
भक्तपुर नगरपालिकाले नेपालकै पहिलो अन्तरनगर पुरुष खो खो प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाले आज बुधबार प्रेस विज्ञप्ति जारी गरी फागुन ५ गतेदेखि ९ गतेसम्म खो खो प्रतियोगिता आयोजना गर्ने बताएको हो ।
“यस वर्षको अन्तरविद्यालय खेलकुद प्रतियोगितामा ७९ विद्यालयहरुले सहभागिता जनाएको मध्ये ४१ विद्यालयहरु खो खो खेल र ५१ विद्यालयहरु कसिमला पाँयमा भाग लिएका थिए । १४ वटा खेलहरुमध्ये कसिमला पायँ र खो खोमा नै बढी खेलाडीहरु उत्साहित देखिएपछि नगरपालिकाले यस वर्षको अन्तर नगर प्रतियोगिताका लागि खो खोलाई रोजेको देखिन्छ ।
नेपाल खो खो संघ, भक्तपुर जिल्ला खो खो संघबाट मान्यता प्राप्त अन्तर नगर खो खो प्रतियोगितामा आज सम्म विभिन्न १४ वटा नगरपालिकाहरुले भाग लिन नाम दर्ता गराइसकेका नगरपालिकाका खेलकुद संयोजक श्याम कृष्ण खत्रीले जनाएका छन् ।
फागुन ५ गतेदेखि ९ गतेसम्म हुने खो खो प्रतियोगिता उद्घाटन र्याली फागुन ५ गते हुनेछ । बिहान १० बजे भक्तपुर नपा वडा नं. ९ दत्तात्रय प्रांगणबाट सुरु भई इनाचो, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दुधपाटी हुँदै नगरको मुख्य मुख्य बजार परिक्रमा गरी सहिद स्मृति खेलमैदानमा पुगी उद्घाटन गरिने जानकारी नगरपालिकाले दिएको छ । अन्तर नगर खो खो प्रतियोगिताको उद्घाटन सहिद स्मृति खेलमैदानमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)बाट हुने नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा नगद पुरस्कार पनि
खो खो खेलको प्रतियोगितामा यस अगाडि नगद पुरस्कारको व्यवस्था कहिल्यै भएको थिएन । भक्तपुर नगरपालिकाले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख र तेस्रो हुनेलाई रु. ५० हजार नगद पुरस्कारको व्यवस्था गरेको जानकारी दिए । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरुलाई नगद रु. ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ । नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा रहेको नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता संचालन गर्दै आएको छ ।