तँ त दुब्लाइछस् त है । बुबाले भन्नु भो । म फिस्स हाँसे मात्रै । ७० के.जी. को मान्छे ७७ के.जी. पुगी सके कता दुब्लाउनु । बुबाका आँखा पनि कस्ता छन् । यो सब मायाले होला । मैले मन मनै सोचे । मैले नपत्याएको भाव मेरो अनुहार मा झल्किएछ क्यारे । ‘के भो ? तँ त एकोरीस त ।’ बुबाले भन्नु भो । हैन । छोटो जवाफ फर्काए ।
अनि बुबा तपाईलाई सन्चो छैन ? अनुहार पनि निन्याउरो छ त ! मैले सोधे । अँ, अलि सन्चो छैन । जिउ कट्कटी खाएको छ । मुख पटक्कै मिठो छैन, बुबाले भन्नु भो । अनि ज्वरो पनि आको छ ?
छाती पनि दुखेको छ की ? मैले मायालु भावमा सोधे । अ हिजो राती रातभर कामज्वरो आयो । घाँटी दुखेर थुक निल्न हुँदैन । यहाँ मलाई पानी तताएर दिने मान्छे पनि छैन । भाई मलाई कस्तो गाह्रो भा छ । तँ सँग भेटै हुँदैन । बुबाले मलिन स्वरमा भन्नु भो ।
मलाई भक्कानो फुटेर आयो । मैले आँफुले आँफैलाई धिक्कोर । के का लागि मेरो व्यस्तता । आखिर बुबालाई पानी तताएर दिन पनि म भ्याउदिन भने मैले व्यस्त भएर कमाएको धन सम्पत्तिको के अर्थ ? मेरा आँखा भरी आँसु टिलपिल भए । म बुबासँग एक शब्द पनि बोल्न सकिन । तँ त फेरी रुन पो आँटिस् त चन्द्रे । बुबाले भन्नु भो । छैन । भन्दै उता फर्केर आँखा मिचेर आफुलाई सहज बनाउने कोशिस गरे ।
सिटामोल खानु भएको छैन । सिटामोल खानु भएको भए ज्वरो अलि कम हुन्थ्यो की ? मैले जिज्ञासा व्यक्त गरे । यहाँ सिटामोल लगायत त्यस्ता कुनै आधुनिक औषधीहरु पाइदैन । खाने त जडीबुटी मात्रै हो । जडीबुटी खानु भयो त ? फेरी सोधे । कसले ल्याइदिन्छ जडीबुटी ? आफु हिड्न सक्दिन । तेरी आमालाई खोजेर ल्याइदे भनेको उ पनि कता गई कता ? बरु त्यहाँ पानी होला तताएर ल्याइदेन साह्रै मुख सुकि रहेको छ । बुबाले भन्नु भो ।
हवस । भनेर भित्र पसे । भित्र पुरै माकुराको जालो रहेछ । एसो ड्रममा हेरे चामल थोरै रहेछ । दालको बट्टा पनि रित्तै । मन असाध्यै अमिलो भयो । पानी पनि थोरै बाँकी रहेछ । ग्याँस बालेर दिउरेमा पानी बसाले । बुबालाई चिया मन पर्छ । चिया पनि पकाइदिनु प¥यो भनेर चिनी खोजे बट्टा रित्तै रहेछ । चियापत्ती थोरै रहेछ । दुध तताउने भाडो त कति दिन देखि प्रयोग नगरे जस्तो देखिन्थ्यो । चिनी, दूध नै नभए पछि के चिया पकाउनु भन्ने ठानी तातो पानी मात्रै लिएर बाहिर निस्के । बुबा ओछ्यानमा लमतन्न भएर सुत्नु भएछ ।
बुबालाई विस्तारै उठाए र पानी पिउन दिए । अलिक पिउने भनेर सोधे, भो भन्नु भयो र फेरी ढल्किनु भयो । बुबा यसरी सुतेर मात्र हुँदैन । जहाँ भए पनि अस्पताल जानु पर्छ भने । यहाँबाट अस्पताल धेरै टाढा पर्छ । म हिडेर जान सक्दिन । कति टाढा पर्छ ? मैले सोधे । हिँडेर जाँदा २ दिन लाग्छ । अहो ! टाढा पो रहेछ ।
