News Portal

  • माओवादी केन्द्रको आयु नयाँ पुस्तामा निर्भर : नेता ढकाल

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ भदौ २०८१
    २७२ पटक
    भक्तपुर, १५ भदौ २०८१

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालले माओवादी केन्द्रको तागत अखिल क्रान्तिकारीले निर्धारण गर्ने बताएका छन् । जनयुद्धकालीन विद्यार्थी नेता समेत रहेका नेता ढकालले पार्टीलाई बलियो बनाउन अखिल क्रान्तिकारी बलियो बन्नुपर्ने बताएका हुन् ।

    पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी) भक्तपुर बहुमुखी क्याम्पसको ९ औं क्याम्पस सम्मेलनलाई शनिवार उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले भने, ”नयाँ पुस्ता नजोडेपछि निश्चित समयपछि आन्दोलनको भविष्य सकिन्छ । माओवादी केन्द्रको आयु पनि विद्यार्थी संगठनमै निर्भर रहन्छ ।”

    शहिदले बोकेका क्रान्तिकारी झण्डा बोक्न पाउनु विद्यार्थी वर्गका लागि गौरवको कुरा भएको भन्दै नेता ढकालले माओवादी आन्दोलन अघि बढाउँन विद्यार्थीहरुले नेतृत्व विकास गर्नुपर्नेमा जोड दिए । भक्तपुर बहुमुखी क्याम्पसका तत्कालीन विद्यार्थीहरु रमेश अधिकारी र चीनबहादुर बुढा लगायतले जनयुद्धमा शहादत प्राप्त गरेको स्मरण गर्दै उनले गर्विलो इतिहास बोकेको संगठनलाई अझ माथि उठाउनपर्ने आवश्यकता औल्याए ।

    अनेरास्ववियु(क्रान्तिकारी) भक्तपुर बहुमुखी क्याम्पसको पहिलो अध्यक्ष समेत रहेका नेता ढकालले जिल्ला अध्यक्ष सुनिल बासु, प्रदेश सांसद भुवनकेशरी श्रेष्ठ भावना र मध्यपुर थिमीका उपप्रमुख विजय कृष्ण श्रेष्ठ अखिल क्रान्तिकारी पृष्ठभूमिका भएको उल्लेख गर्दै अखिल क्रान्तिकारीको राजनीतिक भविष्य पनि उज्जवल रहेको स्पष्ट पारे ।

    सम्मेलनलाई सम्बोधन गर्दै नेता ढकालले भ्रष्टाचारीहरुको गठबन्धनमा वर्तमान सरकार बनेकोले त्यसले गर्ने जनविरोधी कामको प्रतिरोध गर्न निर्देशन दिए । आफ्ना पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासन र विकासको पक्षमा गरेका कामको प्रचारप्रसार गर्न पनि उनले प्रेरित गरेका छन् ।

    माओवादीको बलिदानीले ल्याएको गणतन्त्रमा रजाइ गर्ने अनि जनयुद्धलाई हिंसा भन्नेहरु प्रति उनले आपत्ती जनाए ।” हेक्का रहोस ! माओवादी जनयुद्ध नभएको भए कि त तपाईहरु ज्ञानेन्द्रको तलुवा चाटेर बस्नुहुन्थ्यो कि त उनको जेलमा कैद देख्नुपर्थ्यो ।” उनले भने ।

    माओवादी २ सय ४० वर्षको इतिहास बोकेको राजतन्त्र फालेर आएको स्मरण गराउदै उनले एमाले काँग्रेसको लुटको स्वर्ग माओवादी केन्द्रले सजिलै ध्वस्त गर्ने उद्घोष समेत गरे । ”भ्रष्टाचारमा डुंगडुंती गन्हाएको एमाले कांग्रेसलाई ८४ को चुनावमा एक्लै परास्त गरेर लुटको स्वर्ग ढाल्छौँ ।” उनले भने ।

    देशकै लामो मध्यपहाडी लोकमार्ग प्रचण्ड नेतृत्वको सरकारले बनाउन शुरु गरेको उनले जानकारी गराए । माओवादी सत्तामा नआउदा नेपाललाई दुई ढुंगा बीचको तरुल मानेर हिन भाव राख्ने गरेको बताउदै उनले आफूहरुले नेपाललाई दुई ठुला देशको बीचमा रहेको पूलको रुपमा साझेदारी खोज्न शुरु गरेको जिकिर गरे । लोडसेडिङको अन्त्य गरेर विद्युत निर्यातको अवस्थामा ल्याएको, बायु सेवा निगममा ४ वटा जहाज किनेको, आयल निकमको घाटा घटाएको लगायतको बारेमा बताउदै उनले पासपोर्टका लागि राजधानी धाउनु नपर्ने र सेवाग्राहीको छाप रहने सरकारी कार्यालय बिदामा पनि खोल्ने व्यवस्था माओवादी केन्द्र नेतृत्वको सरकारले ल्याएको दावी गरे । उनले पार्टीका कामलाई जनताको बीचमा लैजान र जनताको दुख सुखको साथी बन्न अखिल क्रान्तिकारीलाई निर्देशन समेत दिए ।

    कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावलले संगठनलाई जनताको भरलाग्दो र माफियाका लागि डरलाग्दो बनाउन निर्देशन दिए । सो अवसरमा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोठे बासु, नगर अध्यक्ष राकेश सुवाल,  अखिल क्रान्तिकारीका केन्द्रीय सचिव बालकुमार केसी, नरेन्द्र ऐडी, रमेश खड्का, उपत्यका सचिव समिर पाण्डे, केन्द्रीय सदस्य प्रकास केसी, मास बहादुर लामा, जिल्ला अध्यक्ष प्रदीप तज  लगायतले सम्मेलनको शुभकामना व्यक्त गरेका थिए ।

    सम्मेलनको बन्द सत्रले सागर बन्मालाको नेतृत्वमा ३९ सदस्यीय क्याम्पस समिति निर्विरोध निर्वाचित गरेको छ । स्ववियु सहसचिव समेत रहेका नेता मास बहादुर लामाको प्यानल प्रस्ताव सम्मेलनले सर्वसम्मत स्वीकृत गरेको हो ।

    समितिको वरिष्ठ उपाध्यक्षमा विरेन्द्र अधिकारी र उपाध्यक्षहरुमा रविना श्रेष्ठ र सूर्य तामांग रहेका छन् । त्यस्तै सचिवमा आकाश गजुरेल र सहसचिवमा दिक्षा खड्का, पेम्बा लामा र सावित्रा विक निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने दिलमाया योञ्जन निर्वाचित भएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ...

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका...

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार...

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्ने गिरोह भक्तपुरमा पक्राउ

    कम तौलको गहनाको बढी तौलको बिल बनाई ठगी गर्नेगरेको आरोपमा महिलाहरु पक्राउ परेका छन् ।...

    सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब बढी फलोअर्स

    क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा...