कार्यालय प्रांगणमा सम्पन्न कार्यक्रममा दोश्रो कार्यकालको सपथ ग्रहण गर्ने क्रममा नगर प्रमुख प्रजापतिले ईश्वरको नाममा सपथ लिन भने इन्कार गरे । माओत्सेतुङ्ग विचारधारा बोकेको नेपालको कम्युनिष्ट पार्टी नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को केन्द्रीय सदस्य समेत रहेका प्रमुख प्रजापतिले ईश्वरको नाममा सपथ खान इन्कार गरेका हुन् ।

    जिल्लाका न्यायाधिस एवं प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले ईश्वर, देश र जनताको नाममा सपथ खान लगाए पनि नगर प्रमुख प्रजापतिले देश र जनताको नाममा मात्र सपथ लिए । उनले यस अघि पनि ईश्वरको नाममा सपथ लिएका थिएनन ।

    संविधान र देशको प्रचलित कानुनको अधिनमा रही काम गर्ने सपथ लिएका प्रमुख प्रजापतिले देश र जनताको सोझो चिताई पूर्वाग्रह र खराब भावना नलिई पदीय गोपनियता र मर्यादा कायम राख्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले जनताको सेवा गर्ने बाहेक आफूहरुको अर्को कुनै स्वार्थ नभएको उद्घोष गरे । पहिलो कार्यकालमा संविधानअनुरुप नगरपालिकाका नयाँ कानुनहरु बनाउन लाग्नुपरेको स्मरण गर्दै उनले यो कार्यकालमा अघिल्लो कार्याकालमा थाती रहेका केहि कामहरुलाई प्राथमिकतापूर्वक अघि बढाउने अठोट व्यक्त गरे । उनले आफ्नो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले कल्पना गरेको भक्तपुर बनाउने दावी गर्दै पार्टीले निर्वाचनको समयमा घोषणा गरेको निर्वाचन घोषणापत्र अनुरुप काम गर्ने प्रतिबद्धता प्रकट गरेका थिए ।

    सो अवसरमा प्रमुख प्रजापतिले निर्वाचनमा अत्यधिक मत दिएर निर्वाचित गर्ने सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गदै विपक्षी दलका उम्मेदवारहरुप्रति पनि कुनै पूर्वाग्रह नभएको प्रष्ट पारे ।जनप्रतिनिधिहरु सबैको साझा व्यक्तित्व भएको हुँदा कुनै आग्रह र पूर्वाग्रह नराखी कानुन अनुसार छिटो र छरिटो रुपमा काम सम्पन्न गर्ने उनले विश्वास दिलाए ।

    कार्यक्रममा नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालले नगरपालिकाका आगामी कार्यभार बारे अवगत गराएका थिए भने प्रदेश सांसद एवं नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले बिचारयुक्त विकासमा जोड दिएका थिए ।

    उक्त अवसरमा मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला र सिडिओ रुद्रादेवी शर्माले अघिल्लो कार्यकालमा गरेका राम्रा कामहरुकै कारण जनताले भक्तपुरमा जनप्रतिनिधिलाई अत्याधिक बहुमतले दोर्याएका बताउदै जनताको पक्षमा नगरपालिकाले निरन्तर कार्य गर्ने विश्वास व्यक्त गरेका थिए ।

    कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, नगरभित्रका अगुवा व्यक्तित्वहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

    भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नो बिरासत कायम राख्दै प्रमुख प्रजापतिको नेतृत्वमा शानदार जीत हासिल गरेको हो । अघिल्लो स्थानीय निर्वाचनमा जस्तै अन्य दललाई क्लिन स्वीप गरेको नेमकिपाको अन्य प्रतिस्पर्धी दलहरुलाई जमानत समेत जोगाउन मुस्किल पार्दै यसपटक शानदार जीत हासिल गरेको छ ।

    नगर प्रमुखमा नेमकिपाका तर्फबाट उम्मेदवार रहेका सुनिल प्रजापति र उपप्रमुख रहेकी रजनी जोशीले करिब २६ हजार मतान्तरले बिजय हासिल गरेका छन् । मेयरमा प्रजापतिले २९ हजार २ सय ५२ मत प्राप्त गर्दा उनका निकटत्तम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद कासुलाले ३ हजार ४ सय ७ मत मात्र ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार रविन्द्र लाछिमस्यूले २ हजार ८ सय ४१ मत ल्याए भने स्वतन्त्र उम्मेदवार सत्यनारायण त्वायनाले २ हजार ३ सय ९९ मत प्राप्त गर्न सफल भए ।

    स्वतन्त्र उम्मेदवार भन्दा कम मत प्राप्त गर्दै नेकपा (माओवादी केन्द्र) ले आफ्नो प्रभाव गुमाउन पुगेको छ । माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७ सय ६१ मतमै चित्त बुझाउनु परेको हो । उनले राप्रपाका बद्रि लाखाले पाएको १ हजार ८१ मतलाई समेत उछिन्न सकेनन । मेयरमा राजमोका उम्मेदवार रामभक्त कोजूले ४ सय १० र जसपाका राजाराम ढुकुछुले १ सय २३ मत प्राप्त गरे ।

    कुल खसेको मतको १० प्रतिशत ल्याउन नसक्दा नेमकिपाका मेयर उम्मेदवार सुनिल प्रजापति र उपमेयर उम्मेदवार रजनी जोशी सामू अन्य प्रतिष्पर्धी निकै कमजोर देखिए । प्रमुख  प्रजापति र उपप्रमुख जोशीले आफूहरुको दोश्रो कार्यकाल थप जनमुखी बनाउने प्रतिवद्धता प्रकट गरेका छन् । भक्तपुर नगरबाट देशभरका नगरपालिकाले सिक्ने गरी कार्यसम्पादन गर्ने उनीहरुको दावी रहेको छ ।

    नेमकिपाले वडा नम्बर १ मा श्याम कृष्ण खत्रीको नेतृत्वमा जीत हासिल गरेको छ । यहाँ एमाले,काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनलाई पराजित गर्दै खत्री नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

    वडा नम्बर २ मा देको मिवा इतापाके जग्गा एकीकरणका असन्तुष्ट पक्षका तर्फबाट स्वतन्त्र उम्मेद्वारी परेतापनि नेमकिपाले हरिप्रसाद बासुकलाको नेतृत्वमा जीत हासिल गरेको छ ।

    वडा नम्बर ३ मा रामकृष्ण गोरा र ४ मा उपेन्द्र सुवालको नेतृत्वमा जीत हासिल गरेको छ ।

    त्यसैगरी ५ मा योगेन्द्रमान बिजुक्छेंको नेतृत्वमा जीत हासिल गरेको छ । उनी अध्यक्ष बिजुक्छेंका भाइ समेत हुन् ।

    ६ मा हरिराम सुवाल र ७ मा उकेश कवांको नेतृत्वमा जीत हासिल भएको छ भने ८ मा कृष्णप्रसाद कोजूको नेतृत्वमा जीत हासिल भएको छ ।

    त्यसैगरी ९ मा रवीन्द्र ज्याख्व र १० मा लक्ष्मीप्रसादको नेतृत्वमा नेमकिपाका उम्मेदवारहरुले विजय प्राप्त गरेका छन् ।

    शुक्रवार नै पदभार ग्रहण गरी पहिलो बैठक समेत सम्पन्न भएको नगरप्रमुखकी प्रेस संयोजक कीर्तिका प्रजापतिले जानकारी गराएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...