News Portal

  • भक्तपुरमा ४ वटा नगरपालिकाको काम छैन : सांसद थापा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ भदौ २०८१
    ७२९ पटक
    भक्तपुर, ७ भदौ २०८१

    भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरमा ४ वटा नगरपालिकाको काम नभएको दावी गरेका छन् । ४ नगरपालिकाको सट्टा एउटै उप महानगरपालिका बनाउनुपर्ने उनले बताएका हुन् ।

    शुक्रवार नेपाल प्रेस सोसाइटीको साक्षात्कार कार्यक्रमलाई सूर्यविनायकमा सम्बोधन गर्दै सांसद थापाले आफूले यसबारे जिल्ला समन्वय समितिमा समेत जानकारी गराएको खुलासा गरे । भक्तपुरको सानो भूगोलमा धेरै पालिका भएको भन्दै उनले राजनीतिको रोटी सेक्न बाहेक त्यसको औचित्व नभएको जिकिर गरे । देशैभर स्थानीय तहको संख्या घटाउने चर्चा चलिरहँदा भक्तपुरमा पनि एउटै मात्र उपमहानगर बनाएर अघि बढ्नुपर्ने उनले आवश्यकता औल्याएका छन् ।

    उनले स्थानीय सरकार प्रमुखहरुमा दम्भ बढेको बताए । संघीय सांसदले धेरै काममा समन्वय गर्नुपर्ने तर, स्थानीय सरकार कुरा सुन्न समेत नचाहने प्रवित्तिले आफू आजित भएको उनको भनाइ छ ।

    सांसद थापाले ख्वप:विश्वविद्यालय बनाउन आफू सकारात्मक रहेपनि नेमकिपाको प्रशिक्षण केन्द्रको ढाचामा प्रस्तावित विश्वविद्यालयले मान्यता पाउन नसक्ने प्रष्ट पारे । नगरपालिकाले आफूले संचालन गरेका बाहेक श्री पदम, विद्यार्थी निकेतन र शारदा मावि जस्ता ऐतिहासिक विद्यालयको बिकासमा ध्यान नदिएको उनले आरोप लगाएका छन् । ख्वप: विश्वविद्यालयको स्थापना, विद्यालयको स्तर उन्नती, हनुमन्ते डुबानको समस्या समाधान लगायत धेरै काममा आफू भक्तपुर नगरपालिकालाई सहयोग गर्न तत्पर रहेको उनले बताए ।

    नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका सांसद थापाले नेमकिपासंग मात्र नभई सत्ता साझेदार दल नेकपा (एमाले) प्रति पनि असन्तुष्टि प्रकट गरे । ”आफू निर्वाचनको उम्मेदवार हुँदा भक्तपुरमा सबै बिकास भैसकेको प्रचार गर्ने कथित बिकासका ठेकेदारहरुले अहिले दुर्लभ थापाले बिकास गरेन भनेर भ्रम फैलाईरहेका छन् ।” नेकपा एमाले र पूर्व सांसद महेश बस्नेतलाई लक्षित गर्दै उनले भने ।

    सांसद थापाले जनप्रतिनिधि र राजनीतिक दलले राम्रोको जस आफूले लिने र नराम्रोको दोष अर्काको टाउकोमा थोपर्ने गरेकोप्रति दुख व्यक्त गरे । सबै राजनीतिक दल र नेताहरुको सामुहिक प्रयासबाट नै जिल्लाको समग्र बिकास सम्भव हुने भन्दै उनले बिकासमा एकता र राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुनपर्ने प्रष्ट पारे ।

    सडक निर्माणलाई मात्र बिकास मान्न नसकिने भन्दै उनले दीर्घकालीन बिकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई र जनताको आयआर्जन वृद्धिको योजनामा आफूले जोड दिएको दावी गरे ।

    सो अवसरमा सांसद थापाले समसामयिक राजनीतिप्रति टिप्पणी गर्दै संसदमा सधै झगडा गरिरहने दुई झगडिया दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदा विश्वमै सकारात्मक संदेश गएको जिकिर गरे । यसले राजनीतिक स्थिरता ल्याएको तथा देश र जनतामा आशाको संचार गराएको उनको जिकिर छ ।

    नेपाली कांग्रेस लोकतान्त्रिक शक्ति भएको स्पष्ट पार्दै उनले ठुला दुई दल मिल्दैमा अधिनायकबाद नआउने दावी गरे । आफूहरुले अन्य दललाई समेत समेटेर सरकार बनाएको बताउदै नेपाली काँग्रेसका जिल्ला सभापति एवं संघीय सांसद थापाले माओवादी केन्द्र, रास्वपा र नेकपा( एकीकृत समाजवादी) लगायतका दलसंग समेत सहकार्य गरेर अघि बढ्ने बताए । सरकार बनेपछि टिआरसी बिधेयक संसदबाट पास हुनु त्यसको प्रमाण भएको उनले प्रष्ट पारेका छन् ।

    निर्वाचन प्रणाली, समानुपातिक समावेशी लगायत संविधानका केही धारा संशोशन गर्नुपर्ने आवश्यकता औल्याउदै सांसद थापाले सबैको अपनत्व हुनेगरी संविधान संशोधन हुने विश्वास व्यक्त गरे ।

    सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ले जनप्रतिनिधिले समय समयमा सामाजिक परीक्षण गराउनुपर्नेमा जोड दिए । राजनीतिले समाज विभाजनको मात्र नेतृत्व गरेको र एकले अर्कोप्रति भ्रामक प्रचार मात्र गरेको भन्दै सचिव शुभचिन्तकले सामाजिक परीक्षणले जनता र जनप्रतिनिधिबीचको दुरी अन्त्य गर्ने विश्वास व्यक्त गरे ।

    नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्रराज केसीको अध्यक्षतामा सम्पन्न साक्षात्कार कार्यक्रमको संचालन महासचिव केशव लुइँटेलले गरेका थिए । कार्यक्रममा पत्रकारहरु कृष्ण किसी, आरसी प्रजापति, कृष्ण प्रजापति, रोशन थापा, सुरेन्द्र खतिवडा, देवेन्द्र श्रेष्ठ, निशा कुश्मा, सृजना खतिवडा, रामहरी चौलागाई लगायतको सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...