
मध्यपुर थिमि नगरपालिकामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड–२०८० शुरु भएको छ । तीन दिन चल्ने विद्यालयस्तरीय यो प्रतियोगिता शुक्रवारबाट शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शिक्षासँगै खेलकुद लाई पनि अघि बढाइरहेको बताए । विद्यार्थीमा रहेको खेल प्रतिभालाई प्रस्फुटन गराई उनीहरुलाई जिल्ला, प्रदेश हुँदैं राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउँन प्रतियोगिताले मद्दत गर्ने उनले बिश्वास व्यक्त गरेका छन् ।
उनले नगरपालिकाको ऐन नियमभित्र आउन नचाहने, मुलुकको शिक्षा नीति, स्थानीय सरकार सञ्चालन ऐन र संघीय शिक्षा ऐनको व्यवस्था समेत नमान्ने विद्यालयलाई कानुन अनुसार कारवाही गर्ने चेतावनी दिंदै त्यस्तो स्कूललाई प्रतियोगितामा सामेल नगराइएको खुलासा समेत गरेका छन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख सुजाता बादेले विद्यालय स्तरीय प्रतियोगिताले विद्यार्थीलाई खेल प्रति आकर्षित गर्ने र खेलाडी उत्पादन गर्ने सकिने बिचार व्यक्त गरिन ।
नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पनि उत्तिकै महत्व र प्राथमिकता दिएको बताए । खेलकुदले विद्यार्थीको शारारीक एवं मान्ससिक बिकासमा सहयोग पुग्ने प्रष्ट पार्दै उनले आजका विद्यार्थी भविष्यका उत्कृष्ट खेलाडी बन्नसक्ने सम्भावनाबारे समेत बताए । खेलाडीहरुलाई अनुशासित र खेल भावना अनुरुप खेल्न आग्रह गर्दै उनले खेलकुदको बिकासमा नगरपालिकाले लगानी बढाइरहेको पनि बताए ।
जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाले जिल्लाका चार वटै पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तर सञ्चालन गर्नुले पालिकाहरु खेलकुद प्रति सकारात्मक रहेको उल्लेख गरे । उनले नगरस्तरीय पछि जिल्ला स्तरीय प्रतियोगिता गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
नगर शिक्षा समिति संयोजक एवम् वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विजय सुवेदीले स्वागत मन्तब्य राखेका थिए ।
प्रतियोगितामा ३७ विद्यालयका १ हजार २ सय २८ जनाले ५ खेलका ५६ स्पर्धामा प्रतिष्पर्धा गरिरहेका शिक्षा शाखा प्रमुख एवं उद्घाटन कार्यक्रमका संचालक ज्ञानेद्रप्रसाद भट्टल जानकारी गराएका छन् । प्रतिस्पर्धा उद्घाटन हुनु अघि ३७ विद्यालयका खेलाडीले समुहमा मार्चपास गरेका थिए ।
प्रतियोगितामा भलिबल छात्रामा ७१ र छात्रमा ८७ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । यसैगरी मार्सल आर्टको कराँतेमा ३१ छात्रा, ३२ छात्र, तेक्वान्दोमा २३ छात्रा, ३३ छात्र, उसुमा ३२ छात्र ३१ छात्रको सहभागिता रहेको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार एथलेटिक्सतर्फ १०० मिटर दौडमा ४४ छात्रा ५९ छात्र, २०० मिटर दौडमा २५ छात्रा ४७ छात्र, ४०० मिटर दौडमा १६ छात्रा ३४ छात्र, ८०० मिटर दौडमा ११ छात्रा १९ छात्र, १५०० मिटर दौडमा ९ छात्रा २४ छात्र र ३००० मिटर दौडमा ५ छात्रा २१ छात्रको सहभागिता रहेको छ ।
एथलेटिक्सकै हाईजम्पमा ९ छात्रा १६ छात्र, लङजम्पमा १३ छात्र २७ छात्रा, त्रिपलजम्पमा ८ छात्रा १९ छात्रले प्रतिष्पर्धा गरिरहेको छ । यसैगरी सटफुटमा १९ छात्रा ३२ छात्र, ज्याभलिन थ्रोमा १२ छात्रा २५ छात्रको सहभागिता रहेको छ ।
प्रतियोगिताका एथलेटिक्सका खेलहरु सानोथिमिस्थित मध्यपुर खेल मैदान, मार्सल आर्टका खेलहरु आदर्श मावि लाय्कू थिमि, भलिबल बोडे मावि बोडे र कबड्डीका खेलहरु आदर्श मावि सानोथिमिमा भइरहेको छ ।