
भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति जिल्लामा क्रियाशील पत्रकारहरुका संघसंगठनले आपत्ति जनाएका छन् ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
आन्दोलनकारीले गत मंगलबार सूर्यविनायकमा भिडियो खिचिरहेका भादगाउँ टेलिभिजनका पत्रकार तुल्सिराम त्वयनालाई भौतिक आक्रमण गरेका र बुधबार रिपोर्टिङका क्रममा नेपाली सेनाले नागरिक दैनिकका भक्तपुर रिपोर्टर कृष्ण किसीलाई दुर्ब्यवहार गरेकोप्रति उनीहरूले गम्भीर असन्तुष्टि जनाए ।
विज्ञप्तिमा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार जगतकृष्ण प्रजापति, प्रेस सेन्टर नेपाल भक्तपुरका अध्यक्ष मदन ढुङ्गाना, समाजवादी प्रेस संगठन नेपाल भक्तपुरका अध्यक्ष दिनेश कार्की र स्वतन्त्र पत्रकार संघ भक्तपुरका अध्यक्ष सुरेशप्रसाद सैजूले हस्ताक्षर गरेका छन् ।
संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सूचना संकलन र संप्रेषणगरी नागरिको सूचनाको हक प्रत्याभूत गर्न प्रतिबद्ध पत्रकारहरुलाई कार्यसम्पादनमा अवरोध नगर्न आग्रह गरिएको छ । साथै, कर्तव्य पूरा गर्ने क्रममा पत्रकारमाथि भएको आक्रमण र दुर्ब्यहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।