भक्तपुर, ४ माघ २०८१नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका छन् । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र प्रचार बिभाग प्रमुख राजेन्द्र गौतमले बिश्वमणीलाई शुक्रबार प्रवेश गराएका हुन् ।
विश्वमणीसँगै महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू रमेश सुवेदी, आशिष गुरागाईँ, सौगात मिश्र, नरेन्द्र विष्ट त्यसैगरी माधव पौडेल लगायतका नेताहरु प्रेस चौतारीमा फर्कीएका चौतारीका अध्यक्ष गणेश बस्नेतले बताए । अध्यक्ष र महासचिवसहितका पदाधिकारी र सदस्यहरु चौतारीमा आएपछि अध्यक्ष बस्नेत उत्साहित देखिएका छन् ।
प्रेस चौतारी छाडेको पछुतो गर्दै बिश्वमणीले समाजवादी प्रेस संगठनका सवै पत्रकारलाई प्रेस चौतारीमै फर्काउने बताएपछि अध्यक्ष बस्नेत मात्र होइन, एमालेका महासचिव पनि उत्साहित बने ।
तर, यता समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्य समेत रहेका भक्तपुर जिल्ला अध्यक्ष दिनेश कार्कीले भने नेताको भरिया बनेर भत्किएको घर नफर्कने बताए । नेपाल पत्रकार महासंघ भक्तपुर शाखामा चौतारीका उम्मेदवारलाई पराजित गर्दै सह सचिव समेत निर्वाचित भएका कार्कीले कसैको राजनीतिको रोटी सेक्न विवेक बन्दकमा राख्न नसकिने टिप्पणी गरे ।
बैचारिक दुरी कायम रहेसम्म टाउको जोड्दैमा केही नहुने उनको भनाइ छ । भक्तपुरबाट आफ्नो संगठनका कोहीपनि चैतारी नफर्कने उनले जानकारी गराएका छन् । श्रीमती प्रेस चौतारीमा राखेर बिश्वमणीले आफ्नो पदलाई पहिल्यै बाट कलङ्कित गरेका र एक पटक पनि केन्द्रीय समिति बैठक बसाल्न नसकेको असक्षमता भागेर छोप्न खोजेका उनले बताए ।
४ वर्ष देखि चौतारीबाट छुट्टिएर समाजवादी प्रेस संगठन अस्तित्वको लडाईमा रहेको छ । समाजवादीलाई कमजोर बनाएर चौतारी फर्काउने नेतृत्वको कसरत भने शुरूवातबाटै कायमै छ ।