News Portal

  • प्रदेश सरकारको सहयोगले महाभारतमा १७ किमी सडक निर्माण शुरु, प्रधानमन्त्रीले गरे शिलान्यास

    मदन ढुंगाना / भक्तपुर पोस्ट काभ्रे, २६ बैशाख २०८०
    ३५४ पटक
    काभ्रे, २६ बैशाख २०८०

    काभ्रेको महाभारत गाउँपालिकामा बागमती प्रदेश सरकारको लागतमा १७ किमी सडक निर्माण शुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलवार सो सडक निर्माणको शिलान्यास गरेका हुन् ।

    पूर्वाधार विकास कार्यालय धुलिखेलले सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माण कम्पनीसंग सम्झौता सम्पन्न गरेर निर्माण शुरु गर्न शिलान्यास गरिएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख श्रवन ढुंगानाले जनाएका छन् । सो सडक ६३ करोड लागत योजनामा निर्माण हुन लागेको उनले बताए ।

    पिंगयली रजबास भूमिचुली बुढाखानी देवीटार सडक नामाकरण गरिएको सो सडकले उक्त क्षेत्रका स्थानीयबासी लाभान्वित हुने पूर्वाधार विकास कार्यालयका प्रमुख भरतकुमार यादवले बिश्वास व्यक्त गरे । निर्माण मापदण्ड अनुरुप बनाउन र समयमै सम्पन्न गर्न कार्यालयले शुरुबाटै अनुगमन लाई प्रभावकारी बनाउने प्रमुख यादवले जनाएका छन् ।

    गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले स्थानीय सरकारले प्रदेश र संघसंग समन्वय गरी पालिकामा बिकास र सम्वृद्धिको मूल फुटाउने बताए । प्रधानमन्त्रीले आफ्नो गाउँपालिका लाई  प्राथमिकतामा राखेको प्रति दंग पर्दै उनले गाउँबासीका तर्फबाट आभार प्रकट गरेका थिए ।

    शिलान्यास पछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हिजोको राज्य ब्यवस्थालेले काठमाडौंको नजिकै भएर पनि काभ्रे लाई सेवा सुविधा बाट बन्चित गराएको स्मरण गर्दै काभ्रेको महाभारत क्रान्तिका आधार इलाका बनेजस्तै बिकास र सम्वृद्धिको उदाहरणीय बन्नुपर्ने बताए । ”महाभारतमा तपाईहरुले पनि आफ्ना विकास प्रेमी जनप्रतिनिधिलाई जिताउनुभयो र मैले पनि यहाँको विकास र निर्माणलाई उच्च प्राथमिकता दिएँ । त्यसैको परिणाम म सबै धेरै पटक आएँ ।’ जनसभा लाई सम्बोधन गर्दै उनले भने ।

    संघीयता किन चाहियो भन्नेहरुलाई उत्तर महाभारतले उत्तर दिनसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारले यहाँ बनाउन लागेको १७ किमि सडक संघीयताकै उपज भएको बताए ।

    कार्यक्रममा हजारौं स्थानीयले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका थिए ।

    आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै न्याय, समानता र सुशासनलाई महत्वका साथ् अघि बढाएको दावी गर्दै उनले अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नै नेतृत्वमा लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आफ्नो कार्यकालमा धेरै उपलब्धी हासिल हुने र इतिहासमा यसलाई स्वर्णिम अक्षरले लेखिने उद्घोष समेत गरे ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु गरिएको बताएका छन् । जनयुद्धको सफल नेतृत्व गरेका प्रचण्डले भ्रष्टाचार बिरुद्धको लडाई पनि जनताको सहयोगले जित्ने विश्वास व्यक्त गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डले भने, ”भ्रष्टाचार विरुद्धको लडाईमा जनयुद्धमा जस्तै जनताको बलियो साथ् चाहिएको छ ।” उनले जनताको सहयोगले भ्रष्टाचार बिरुद्धको लडाई जितिने जिकिर गरे ।

    जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न नपाउने उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने र भ्रष्टाचारको अन्त्य बिना विकास र सम्वृद्धि सम्भव नहुने उल्लेख गर्दै भ्रष्टाचार बिरुद्धको लडाई छेडेको आफ्नो सरकारलाई सहयोग गर्न अपील समेत गरेका छन् ।

    कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल, बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईं, प्रधानमन्त्रीका स्वकीय सचिवहरु, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सडक डिभिजन भक्तपुरका प्रमुख मेघराज मरासिनि लगायतको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...