News Portal

  • प्रचण्डलाई खुला पत्र

    भक्तपुर, २९ मङ्सिर २०७९
    ३११ पटक
    sudarshanभक्तपुर, २९ मङ्सिर २०७९

    प्रिय कामरेड प्रचण्ड !
    कति लड्दै उठ्दै गर्ने हो कामरेड ?धुलो टक्टक्याउदै त उठौला तर धुलो धेरै जमिसक्यो। सबैले देखिसके दागैदाग, टाटैटाटा। तिमी त जसोतसो उठौला, एउटा पदसँग दाग साटौला तर हामी? पार्टी ? अनि अझै तिमीसँग आशा गरेर बसेका सहिद, बेपत्ता, अङ्गभङ्ग परिवार? तल्लो बर्गका परिवार? यी सबै कसरी उठ्ने? अझै चेत्दैनौ भन्या?

    झापामा २०२८ सालमै चेतना आयो। सामाजिक जागरण आयो। ओलिले त्यो चेतनासँगै दाउपेच सिके। चलाख र धुर्त दुबै भए। तिमीमा चेतना मात्रै आयो। तिमी धुर्त हुन सकेनौ। त्यसैले तिमी चलाख मात्रै भयौ। चलाखहरुको सङ्गत राम्रै हुन्छ तर धुर्तहरुको सङ्गत असाध्यै नराम्रो हुन्छ, हुँदोरहेछ। धुर्तको ललिपपमा अझै पनि झिङ्गा जसरी अलमलियौ भने १८ बाट १२ र १४ बाट ८ मा आउछौ।

    चेत न हो चेत! आफ्नै सहोदर माधव नेपाल, बामदेव गौतम, भीम रावल, घनश्याम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्रीहरू सहन नसक्नेले के तिमीलाइ बाँकी राख्लान्? हामीलाई बाँकी राख्लान? मौका पाउनासाथ हिजो के गरे? धुर्तहरू फेरि एउटा मौकाको पर्खाइमा छन्। आफुलाई कम्युनिष्ट भजाउछन्। अनि सबै कम्युनिष्ट उस्तै हुन् भनाउन लागिरहेका छन्, लगातार- लगातार । हिजो तिमीहामीले रोजेको बाटो यो हो त? पद, प्रतिष्ठा पाइन्छ र चाहिन्छ भनेर लागेको हो त? कहाँ गयो त्याग, समर्पण अनि बलिदानको त्यो बिश्वास? फेरि एकपटक जागौं र जगाऔं।

    ढिलो भैसक्यो है। नभए देशलाइ अर्कैले अर्कै दिशामा लैजादैछ। त्यो न तिमी हेर्न सक्छौ न हामी हेर्न सक्छौं। बहिष्कृतहरूलाई अघिपछि नलगाऊ, तिमीले प्राप्त गर्ने प्रधानमन्त्री र केही थान मन्त्रीले हुनेवाला केही छैन। २०६४ देखिनै खाएका होइनौ र? खानेको बाहेक देश, जनता र पार्टिको उन्नति भयो कि अधोगति मात्रै? त्यसैले केही थान जागिरको लागि मरिहत्ते नगर। देश हार्ने, पार्टी हार्ने, नीति र बिचार हार्ने र अन्त्यमा हामी सबै हार्ने बाटो रोज्दै नरोज प्लिज!

    वरिपरी बसेर मृदङ्ग बजाउने अनि हुक्का खुवाउने कमरेडहरुको मात्रै भर नपर। नेतृत्वले अरुका कुरा पनि सुन्नुपर्छ। त्यसो गरे ‘सुनमा सुगन्ध’ हुन्छ। नेतृत्वको वरिपरी छमछम् नाचेर लाभ लिन पल्केकाहररू नेतृत्व कमजोर भएका बेला उपियाले जसरी छाडेर जान्छन्। उपिया गतिमा पहिलो हुन्छन् ती! भए नि! याद छ हैन, बादल, प्रभु, टोपबहादुर, मणि लेखराज इत्यादिले के गरे?

