News Portal

  • प्रदेश नम्बर २ का प्रमुख परियार : ७६ वर्षमा पनि उस्तै जोश र जागर

    भक्तपुर, १९ कात्तिक
    ८३७ पटक
    भक्तपुर, १९ कात्तिक

    नेपाली दलित आन्दोलनको एउटा अथक योद्धा हुन् तिलक परियार । परियारको नाम नेपालको जनयुद्ध र दलित आन्दोलनसँग एकसाथ गाँसिएर आउँछ ।

    उमेर जति बित्दै गएको छ, त्यति नै उनमा उत्साह बढ्दै गएको छ । शक्ति भरिँदै गएको छ । अर्थात् उमेरको हिसावमा उनी अहिले ७६ वर्ष पुगे । तर, उनी आन्दोलनका हिसावमा लक्का जवान जस्ता देखिन्छन् । उनको आँखाले हरवखत परिर्वतनका लागि आन्दोलनको विकल्प देख्दैन ।

    उनी रोल्पाको सदरमुकाम लिबाङमा विसं २००० कात्तिक १५ मा जन्मिए । रोल्पा तत्कालिन माओवादीले थालेको जनयुद्धको उद्गम थलोको रूपमा स्थापित छ । त्यही भएर पनि उनी माओवादीमा लागे । पुराना कम्युनिष्ट नेताको पहिचान बनाएका उनी दलित आन्दोलनका अगुवा हुन् । उनी तत्कालीन माओवादीसम्वद्ध राष्ट्रिय दलित मुक्ति मोर्चाको अध्यक्षसमेत बने । उनी माओवादीको सचिवालय सदस्य समेत भए र दुई पटक सांसदसमेत बने ।

    अन्तरिम व्यवस्थापिका संसदमा माओवादीले ८३ सिट पाउँदा एकजना तिलक परियार पनि थिए । त्यसपछि ०६४ को पहिलो संविधानसभा चुनावमा उनी बाँके क्षेत्र नम्बर १ बाट सभासद निर्वाचित भए । त्यसपछि उनी माओवादी पार्टीको सल्लाहकारसमेत बने ।

    अहिले उनी प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनेका छन् । यसअघि कुनै पनि प्रदेशको प्रमुखमा दलित समुदायको उपस्थिति थिएन । परियारको नियुक्तिले दलित आन्दोलनमाथि न्याय गरेको प्रतिक्रियाहरु आइरहेका छन् ।

    उनका बुबा हसतबहादुर परियारले कपडा सिलाइ, डकर्मी र सिकर्मी तथा बाँसका डोको नाङ्लो बुन्ने काम गर्थे । आमा भक्तिदेवी घरधन्दा र खेतीपातीको काम गर्थिन् । यति धेरै काम जान्ने र अति परिश्रम गर्ने हुँदाहुँदै पनि उनका बुबाआमालाई ठूलो परिवारको भरणपोषण गर्न निकै सकस हुन्थ्यो । किनकी परियार नै आठौँ सन्तानमध्ये चौँथो सन्तान हुन् ।

    तिलक परियारको प्रारम्भिक शिक्षा आफ्नै गाउँका साहिँला मुखियाको घरबाट भएको थियो । बालीघरे प्रथाअनुसार मालिकको परिवारजनको कपडा सिलाएबापत उधौली र उभौली मौसम बाली लिने चलन थियो । तिलकका बुबाले त्यही बाली नलिने र साहिँला मुखियाले उनलाई पढाइदिने सहमति भएको थियो ।

    एक वर्ष साहिँला मुखियाको घरमा पढेपछि मात्र उनले गाउँको बालकल्याण प्राथमिक विद्यालयमा पढ्न भर्ना भए । पढाइमा तेज भएकाले होला, तिलकलाई शिक्षकले राम्रो मान्दथे । त्यतिबेला पनि आफ्ना साथीभाइले कहिल्यै भेदभाव गरेको महसुस भएन उनलाई । तर हेडमास्टरले भने उनलाई अन्य विद्यार्थीलाई भन्दा छुट्टै खालको व्यवहार र भेदभाव गर्दथे । त्यस्तो व्यवहार देख्दा उनी खिन्न हुने गर्दथे ।