त्यती टाढा कुन ठाउँमा हो बुबा ? मैले फेरि सोधे । स्वर्गरानी । यो स्वर्गको राजधानी हो । त्यहाँ पनि ठिक भएन भने बैकुण्ठपुर जानु पर्छ । त्यहाँ पुग्न स्वर्गरानीबाट अरु दुई दिन पैदल हिड्नु पर्छ । अनि बुबा गाडीको सुविधा छैन । मलाई खुल्दुली भयो । छैन । बुबाले सहजै भन्नु भो । अनि यसको विकल्प के हुन सक्छ त बुबा ? मैले प्रश्न तेर्सायाए ।
पुष्प विमान । पुष्प विमान चाँही जान्छ त्यहाँ । बुबाले भन्नु भयो । ए उसो भए म टिकट मिलाउछु र हजुरलाई लिएर जान्छु नी त । न आतिनु है सब ठिक भैहाल्छ । बुबालाई विश्वास दिलाउन खोजे । बुबा फिस्स हाँस्नु भो । यत्तिकैमा ज्बउउथ ँबतजभचक म्बथ बाबा भन्दै छोरोले मलाई व्यँुझायो ।
म त व्यँुझिए । अर्कै संसारमा आइपुगे । बुबाको भौतिक शरीरले यहाँबाट बिदा लिएको ४ वर्ष पुरा हुन आँटी सक्यो । यहाँ त बुबाका सम्झनाहरु मात्र यत्र–तत्र हावामा वहि रहन्छन् । मन असाध्यै अमिलो भयो । अब के गर्ने ? मसँग कुनै विकल्प छैन । निधारबाट चिट–चिट पसिना आउन थाल्यो । मैले चाहेर पनि बुवालाई भेट्न सक्दिन । न त पुष्प विमानको टिकट नै काट्न सक्छु । न त बुबालाई उपचारको लागि स्वर्गरानी नै लैजान सक्छु । बुबाले चन्द्रे टिकट काट्न गएको छ । चाँडै नै आउछ भन्ठानेर पर्खिरहनु भएको होला ।
खानेकुरा पनि केहि थिएन । के खानु भयो होला ? फेरि तिर्खा लाग्यो की ? पानी पनि थिएन । कसले पानी खुवाउछ होला । उहाँको उपचार कसले गर्देला ? आँखा चिम्म गरेर बसे । बुबालाई देखिन्छ की भनेर । अहँ देखिएन । संसार अध्यारो भयो । मेरा अगाडि कुनै बाटो थिएन । सबै बन्द भए । म निरास भए । आवाज विहीन भए । जब मान्छे अप्ठ्यारोमा पर्छ भगवान् सम्झिने रहेछ ।
म भन्न थाले हे इन्द्र, हे प्रभु, हे विधाता, हे स्वामी, हे मालिक मैले मेरो बुबालाई तिम्रै लोकमा छोडेर आएको छु । उहाँ असाध्यै विरामी हुनुहुन्छ । पानी तताएर दिने मान्छे पनि छैन । उहाँ असाध्यै ठूलो पिडामा हुनुहुन्छ । मैले सुनेको थिए तिम्रो संसारमा कसैलाई पनि दुःख हुँदैन रे । सबै सुखी हुन्छन् रे । तिम्रो राज्य त धर्मात्माहरुको राज्य हो रे । अनि कसरी ? मेरो बुबालाई विरामी अवस्थामा छोड्यौं । किन ?
के मेले सुनेको के कुरा असत्य हो ? तिम्रो देशको राजधानीबाट २ दिन टाढा एउटा गाउँमा मेरो बुबा हुनुहुन्छ । छिट्टै तिम्रा बैद्य वा डाक्टरहरू पठाउँ । मेरो पुकार सुन हे भगवान् । तिमी अन्तर्यामी छौ । तिमी माहान छौ । तिम्रो महानता देखाउ । तिम्रो भगवान रुपी चरित्र देखाउ । यदि तिमी साँच्चै भगवान् हौ भने ।
भरे बेलुका मेरा आँखाका परेलीहरुको ढोका बन्द गरेर सपनीका बाटाहरु पछ्याउदै मेरो बुबालाई भेट्न आउँदा उहाँ सन्चो भएको देख्न पाऊँ । भगवान् इन्द्रका दूतहरु आएर मलाई स्वर्गरानी लिएर आए र उपचार गराए भाई भनेको सुन्न पाऊँ । यही प्रतिक्षामा बुबाको मुख हेर्ने दिनमा बुबाको फोटोमा पूजा गरिरहेको छु, भगवान् ।
(लेखक गौतम गोल्डेन सुनगाभा स्कूल दुवाकोटका प्रिन्सिपल हुन् ।)