भारतको उत्तर प्रदेशमा ट्रकले बसलाई ठक्कर दिँदा चार जना नेपालीको ज्यान गएको छ । ट्रकले बसलाई ठक्कर दिँदा अरू २४ जना घाइते भएका छन् ।
रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लाको महंगुपुर गाउँमा रोकिराखेको बेला ट्रकले ठक्कर दिएको टाइम्स अफ इन्डियाले जनाएको छ । ज्यान गुमाउनेमा बाँकेको राप्ती सोनारी गाउँपालिकाका प्रेम थारु र शीतल थारु तथा दाङको तुलसीपुर उपमहानगरपालिकाका चक्रबहादुर वली रहेका छन् । मृतक एक जनाको परिचय खुलेको छैन । घाइतेमध्ये १४ जना नेपाली रहेका छन् । उनीहरूको बाराबंकी जिल्ला अस्पताल र लखनउमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।