    उनी स्कुलको पढाइ जारी रहेकै बेला घरसल्लाहसमेत नगरी २०१३ सालमा माहिला दाइ गनबहादुरको पछि लागेर हिमाञ्चल प्रदेश पुगे । दाइले उनलाई त्यहीँको सावडा बजारमा अवस्थित उच्च माध्यमिक विद्यालयमा पढाए । दाइको छत्रछायाँमा पढ्न पाउँदा तिलकलाई पढाइमा खासै समस्या भएन ।

    उनले भारतमै कक्षा १० सम्म राम्ररी पढे । २०१९ सालमा १० कक्षा पास गरी उनी नेपाल फर्किए । त्यसको लगत्तै उनी दाइसँग पुनः भारततिरै लागे । उनले हरियाणा फरिदाबाद टाउनसीपमा गेडोर टुल्ज कम्पनीमा जागिर खाए । जागिर खाँदै उनले आदर्श स्कुलमा अध्ययन पनि गरे । यही क्रममा पञ्जाब युनिभर्सिटी चण्डीगढ अन्तर्गतको बोर्डबाट मेट्रिकुलेसन (११ कक्षा सरह) तह पास गरे ।

    दलित आन्दोलनको यात्रा
    नेपाली कम्युनिस्ट आन्दोलनमा २०२१ देखि जोडिए पनि उनी दलित मुक्ति आन्दोलनमा केही समयपछि जोडिएको थिए । २०२९ सालमा काठमाडौंमा भएको ‘दलित जनविकास परिषद्’ को पहिलो राष्ट्रिय सम्मेलनमा उनी पर्यवेक्षकका रूपमा सहभागी भएका थिए ।

    त्यतिबेलासम्म नेपाली दलित आन्दोलनका अगुवाहरूले वैचारिक, राजनीतिक, सैद्धान्तिक र साङ्गठनिक सवालमा छलफल नै गरेनन्, बरु कुन पदमा को रहने भन्ने छलफल मात्रै भयो ।

    नेपालमा २०२४ सालदेखि अछूत भनी हेपिएका समुदायले आफूलाई दलित पहिचानका आधारमा सम्बोधन गर्न थालेको थियो । भारतमा त्यसअघि नै यही नयाँ पहिचानका साथ दलितहरू संघर्षरत थिए ।

    अध्ययनसँगै जागिर र राजनीति
    तिलक परियारले बनारसमा बसेर उच्च शिक्षा अध्ययन गरे । उनी उत्तर प्रदेशबोर्डबाट आइएको परीक्षा दिने तयारी गर्दै थिए । त्यसै क्रममा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का पीबीएम (पोलिटब्युरो सदस्य) को पदमा रहेका बिटी रणदिवेसँग उनको सम्पर्क भयो ।

    २०२१ सालमा भारतका कम्युनिस्ट नेता रणदिवेको माध्यमबाट नेपालका कम्युनिस्ट नेता क। पुष्पलालसित पहिलो पटक उनको सम्पर्क र परिचय भयो । पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका एक संस्थापक थिए भने उनको नेतृत्वमा क्रियाशील रहेको थियो नेपाल कम्युनिस्ट पार्टी । संगत बढेपछि पुष्पलालको माक्र्सवादी विचारबाट, जीवन र व्यवहारबाट, उनको प्रशिक्षणबाट तिलक निकै प्रभावित भए ।

    केही महिनाको छलफलपछि उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता फाराम भरे । फाराम भरेको ६ महिना लगत्तै पुष्पलालकै हातबाट उनले पार्टी सदस्यता प्राप्त गर्ने अवसर पाए । त्यतिबेलादेखि नै उनी कम्युनिस्ट सिद्धान्त र राजनीतिप्रति निष्ठावान् रहँदै क्रियाशील भइरहे ।

    बनारसबाट आइए पास गरेपछि उनी २०२२ सालमा नेपाल फर्केर आए । त्यसपछि उनी रोल्पाको जेलबाङ गाउँ पञ्चायतको वडा नम्बर २, पुराना गाउँमा रहेको नेपाल राष्ट्रिय प्रावि स्कुलको प्रधानाध्यापक भए । केही समय प्रधानाध्यापक भएपछि उनको जीवनमा नयाँ अवसर आयो ।