    त्यसैले पार्टी र संगठनमा योगदान गरेका, सम्पुर्ण जीवन राजनीतिमा समर्पण गरेका, नेतृत्व कमजोर हुँदा पनि साथ, सहयोग र समर्पणमा रहेकालाई कमरेडले चिन्नुपर्‍यो। नेतृत्वलाई झिलिमिली देखाउनेहरुले त कमजोर भएका बेला तिरिमिरी झ्याईँ पार्छन् । त्यसैले अब त्यागीका कुरा सुन। युवाका कुरा सुन। लेखनाथ न्यौपानेलाई सुन। दिपशिखा सुन, युवराज चौलागाईं सुन, डिपि ढकाल सुन, सुदिप कुँवर सुन, बिजय गौतम सुन, पुरन केसी सुन, आइपी खरेल सुन, जुम्लाका निवर्तमान सांसद गजेन्द्रबहादुर महत सुन।

    महतले लामो श्वास लिदै ‘भो मलाइ चाहिएन संसदीय राजनीति’ किन भने? भरत थापाहरूलाई सुन, पवन कार्की, गङ्गा कार्की, रन्जित तामाङ, बिजय किराँत, सन्तोष पनेरु, आस्था केसीहरू जस्ता थुप्रैको नाम लेख्न मन छ, जो यथास्थितिमा रम्न चाहदैनन्। ती सबैलाई सुन। आन्दोलन र पार्टी भन्दाभन्दै पुरै जवानी सकेर, पाखा लागेर आफ्नो श्रममा बाचेकाहरुको कुरा सुन। अनि ‘अयोग्य’ लडाकु हुँदै बिदेशमा चिहान खन्न, भेडा र उँट चराउन गएकाहरुको कुरा सुन।

    प्रेम रिमाल र खगेन्द्र सङ्ग्रौलालाई सत्रु नठान, बरु सत्रु ठान्नेहरूबाट टाढा हौ। किन सुन्छौ ठेकेदार र ब्यापारीको कुरा? केही ब्यापारी र ठेकेदारलाई तिम्रा मन्त्री चाहिएको हो। केही अवसरवादी-बुद्धिजीवीलाई केही थान राजदुत र केही जीएम-अध्यक्ष चाहिएको हो, अरुले दिनेभए ती त्यतै लाग्छन्। यो पनि हेक्का होस् कमरेड महोदय! त्यसैले ३०/३५ बर्ष कटेका र ६० तलकाहरुको भेला गर।

    देश र बिदेशमा रहेका प्रतिनिधि अगुवा हजार, दुईहजारको कुरा सुन। तिमीहरू ती युवालाई अनुभव देऊ। तिनीहरुले योजना दिन्छन्। त्यही योजनामा अघि बढ। अनि हेर देश, स्थानीय पालिका अनि पार्टी के र कस्तो बन्छ? कसरी बन्छ? के नरबहादुर कर्माचार्य, काइलाबा, दिल बहादुर श्रेष्ठ र मोहन बैद्यले तिमीहरुलाइ बिश्वास गरेर आन्दोलनको जिम्मा दिएको होइन त्यतिबेलै? के निर्मल लामाले नारायणकाजी(प्रकाश), गिरिराजमणिहरूलाई जिम्मा दिएको होइन र त्यतिबेलै? किन भुलेको के! किन? युवालाई विश्वास गर।

    तिमीलाई राम्रो अभिभावक मान्नेछन तिनले। किनकी अब यो देशको चिन्ता, नेपाल र नेपालीको चिन्ता र भर्खरैका बालिग र बालबालिकाको चिन्ता युवालाई छ, हामीलाई छ। बाहिरबाट आएका/आउने सबै प्रस्तावहरु भडुवा प्रस्ताव हुन्। यदि चिनेनौ र चेतेनौ भने अब दसबर्ष भित्रैमा भीडले निर्णय गर्नेछ। त्यो एकदमै दु:खदायी हुनेछ। देश हार्नेछ, गणतन्त्र हार्नेछ र हामी हार्नेछौ। फेरि उठ्न समय लाग्नेछ र तिम्रो रातो ईतिहासमा कालो पोतिनेछ। अझै देशभरी र कुनाकन्दरामा झिनो आशाले, परिवर्तनको आशाले र देश उन्नतिको अभिप्रायले तिम्रो सही निर्णय पर्खेर बसेका धेरै छन्। घात नगर!
    सुदर्शन पराजुली
    ताथली, भक्तपुर ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...