News Portal

  • शैलुङ कवितायात्रामा राजधानीका सर्जकहरू

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३ पुस २०८०
    २३४ पटक
    भक्तपुर, ३ पुस २०८०

    दोलखाको शैलुङमा पुस ४ देखि पुस ६ गतेसम्म “कवितायात्रा” हुने भएको छ । स्रष्टाहरूलाई देश दर्शन गराउने तथा  मोफसललाई केन्द्रसँग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्याउने कविता यात्राको उद्देश्य रहेको छ ।

    यस कवितायात्राको आयोजना साहित्यिक पत्रकार संघले गरेको हो । कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जकहरू शैलुङ जाँदै छन् ।

    कवितायात्रामा सहभागी सर्जकहरूमा मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्रा. डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाश ढुंगेल, प्रद्युम्न जोशी, मुरारी सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, कृष्ण के. सी., नीता श्रेष्ठ, डा. बुनु दाहाल, नवीन शाही रहेका छन् ।

    यसैगरी चर्चित गायकहरू नविन पौडेल, नरहरि प्रेमी, रितु कँडेल, गंगा भुर्तेल र बालनृत्यकार रन्जना थपलिया तथा संचारकर्मीहरू पुष्पा थपलिया, हेम थपलियालगायत छन् । कार्यक्रममा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयहरूको सहभागिता रहनेछ ।

    शैलुङ गाउँपालिका-८, भैंसेको सहकार्य रहेको यस कार्यक्रमले शैलुङमा थप सांस्कृतिक जागरण ल्याउनेमा समाजसेवी एवं गीतकार शोभित उप्रेती विश्वस्त छन् । कार्यक्रम तालिकानुसार पुस ४ गते चरणावतीधाम दर्शन, ५ गते शैलुङको थुम्कामा साहित्य विमर्श एवं कवि गोष्ठी तथा “स्रष्टा घर”को शिलान्यास र ६ गते भैंसेमा कविगोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ । साहित्यिक पत्रकार संघले वि. स. २०४२ सालमा दोलखा जिरीमा कवितायात्राको आयोजना गरेको थियो ।

    शैलुङ ३४,०० मिटर उचाइमा अवस्थित महाभारत पर्वत शृङ्खलाको सबैभन्दा उच्च पर्वत हो । शैलुङलाई पहाडहरूको ‘रानी पहाड’ पनि भनिन्छ । शैलुङ क्षेत्रमा १०८ प्रकारका जडिबुटीहरू पाइन्छन् । हिउँदमा प्राय: शैलुङको उच्चभाग हिउँले ढाकिएको हुन्छ । शैलुङबाट गौरीशङ्कर हिमाल, गणेश हिमाल, जुगल हिमालका साथै अन्नपूर्णसहित मुलुकका प्राय हिमश्रृङखलाहरू र महाभारत पर्वतका माथिल्लो क्षेत्रका पहाड र पर्वतहरूको चित्ताकर्षक दृश्य  देखिन्छ। प्राकृतिक सौन्दर्यसँगै शैलुङ हिन्दु र बौद्ध, बोन धर्मावलम्बीहरूको पवित्र धार्मिकस्थल पनि हो। यहाँ जनैपूर्णिमा, बाला चतुदर्शी लगायतका समयमा जात्रा (मेला) लाग्ने गर्दछ । शैलुङडाँडाको एउटा ओढारमा शैलुङेश्वर महादेव विराजमान छन् । शैलुङ्गेश्वर महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । शैलुङसम्बन्धी स्थानीयहरूबीच विभिन्न किंवदन्तीहरू प्रचलनमा रहेका छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई ‘साङ्गेलुङ’ भनिन्थ्यो भने पछि अपभ्रंश हुँदै शैलुङ रहन गयो ।  तामाङ भाषाको शब्द ‘सयलुङ’को नेपाली अर्थ हुन्छ – सय थुम्का । समयक्रममा ‘सयलुङ’लाई नै शैलुङ भन्न थालिएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । नेपाल सरकारले घोषणा गरेको नेपालको एक सयवटा प्रमुख पर्यटकीय गन्तव्यमध्ये शैलुङ पनि एक हो  ।

    कवितायात्राको आयोजक साहित्यिक पत्रकार संघ वि.सं. २०२९ सालमा स्थापना भई  नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका लागि क्रियाशील रही आएको छ । यसले  नेपाली भाषा, साहित्य, कला, संस्कृति र साहित्यिक पत्रकारिताका क्षेत्रमा यसले आफ्नो स्थापनाकालदेखि नै रचनात्मक क्रियाकलापहरू सम्पन्न गर्दै आइरहेको छ । राष्ट्रको साहित्यिक तथा सांस्कृतिक गरिमा अभिवृद्धि गर्ने काममा अग्रसर हुँदै आएको संघले वि.सं. २०३८ देखि प्रत्येक वर्ष चैत १९ गते कथा दिवस मनाउँदै आएको छ । यस्तै कवितायात्रा, साहित्यिक वनभोज, आत्मवाचन कार्यक्रम, सम्मान अभिनन्दनलगायतका कार्यक्रमहरूसहित मैनाली कथा पुरस्कार, व्यथित काव्य पुरस्कार, लोकप्रिया पुरस्कार, भवानी साहित्यिक पत्रकारिता, सापस साहित्यिक पत्रकारिता पुरस्कार, मुस्याचु पुरस्कार, इतिहास, संस्कृति अन्वेषण भूवन पुरस्कार, हरिहर शास्त्री-सावित्रीदेवी साहित्य पुरस्कारलगायतका पुरस्कार आदि प्रदान गर्दै आएको छ ।

    संघले वि.सं. २०४६ देखि २०६४ सालसम्म गाइजात्रे कार्यक्रमको आयोजना, स्रष्टाहरूको सम्मान, अभिनन्दन, रथारोहणजस्ता कार्यक्रम गर्दै  आउनुका साथै कविता क्यासेट, स्मारिका, सिर्जना बुलेटिनलगायत विभिन्न स्रष्टाका कृति पनि प्रकाशन पनि प्रकाशन गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...