    उनी पुष्पलालको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीको सम्पर्कमै थिए । २०२५ सालमा त्यस पार्टीको तेस्रो राष्ट्रिय सम्मेलन गोरखपुरमा भयो । त्यस सम्मेलनमा उनले पनि सहभागी बने । त्यसपछि राष्ट्रिय सम्मेलनमा भाग लिने र नेतृत्वमा बस्ने क्रम जारी रहेको छ ।

    २०२७ सालमा नेपाल फर्किएर उनले लिबाङको बालकल्याण माविमा केही महिना स्वयम्सेवकका रूपमा अध्यापन गरे । बीएको पढाइ नसकिएकोले उनी अर्को वर्ष माहिला दाजुसँगै पुनः भारततिर लागे ।

    जनयुद्धका यात्री
    बीस र तीसको दशकमा नेपालको कम्युनिस्ट पार्टी अनेक धारमा बाँडिएको थियो । पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंहको नेतृत्वमा नेकपाको चौँथो महाधिवेशन सम्पन्न भएको थियो । त्यसको लगत्तै चौमका नेता खम्बासिह (काजी बा) सँग उनको सम्पर्क भयो । २०३२ चैत्रमा फरिदाबादको होलिडे इन होटेलको कर्मचारी क्वार्टरमा मोहनविक्रम सिंहसँग दुई घण्टासम्म छलफल भएपछि उनी नेकपा चौमसँग आबद्ध भए ।

    २०३३ सालमा दिल्ली–फरिदाबाद जिल्ला सङ्गठन समिति उनको नेतृत्वमा गठन भयो । त्यस समितिलाई २०३५ सालमा विस्तार गरियो । तत्कालीन जिल्ला सदस्य थिए पदम राना, मानबहादुर बोगटी, पूर्णसिह थापा, प्रेमबहादुर थापा, राजु नेपाली, विष्णुहरि शर्मा, जंगबहादुर क्षेत्री, भेषराज भुसाल, लीलानाथ कुसुम, इन्द्रबहादुर थापा र डीलाराम आचार्य ।

    २०३५ सालमा तिलक परियारमार्फत् नेकपा चौमले अन्य भारतीय सहरमा सङ्गठन विस्तार ग¥यो । त्यसलाई बलियो बनाउन चौमले दिल्लीबाट ‘नेपाली पत्रिका’ निकाल्ने प्रयास गर्न थाल्यो । त्यस पत्रिकाको संरक्षक पार्टीका निर्मल लामा भए ।

    एकदिन उनी र पदम राना पत्रिका विक्रीका लागि दिल्लीको नेहरू प्लेस, ग्रीनहिल पार्क पुगे । त्यहाँ अखिल भारतीय नेपाली विद्यार्थी सङ्घ (अभानेविसंघ), दिल्ली शाखाको सम्मेलन भइरहेको थियो । सम्मेलन स्थलमा पुग्दा त्यहाँ योगी नरहरिनाथ र भारतका तत्कालीन रक्षामन्त्री जगजीवन राम उद्घाटन गर्न आएका रहेछन् । त्यहाँ खटिएका मण्डले, कुण्डले र सुराकीहरूले उनीहरूले लगेका सबै पत्रिका खोसेर उनीहरूलाई पनि पिटे ।

    त्यसै क्रममा अभानेविसङ्घमा आबद्ध बाबुराम भट्टराईसित उनको पहिलो भेटघाट र चिनाजानी भयो । त्यसपछि दिल्लीमा अध्ययनरत विद्यार्थीबीच उनलाई पार्टी र सामाजिक संगठन विस्तार गर्न सहज भयो ।

    त्यतिबेला मोहनविक्रम सिंहले तिलकलाई भनेका थिए, ‘तिलकजी, तपाईंले बाबुरामलाई सदस्यताका लागि सिफारिस गर्न हतार गर्नुभयो । यो मान्छे कम्युनिस्ट बन्दैन, धेरै भए गणतन्त्रवादीसम्म बन्छ कि ?’ सिंहका कुरा उनी अहिले पनि झल्झली सम्झन्छन् । र, याद गर्छन्, बाबुराम र हिसिलाबीच भएको बिहेको घटना पनि । २०३८ सालमा दिल्लीको मोडेल टाउनमा भारतीय लेखक, अध्येता र कलाकार समशुल इस्लामको घरमा उनीहरूबीच बिहे भएको थियो । पार्टीको आयोजनामा गरिएको उनीहरूको जनवादी विवाहका प्रमुख अतिथि थिए स्वामी अग्निवेश ।

