News Portal

  • भक्तपुरमा निर्वाचन केन्द्रीत मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ कार्तिक २०७९
    ८४६ पटक
    भक्तपुर, १६ कार्तिक २०७९

    आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा संचार माध्यमको भूमिका विषयक जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको सहकार्यमा बुधवार मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षता एवं प्रमुख निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा भक्तपुरको रानीकोटमा सम्पन्न कार्यक्रममा आसन्न निर्वाचनलाई निष्पक्ष, भयरहीत र विश्वासिलो बनाउन संचारमाध्यम र पत्रकारले पुर्याउनपर्ने दायित्वबारे अन्तरक्रियासमेत गरिएको थियो ।

    उक्त अवसरमा मुख्य निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले स्वतन्त्र प्रेस बिना लोकतन्त्र बलियो बन्न नसक्ने बताए । निर्वाचन लोकतन्त्रको आधार भएको भन्दै उनले निर्वाचन प्रक्रियामा भएका वा हुनसक्ने गल्ती र कमीकमजोरी औल्याएर त्यसलाई सुधार्न प्रेसले सहयोग गर्नुपर्ने सुझाव समेत दिए । भक्तपुरमा अझैपनि आधा दर्जन बढी निर्वाचन केन्द्र निर्वाचन र मतदाता मैत्री नभएको खुलासा गर्दै मुख्य निर्वाचन अधिकृत बास्तोलाले त्यसलाई प्रेसले निर्वाचन र मतदाता मैत्री बनाउन पहल गर्नुपर्ने प्रष्ट पारे । मिडिया र पत्रकार राज्यको सशक्त दबाब समूह समेत भएको भन्दै उनले निर्वाचनलाई सफल बनाउन जनताको आवाज मिडियाले बोल्नुपर्ने बताए । त्यसैगरी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पत्रकारका लागि निर्वाचन आचार संहिता पत्रकार आचार संहिताकै अंश भएकोले त्यसको पूर्ण पालना हुने विश्वास व्यक्त गरिन । पत्रकार सबैका साझा हुने धारणा व्यक्त गर्दै सिडिओ शर्माले पेशागत मूल्य मान्यता र आदर्शमा रहेर साझा चरित्र प्रदर्शन गर्न र जनतालाई सूसुचित गर्दै निर्वाचनलाई सफल पार्न प्रेरित गरिन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको तर्फबाट शाखाका वरिष्ठ सदस्य एवं पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनमा मिडिया र पत्रकारको भूमिकाबारे प्रस्तुतीकरण मार्फत प्रष्ट पार्ने प्रयास गरेका थिए । पत्रकारले आफ्नो पेशागत आचारसंहिता पालन गरेमात्र पनि जनताले सहि सूचना प्राप्त गर्न सक्ने उनले स्मरण गराए । पत्रकारले राजनीति बुझ्न पर्ने तर पक्ष विपक्षमा उभिएर समाचार सस्प्रेषण गर्नु नहुनेमा जोड दिंदै उनले मतदातालाई सहि र योग्य उम्मेदवार छनौटमा सहयोग पुग्ने गरी विश्लेषणत्मक र तथ्यपरक समाचार पस्कन समेत सुझाव दिए । जनविश्वास नै पत्रकारिताको मुख्य सम्पत्ति भएकाले त्यसलाई तोड्न नहुने तर्क गर्दै उनले तथ्यलाई तोडमोड गरी प्रस्तुत गर्न नहुने र स्वतन्त्र श्रोतबाट पुष्टि हुने समाचारलाई प्राथमिकता दिनपर्ने बताए ।

    राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार झाले राजनीतिक दल र उम्मेदवारलाई जिल्लाको एजेन्डा दिनसक्ने गरी मिडिया र पत्रकार सशक्त बन्नुपर्ने आवश्यकता औल्याए । मतदाता सम्म पुगेर उनीहरुले जनप्रतिनिधिबाट अपेक्षा गरेका विषय बाहिर ल्याउने र उम्मेदवारलाई त्यसप्रति प्रतिवद्ध बनाउने काम पनि मिडिया र पत्रकारले गर्नसक्नुपर्ने उनको भनाइ छ । निर्वाचन मिडिया र पत्रकारको पनि परीक्षाको समय भएको भन्दै उनले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनलाई पूर्ण सफल पार्नुपर्ने प्रष्ट पारे ।

    त्यसैगरी जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्र न्यौपानेले निर्वाचन र संचारमाध्यम बारे प्रस्तुती पेश गर्दै निर्वाचन सफल बनाउन मिडिया र पत्रकारको सहयोग रहने विश्वास व्यक्त गरे । निर्वाचनबारे शिघ्र सूचना दिन पत्रकारसंग भाइबर ग्रुप मार्फत जोडिएको जानकारी दिंदै उनले पत्रकारले निर्वाचन संग सम्बन्धित सूचना आधिकारिकरुपले पुष्टि गरी प्रेषित गर्न सुझाव दिए । आम मतदाताले समेत निर्वाचन संग सम्बन्धित प्रश्न भए निशुल्क नम्बर ११०२ मार्फत समाधान पाउन सक्ने उनले जानकारी गराए । मिडिया र पत्रकारले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्नुपर्ने मात्र नभई अरु क्षेत्रबाट समेत सोको पालना गराउन प्रभावकारी समाचार सस्प्रेषण गर्नुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले अभिमुखीकरणबाट स्थानीय पत्रकारले पुनर्ताजगी प्राप्त गरेको प्रतिक्रिया दिए । एकअर्काको अनुभव र विज्ञको प्रस्तुतीकरणले आसन्न निर्वाचनको रिपोर्टिंगमा थप दक्षतापूर्वक काम हुने उनले बिश्वास व्यक्त गरे ।

    उक्त अवसरमा निर्वाचन अधिकृत लोकनाथ पराजुली, जिल्ला प्रहरी प्रमुख प्रजित केसी,सशस्त्र प्रहरी २२ नम्बर गणका गणपति नरबहादुर रावत, इन्द्रबक्स गणका गणपति श्यामराजा बिक्रम थापा, नेपाल पत्रकार महासंघ भक्तपुरका सस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष विकल श्रेष्ठ लगायत २ दर्जन पत्रकारको उपस्थिति रहेको आयोजक निर्वाचन कार्यालयका सूचना अधिकारी भिमबहादुर बिसीले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...