सूर्यविनायक नगरपालिकाले वडा नम्बर ५ स्थित सल्लाघारी चोकको फुट्पाथमा रहेको अव्यवस्थित बजार हटाउने भएको छ । वडाध्यक्ष राजकुमार जोशीको नेतृत्वमा मंगलवार बिहान सो अभियान शुरु भएको हो ।
फुट्पाथमा अव्यवस्थित ब्यवसाय गर्दा आवतजावतमा असुविधा हुनुका साथै दुर्घटना जोखिम समेत बढेकाले फुट्पाथ क्लियर गर्ने अभियान शुरु भएको वडाध्यक्ष जोशीले जानकारी गराएका छन् । यस अभियानमा सबैको साथ रहेको उनले जिकिर गरे । फुटपाथमा अव्यवस्थित पार्किङ समेत हटाइने उनको भनाइ छ ।
मंगलवार बिहान उक्त क्षेत्रमा सरसफाइ समेत सम्पन्न गरिएको छ । उक्त अवसरमा महानगरीय ट्राफिक कार्यालय भक्तपुर, कटुञ्जे प्रहरी प्रभाग, नगर प्रहरी, जनप्रतिनिधिहरु, स्थानीय घरधनी र ब्यापारीहरुका साथै भद्रभलाद्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।