News Portal

  • दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय भवन बन्ने, सांसद थापाले गरे शिलान्यास

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ फागुन २०८०
    ३८४ पटक
    भक्तपुर, २३ फागुन २०८०

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार चार तले उक्त भवन निर्माण हुने भएको हो ।

    उक्त बहुउद्देश्यीय सामुदायिक भवनको बुधवार आयोजित विशेष कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्तरुपमा भुमी पुजन र शिलान्यास गरेका छन् ।

    कार्यक्रममा सांसद थापाले शिलान्यास हुनु भन्दा उद्घाटन गर्नु महत्वपूर्ण कदम हुने भएकाले गुरुयोजना अनुसारको निर्माण कार्यका लागि आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता प्रकट गरे । सामाजिक क्षेत्रमा गरेको योगदान युगौंयुग सम्म जिवित हुने भन्दै उनले विविध सामाजिक परम्परा र सांस्कृतिक विविधतायुक्त समाजको गतिविधिले आमनागरिकलाई सत्मार्गमा अघि बढ्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

    नगरप्रमुख सुरेन्द्र श्रेष्ठले तत्कालिन दिव्यश्वरी गाविस क्षेत्रको मध्यपुर थिमि नगरपालिकाको वडा नं. १, २ र ३ वडाको महत्वपूर्ण ऐतिहासिक एवम् धार्मिक महत्वको दिव्यश्वरी मन्दिर परिसरको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताएका छन् ।
    “यस क्षेत्रको अत्यन्त महत्वपूर्ण क्षेत्र भएपनि पिछडिएको महशुस भइरहेको अवस्थामा वर्तमान सेवा समितिले गुरुयोजना निर्माण गरी अघि बढ्ने जुन पहल गर्नुभएको छ यसमा नगरपालिकाले आवश्यक सहयोग गर्नेछ ।”, उनले भने ।

    मन्दिरका संरक्षक स्वामी दिनदयाल महाराजले धर्मको रक्षा नै समस्त प्राणीहरुको रक्षा भएको चर्चा गर्दै दिव्यश्वरीको महिमा, यसको स्वरुप गुह्येश्वरी भगवतीको भएको बताए । उनले श्रीयन्त्र युक्त मन्दिर दिव्यश्वरीको बाहेक नेपालमा अन्त कतै नभएको दावी समेत गरेका छन् ।

    अर्का संरक्षक एवम् मन्दिरका संस्थापक पं. दिव्य देव पन्तका सन्तती जनार्दन देव पन्तले आफ्ना पुर्खाले स्थापना गरेको मन्दिरको विकासमा स्थानीयको सक्रियताको प्रशंसा गर्दै पन्त परिवारले सकारात्मक कार्यमा सधै साथ सहयोग गरिरहने उद्घोष गरे ।

    दिव्यश्वरी सेवा समितिका सल्लाहकार एवम् दिव्य देव पन्तका सन्तती डा. विष्णुदेव पन्तले भवन निर्माणका लागि आफु र आफ्ना धर्मपत्नी विना पन्तको तर्फबाट एक लाख रुपैंया सहयोग गर्ने घोषणा गरे ।

    मध्यपुर थिमि नगरपालिका वडा नं. १ का वडाअध्यक्ष बाबुकाजी डंगोलले मन्दिर परिसरको विकासमा वडाले सधै सहयोग गरिरहने बताए । समितिका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष प्रेम बहादुर खड्काले मन्दिरको विगतको अवस्था, मन्दिर परिसरको सुधारका लागि विगतमा भएका प्रयासको चर्चा गर्दै भवन निर्माणका लागि २५ हजार रुपैंया सहयोग गर्ने घोषणा गर्दै चेक समेत निर्माण उपभोक्ता समितिका कोषाध्यक्षलाई हस्तान्तरण गरेका छन् ।

    समितिका अध्यक्ष केदार खड्काले प्रस्तावित भवनको पहिलो दुई तलामा भजनकिर्तन गर्ने, सामूहिक धार्मिक कार्यक्रम गर्न मिल्ने हल, तेस्रो तलामा मन्दिरका पुजारीका साथै देश विदेशबाट आउने धर्मगुरु, पण्डितहरुको लागि अतिथी गृह र चौंथो तलामा विविध प्रयोजनका लागि उपयोग ल्याउने उद्देश्य रहेको जानकारी गराए ।

    यसैगरी गुरुयोजना अन्र्तगत मन्दिरको पुर्वतर्फ मन्दिरको आयस्रोतको रुपमा पहिलो तलामा व्यापारिक प्रयोजन र दोस्रो तलामा समितिको कार्यालयका साथै ई लाईब्रेरी निर्माण हुने बताइएको छ ।
    कार्यक्रममा समितिका उपाध्यक्षद्वय विजयकृष्ण खड्का र जगत प्रजापतिलगायतले गुरुयोजना अन्तर्गत मन्दिरको उत्तरतर्फ प्रस्तावित भवन निर्माणका लागि हाल नगरपालिकाले ३० लाख रुपैंया विनियोजन गरेको जानकारी दिँदैं निकट भविष्यमा अन्य विविध कार्यक्रम आयोजना गरी स्रोत जुटाउने लक्ष्य रहेको जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...