सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहस्यमय मृत्यु, स्थिति तनावपूर्ण

बलात्कारको आरोपमा सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएको छ । आइतवार बस्नेतको मृत्युपछि बालसुधार गृह तनावपूर्ण बनेको छ । बालसुधार गृहभित्र रहेका पुरुष थुनुवा र बाहिर रहेका आफन्तले नाराबाजी गर्नुका साथै तोडफोडको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको हो । सुधारगृहले आइतवार बिहान परिवारलाई मृत्यु भएको खबर दिएको भएपनि मृत्युको कारण पुष्ट्याई थाहा हुन नसकेको भन्दै आफन्त आक्रोशित छन् । घटना बुझ्न जाँदा जिल्ला प्रहरी वृत्त थिमीका प्रहरी निरीक्षकले उल्टै दुर्व्यवहार गरेको आफन्तले आरोप लगाएका छन् । घटनाको सत्यतथ्य छानविन हुनुपर्ने उनीहरुको माग छ । अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानविन समिति गठन गरी घटनाको अनुसन्धान तथा छानविन गर्ने तयारी गरिरहेको थाहा भएको छ । यसैबीच मृतकका आफन्त घटनाबारे छलफल गर्न प्रहरी वृत्त थिमि पुगेका छन् । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।