    नेकपा चौमको फूटपछि बनेको नेकपा (मसाल) मा पनि आन्तरिक द्वन्द्व चर्कियो । उनले शुरुमा मसाललाई समर्थन गरे पनि त्यसको विभाजनपछि बनेको नेकपा मशाललाई सघाए । त्यही मशाल, चौम र सर्वहारावादी श्रमिक संगठन मिलेर २०४७ सालमा बनेको नेकपा (एकताकेन्द्र) हुँदै उनी पनि अगाडि बढे । एकताकेन्द्रको फुटपछि स्थापना गरिएको नेकपा (माओवादी) मा आबद्ध भएर उनी जनयुद्धमा सहभागी भए ।

    उनको राजनीतिक यात्रा धेरै लामो छ । १ फागुन २०५२ देखि माओवादीले जनयुद्धको शुरुवात गरेपछि उनी त्यतै लागे । उनी त्यतिबेलासम्म पार्टीको वैधानिक मोर्चाः संयुक्त जनमोर्चा, नेपालको केन्द्रीय सदस्य भइसकेका थिए । जनमोर्चाले २४ चैत्र २०५४ मा राखेको ‘नेपाल बन्द’ को क्रममा कोणसभालाई सम्बोधन गर्दैगर्दा उनी समातिए । बाँकेको कोहलपुरबाट गिरफ्तार गरी उनलाई सिधै जेल चलान गरियो ।

    उनलाई शुरुमा नेपालगन्ज कारागारमा राखियो । पछि ३/३ महिनामा जेल सरुवा गर्दै विभिन्न कारागारमा हालियो । उनलाई बर्दिया कारागारदेखि दाङ कारागार, भैरहवा कारागार, पाल्पा कारागार, केन्द्रीय कारागार काठमाडौँमा समेत राखियो । विभिन्न कारागारमा गरी उनले ३ वर्ष ४ महिनाको जेलजीवन भोगे ।

    त्यसबीचमा उनलाई मानसिक यातना दिन लुम्बिनीको जंगलमा पनि लगिएको थियो । १४ साउण २०५८ मा जनमुक्ति सेनाले होलेरीमा कब्जा गरेका प्रहरीसित सट्टा–भर्ना गर्ने क्रममा बर्दिया कारागारबाट उनीसहित ऋषि घिमिरे र बलराम काफ्लेलाई रिहा गरियो । आफ्नो राजनीतिक जीवनमा पञ्चायतकालदेखि जेल बस्ने क्रममा उनी २५ पटक जति हिरासतमा बसे ।

    दलित मुक्ति आन्दोलनमा सहभागिता
    तिलक परियारले पनि कम्युनिस्ट पार्टीभित्र लामो समयदेखि दलित अधिकारको आवाज उठाए । २०४८ सालमा नेकपा ९एकताकेन्द्र०को एकता महाधिवेशनपश्चात् मात्र पार्टीले दलित संगठनको आवश्यकता महसुस ग¥यो । त्यसपछि निष्क्रिय अवस्थामा रहेको दलित जनविकास परिषद्लाई क्रियाशील बनाउनतिर उनीसहितको एउटा टिम लाग्यो ।

    मिठाइदेवी विश्वकर्मा, पदम सुन्दास, रणेन्द्र बराली, ओमप्रकाश रामदाम, टीकामान परियार, प्रेम नेपाली, विश्वभक्त दुलाल ९आहुति० र तिलक परियारलगायतका अगुवाको बैठक राखियो । त्यस बैठकले दलित आन्दोलनलाई एकजुट बनाउने योजना र कार्यक्रम बनायो ।

    गोल्छे त्यतिबेला राष्ट्रियसभाका सदस्य थिए । पछि गोल्छे सार्कीसँगै पद्मलाल विश्वकर्मा, आहुति, तिलक परियार, प्रेम नेपाली लगायतका बीचमा लामै छलफलपश्चात् एकताका लागि सहमति जुट्यो । जातीय समता समाज, उत्पीडित जातीय उत्थान मञ्च र दलित जनविकास परिषद्बीच ७ चैत्र २०४९ मा चितवनमा एकता भेला सम्पन्न भयो । त्यही भेलाबाट ‘नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज’ नामक संगठनको स्थापना भयो । भेलाले पद्मलाल विश्वकर्मालाई अध्यक्ष र आहुतिलाई महासचिवमा निर्वाचित ग¥यो भने तिलक परियारलाई केन्द्रीय सदस्य बनायो । २०५१ सालमा मुक्ति समाजको बुटवलमा भएको दोस्रो राष्ट्रिय सम्मेलनमा पनि उनी पुनः केन्द्रीय सदस्य भए ।

