सशस्त्र प्रहरीका १२ जना एसपीलाई एसएसपीका लागि बढुवा सिफारिस गरिएकोब्छ । साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका र नयाँ संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई थप भएका गरी १२ वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा बिहिबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरीका उपरीक्षक (एसपी)हरुलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविन राज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकाश घिमिरे, तिर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल रहेका गृह मन्त्रालयका प्रेस बिज्ञ कमल गिरीले जानकारी गराए ।
सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी उपरीक्षकहरुले नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सातदिन भित्र उजुरी दिनसक्ने बढुवा समितिका सदस्यसचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिएका छन् ।
बढुवा समितिले कार्यसम्पादन मूल्याङ्कन, कमाण्ड तथा स्टाफ कोर्ष, जेष्ठता र व्यवसायिक क्षमता समेतलाई आधार मानेर सिफारिस गरेको बुझिएको छ।