तिमी जेसुकै गर ! तर,
म चाहिँ हतियारले आफ्नै नाम काटेर जन्मदिन मनाउँदिन।
घरभित्रै हिउँको वर्षा गराएर जन्मोत्सव मनाउँदिन।।
म हिड्ने मेरो आफ्नै बाटो छ।
त्यही बाटोले मलाई गन्तव्यमा पुर्याउने भरपुर बिश्वास छ ।।…..२
तिमी जेसुकै भन ! तर,
मलाई मेरो अनुहार भरि भ्यानिलाको मोसो दल्नु छैन ।
मेरो शिरमा ढाकाको टोपी नै राम्रो छ, कागजको टोपी कस्नु छैन ।।
अबिर,केशरी ,सिम्रीक अनि सयपत्री आफ्नै घरमा टन्न छन
सयौ देविथान र देउरालीहरु मेरै वरपर मस्त छन ।।….२
तिमीले जे बुझे बुझ ! तर,
मेरो पवित्र दिनमा मलाई मेरै माटोको प्रसाद चाहिन्छ ।
अष्ट चिरञ्जीवीको पूजा गर्ने चोखो थाली चाहिन्छ। ।
साँझ परेपछी होइन मित्र सुर्योदय मै सबैकुरा गर्नुछ ।
बाल्नको लागि झिर्झिरे होइन, दियो र तेल सँगै राख्नुछ ।।……२
तिमीलाई लाग्यो होला ,
जमाना कहाँ पुग्यो यो कहाँ पो रहेछ ?
बाउ बाजेको पालामा जन्मनु पर्ने मान्छे अहिले पो जन्मिएछ।
हे मित्र ,मान्छेले जमाना बनाउने हो, जमानाले मान्छे होइन।
आफ्नो जति सबै बिर्सन खोज्ने त्यो मान्छे ,मान्छे नै होइन।…..२
मित्र,तिमीलाई यति चाहिँ ज्ञात होस्,
त्यो दिन मेरा पाइलाहरूले मठ मन्दिरको आँगन चुमेको हुनैपर्छ।
घरका कुल पितृहरू प्रति मेरो शिर निहेको हुनैपर्छ।
हामीले आफू र आफ्नालाई चिन्नै पर्छ।
संसारमा आफ्नो शक्ति नचिन्नेले अरुको पिछलग्गु बन्नु पर्छ।,,,,२
तिमी जे सुकौ सोच ! तर,
मेरो सोचाइ स्पष्ट छ-निर्दिष्ट छैन ।
म म नै हु – अरु बन्ने अभिष्ट छैन ।
प्रिय साथी, सक्छौ परम्परा नबिर्स ।
सक्दैनौ – आउँ संगै बाँडौ जन्मदिनको हर्ष !!
(कवि विष्णु चन्द्र गौतम पेशाले अङ्ग्रेजी शिक्षक हुन् । भक्तपुरका विभिन्न विद्यालयमा शिक्षण कर्म गरिरहेका गौतमको आज जन्मदिन पनि हो । यसै सन्दर्भमा उनले यो कविता लेखेको बताएका छन् । कवि गौतमलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ! – सं.)