News Portal

  • १३ वर्षमा मध्यपुर अस्पताल : भक्तपुरमै पहिलोपटक एमआरआई सेवा शुरु

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १ कात्तिक २०८०
    २२१५ पटक
    madhyapur hospital MRIभक्तपुर, १ कात्तिक २०८०

    भक्तपुरको नयाँ थिमीस्थित मध्यपुर अस्पताल स्थापनाको १३ वर्ष पुगेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा बुधवारबाट अस्पतालले एमआरआई सेवा समेत सञ्चालनमा ल्याएको छ।

    स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो । केही साता अघिबाट परिक्षणमा रहेको एमआरआई सेवा बुधवारबाट नियमित सेवाको रुपमा शुभारम्भ गरिएको अस्पताल संचालक समितिका अध्यक्ष विष्णुराज कार्कीले बताएका हुन् ।

    बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन करिव १३ करोड रुपैयाको लागतमा एमआरआई मेसिन भित्राइएको र सोका लागि दक्ष जनशक्ति समेत व्यवस्था गरिएको अध्यक्ष कार्कीले जनाएका छन् ।

    रोग पत्ता लगाउन रेडियोलोजी विधामा एक्सरे, अल्ट्रासाउन्ड र सिटी स्क्यान पछि नयाँ प्रविधिको रुपमा एमआरआई प्रविधिको विकास भएको हो । म्याग्नेटिक रिजोनेन्स इमेजिङ अर्थात् एमआरआई प्रविधि शक्तिशाली चुम्बकको प्रयोगद्वारा शरीरका अंगहरुको सूक्ष्म तथा विस्तृत अध्ययन गर्ने प्रविधिको रुपमा परिचित छ । यसमा चुम्बकीय क्षेत्रमा राखिएको मानव शरीरमा रेडियो तरंग प्रसारण गरेर शरीरका अंगहरु तथा शारीरिक प्रक्रियाको अध्ययन गरिन्छ । यसको अत्यन्त महत्वपूर्ण विशेषता भनेको यसमा एक्स रे, सिटी स्क्यानमा जस्तो विकिरणको प्रयोग हुँदैन । त्यसैले संसारमै यसको प्रयोग बढिरहेको छ ।

    नेपालमा पनि करिब ३ दशक अघि नै एमआइआई सेवाको सुरुवात भएको हो । वीरेन्द्र सैनिक अस्पतालले यो सेवाको नेपालमा प्रथम शुभारम्भ गरेको थियो । भक्तपुरमा भने मध्यपुर अस्पताल एमआरआई सेवा दिने पहिलो अस्पताल बन्न पुगेको छ । सरकारी अस्पतालको रुपमा रहेको प्रादेशिक अस्पताल भक्तपुर अस्पताल र नगर अस्पताल ख्वप: अस्पतालले सिटिस्क्यान संचालनको लागि यस आर्थिक वर्षमा बजेट प्राप्त गरेका भएपनि खरिद प्रक्रिया अघि बढेको छैन भने नेपाल कोरिया मैत्री नगर अस्पतालले भर्खरै सिटीस्क्यान सेवा शुरु गरेको छ । एमआरआई भने सिटीस्क्यान पछि बिकाश भएको आधुनिक प्रविधि हो ।

    मध्यपुर अस्पतालको १३ औं वार्षिकोत्सव एवं एमआरआई सेवा सञ्चालनको घोषणा समारोहमा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, अर्की प्रतिनिधि सभा सदस्य रमा कोइराला, सोही क्षेत्रका प्रदेश सभा सदस्य एवं बागमती प्रदेशका कृषी विकास मन्त्री डा राजेन्द्रमान श्रेष्ठ, जिसस उपप्रमुख सुजाता बाडे, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, पूर्व प्रदेश सांसद प्रतिमा श्रेष्ठ, नेपाली काँग्रेसका नेता मदनकृष्ण श्रेष्ठ, नेकपा(माओवादी केन्द्र) का नेता दिलिप प्रजापति भिष्म र नेकपा एमालेका नेता चन्दनकृष्ण श्रेष्ठ तथा बिभिन्न संघ सस्था एवं सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । सहभागीहरुलाई स्वागत गर्दै संचालक एवं अस्पतालकी स्त्रीरोग विशेषज्ञ रविना प्रधानांगले एमआरआई सेवा संचालन भए संगै सो सेवाका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको उद्घोष गरेकी छन् । कार्यक्रममा सहभागीहरुले भक्तपुरको स्वास्थ्य सेवाको क्षेत्रमा योगदान गरिरहेको मध्यपुर अस्पतालले संचालनमा ल्याएको एमआरआई सेवा सस्तो र गुणस्तरीय हुने बिश्वास व्यक्त गर्दै निरन्तरताको शुभकामना दिएका थिए ।

    उक्त अवसरमा अस्पतालले सांगीतिक कार्यक्रमका साथै रात्रि भोजको समेत आयोजना गरेको थियो । यस अघि वार्षिकोत्सवको अवसरमा बुधवार अस्पतालले ओपीडी सेवा पूर्ण नि: शुल्क गरेको थियो भने बिभिन्न परीक्षणमा पचास प्रतिसत छुटको व्यवस्था मिलाएको थियो । मध्यपुर अस्पताल निजी क्षेत्रबाट संचालित भक्तपुरको पुरानो, बिश्वसनीय र सर्वाधिक बिरामी आउने एक सय सैयाको अस्पताल हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...