भक्तपुर, २२ चैत्र २०७९ अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनस्ःनागरिकता प्राप्ति गरेको भन्दै चितवन– २ को उपनिर्वाचनमा युवराज पौडेलले रवि लामिछानेविरूद्ध उजुरी नलाग्ने भएको छ ।
मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको व्यवस्थाका कारण पौडेलको उजुरी नलाग्ने भएको हो।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन ऐन २०७४ मा उम्मेदवारीविरूद्ध दफा १५ मा दफा २१ अनुरुप उजुरी दिनुपर्छ । दफा १५ मा उम्मेदवारको लागि मनोनयन दर्ता भइसकेपछि निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा जोसुकैले उम्मेदवार अयोग्य रहेको वा हुँदैछ भन्ने कुराको प्रमाणसहित उजुरी गर्न सक्छ ।
दफा २१ मा मनोनयन पत्र दर्ता भएको कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने उम्मेदवार वा उसको प्रतिनिधिले निर्वाचन कार्यक्रमको सूचनामा उल्लेखित मिति, समय र स्थानमा निर्वाचन अधिकृत समक्ष उजुरी दिन सक्ने उल्लेख छ ।
रविविरुद्ध पौडेलबाहेक स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर उजुरी दिएका छन् ।
उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गरेका छन् ।
तीन उम्मेदवारको उजुरी लाग्ने भएको छ ।