News Portal

  • भटमास खेतीबाट मनग्य आम्दानी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ मङ्सिर २०७९
    ३६२ पटक
     भक्तपुर, ११ मङ्सिर २०७९

    दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आएका छन् । गत वर्ष उनले दुई बिघा जग्गामा भटमास खेती गर्दा करिब रु. डेढ लाख आम्दानी गरेका थिए । यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले रु. तीन लाख ५० हजार आम्दानी गरेका छन् ।

    थोरै मिहिनेतमा धेरै आम्दानी हुने भएकाले भटमास खेतीलाई निरन्तरता दिँदै आएको घिमिरेले बताउँछन् । भारतको पन्तनगरबाट भटमासको बीउ ल्याएर यस क्षेत्रका किसानले भटमास खेती गर्दै आएका छन् ।

    “भटमास खेतीका लागि माटो उयुक्त छ” अर्का किसान महेश घिमिरेले भने, “आधुनिक तरिकाले भटमास खेती गर्नका लागि किसानलाई तालिमको आवश्यकता छ, किसानको क्षमता वृद्धि भए उत्पादन बढाउन सकिन्छ ।”

    उनका अनुसार दोधारा चाँदनी भटमास खेतीको हबका रुपमा विकसित भइरहेको छ । यहाँ उत्पादन हुने भटमास नेपालगञ्ज र धनगढीका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । भटमास खेतीमा संलग्न किसान दीपक सापकोटाका अनुसार यो खेती गर्दा त्यति धेरै सिँचाइको आवश्यकता पर्दैन ।

    “गाईवस्तुले भटमासका बिरुवा खाँदैनन्” उनले भने, “छाडा चौपायाले खाने समस्या हुँदैन, थोरै गोडमेलले पुग्छ, थोरै परिश्रममा धेरै उत्पादन हुनाका साथै मनग्य आम्दानी पनि यस खेतीबाट लिन सकिन्छ ।” तीन वर्षदेखि भटमास खेती गर्दै आउनुभएका सापकोटाले प्रति वर्ष रु. दुई लाखभन्दा बढीको भटमास बिक्री गर्दै आएका छन् ।

    “भटमास खेती पहाडी क्षेत्रमा मात्रै हुने गरेको थियो” दोधाराकै किसान हरिनारायण तिवारीले भने, “निकटवर्ती क्षेत्रका भारतीयहरुले भटमास खेती गरेको देख्यौँं र त्यसकै अनुसरण गर्दै परीक्षणका रुपमा खेती गर्न लाग्यौँ, उत्पादन राम्रो भएपछि यसलाई निरन्तरता दिंदै आएका छौँ ।”

    दोधारा चाँदनीमा करिब सय बिघा जग्गामा भटमास खेती हुने गरेको छ । भटमास काट्न र चुट्नका लागि स्थानीय किसानले उपकरणको प्रयोग गर्ने गरेका छन् ।

    फल र पातमा रोग किराको प्रकोप देखिने भएकाले तीनदेखि चार पटकसम्म बिषादी छर्कनु पर्ने अवस्था रहेको किसान तिवारीले बताए । रोग तथा कीरा रोकथामका लागि सल्लाह र सुझाव लिन भारतीय प्राविधिकको भर पर्नुपर्ने उनको भनाइ छ ।

    भटमासबाट तेल र सोयाबिन बन्ने गरेको छ । भटमास प्रतिकिलो रु. एक सयका दरले बिक्री हुने गरेको छ । भटमास खेतीमा संलग्न किसानले सुदूरपश्चिम क्षेत्रमै भटमासबाट सोयाबिन र तेल निकाल्ने उद्योगको माग गर्दै आएका छन् ।

    भटमासलाई बहुउपयोगी कोसेबालीका रुपमा लिइने गरिन्छ । घरमा भटमासको गेडा भुटेर, अचार बनाएर, उसिनेर खाने गर्नाका साथै दालका रुपमा प्रयोग गरिँदै आइएको छ ।

    कृषि प्राविधिक करन सिंह बुढाऐरका अनुसार भटमासबाली काटिसकेपछि गहुँ बाली लगाउँदा युरिया मलको मात्रा कमै मात्र प्रयोग गर्दा हुन्छ ।

    भटमासको जरामा नाइट्रोजन प्रर्याप्त मात्रामा हुने भएकाले रासायनिक मलको मात्रा कम गरे पुग्ने उनको तर्क छ ।

    “मकैसँंगै भटमास खेतीगर्दा छुट्टै मल आवश्यक पर्दैन” प्राविधिक बुढाएरले भने, “एक्लो बालीका रुपमा लगाउँदा भने मल प्रयोग गर्नुपर्दछ ।”

    भटमास खेतीका लागि पानी नजम्ने दोमट किसिमको माटो आवश्यक पर्दछ । समुन्द्री सतहको पाँच सय मिटरदेखि दुई हजार मिटरको उचाइसम्म भटमास खेती गर्न सकिन्छ । रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...