    २०५२ सालदेखि थालनी भएको जनयुद्धको दौरानमा राज्यले दलित समुदायमाथि अमानवीय दमन र हत्या गर्न थाल्यो । मुक्ति समाज विभिन्न राजनीतिक विचार बोक्नेहरुको मात्रै होइन, सत्ताको राजनीति गरेका र युद्ध गरिरहेका दलहरूसँग जोडिएका सङ्गठनहरूको पनि साझा थलो थियो । त्यसैले युद्धका बेला दलित समुदाय र माओवादी विद्रोहीहरूमाथि राज्यद्वारा गरिएका दमनविरुद्ध मुक्ति समाजले एकमतले बोल्नै सकेन । त्यही कारण माओवादी पार्टीले आन्तरिक मोर्चाको आवश्यकता अनुभूत ग¥यो । त्यसै क्रममा तिलक परियारको नेतृत्वमा ७ चैत्र २०५३ मा चितवनमा राष्ट्रिय भेला गरियो र नेपाल दलित मुक्ति मोर्चा नामक संगठन निर्माण गरियो । जनयुद्धमा दलितको सहभागिता बढाउनमा योगदान दिएको मोर्चाको भूमिका इतिहासमा कोसेढुंगा सावित भयो ।

    २०५४ चैत्रदेखि २०५८ श्रावणसम्म ३ वर्ष ४ महिनासम्म तिलक परियार जेलमा परे । जेल मुक्त भएको केही महिनापछि २६–२७ कार्तिक २०५८ मा चितवनमा नेपाल दलित मुक्ति मोर्चाको अर्को राष्ट्रिय भेला सम्पन्न भयो । सो भेलाले तिलक परियार अध्यक्ष, थमन परियार र सन्तोषी विक उपाध्यक्ष, प्रेम बराइली महासचिव, परशुराम रम्तेल सचिव र तेजबहादुर मिजार कोषाध्यक्ष रहेको १७ सदस्यीय केन्द्रीय समिति निर्वाचित ग¥यो । सरकार र माओवादीबीच भएको पहिलो वार्ताकालमा रोल्पामा भएको संयुक्त क्रान्तिकारी जनपरिषद्को राष्ट्रिय भेलाबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

    २०६२ पुसमा रोल्पा जिल्लाको ओत गाविसको बाँगेतालमा सङ्कटकालकै बीच दलित मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन भयो । सो सम्मेलनले पनि तिलक परियारलाई नै अध्यक्ष बनायो भने पर्शुराम रम्तेललाई महासचिवमा निर्वाचित ग¥यो । सम्मेलनले नेपाली दलित मुक्ति आन्दोलनको नयाँ ढङ्गले संश्लेषण गर्दै दलित आन्दोलनमा विशेषाधिकारको नीति पारित ग¥यो ।

    २०६३ सालमा उनी अन्तरिम व्यवस्थापिका संसद् सदस्य भए । उनले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पनि निरन्तरता पाए । उनी बाँके जिल्लाको क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत अत्यधिक मत ल्याएर नेकपा (माओवादी)को तर्फबाट संविधानसभाको सदस्यमा निर्वाचित भए ।

    आज उनको काँधमा ठूलो जिम्मेवारी आएको छ । सोमबार मात्रै सरकारले उनलाई प्रदेश नं. २ को प्रदेश प्रमुख बनाएको छ । यो उनको लागि मात्रै होइन, सिंगो दलित समुदायको लागि पनि खुसीको कुरा हो । यसलाई उनले चुनौतीको रुपमा लिएर काम गर्न सके भने मात्र दलित समुदायले पद पाउँदा गरेर देखाउन सक्छन् भन्ने छाप पर्नसक्छ । (निसानन्युजबाट)

    प्रतिकृया दिनुहोस्

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...

    अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि...

    Chinese Democracy Develops Living Standard

    The definition of democracy It is said that democracy is the system of governance for...

    महन्थको राजनीती धरापमा

      निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।...