संघीय निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो ।
निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको निर्वाचनका लागि उमेदवारहरुको बन्दसूची बुझाउनका लागि आज र भोलिका लागि तोकेको छ । आज ठूला दलहरुले सूचीलाई अन्तिम रुप दिनेगरी बैठक तथा छलफलहरु गरिहरेका छन् । समानुपातिक सूचीलाई अन्तिम रुप दिन नेपाली कांग्रेसले आठजना सहमहामन्त्रीहरुको कार्यदल नै बनाएर काम गरिरहेको छ ।
आयोगमा दलहरुले आज र भोलि प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभातर्फ २२० जना सदस्यको लागि बन्दसूची पेस गर्नुपर्नेछ । बन्दसूचीमा दलहरुले तोकिएको संख्याको न्यूनतम १० प्रतिशत नाम पेस गर्नुपर्नेछ ।