‘आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप’ छनोट प्रतियोगितामा सनिल शाही प्रथम

बक्सिङ खेलाडी सनिल शाही ‘आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप’का लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ किलो तौल समूहमा प्रथम भएका छन् । नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरेका हुन् । प्रतियोगितामा पाँच स्पर्धामा ३२ खेलाडी सहभागी थिए । प्रतियोगिताको ५१ किलोमा एचटुओका रवीन थापा, ५७ किलोमा एपिएफका पुरन राई, ६३ किलोमा १३औँ सागका स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ७१ किलोमा एपिएफका विकास लामा आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै पहिलो भएका छन् । विश्व च्याम्पियनसिप सर्बियाको बेलग्रेडमा अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म सञ्चालन हुने बताइएको छ ।